२०७६ भदौ २५ बुधबार ११:५९:००
नयाँ पत्रिका

बैदीमा डल्फिन महोत्सव हुँदै 

टीकापुर नगरपालिका–७, ढुंगाना टोल बैदीमा डल्फिन महोत्सव हुने भएको छ । २८ भदौबाट तीन दिनसम्म डल्फिन महोत्सव हुन लागेको हो । वर्षायाममा स्थानीय नदीहरूमा देखिने डल्फिनले पर्यटक आकर्षित गर्न सक्ने भएकाले प्रचार–प्रचारका लागि महोत्सव गर्न लागिएको आयोजक कैलाली होेटेल व्यवसायी संघले जनाएको छ ।

डल्फिनको प्रचार–प्रसारमार्फत पर्यटक आकर्षित गरी पर्यटन विकास गर्ने उद्देश्य महोत्सवको रहेको संघका अध्यक्ष नरेन्द्र शाहीले बताए । महोत्सवमार्फत डल्फिन संरक्षण र प्रचार–प्रसारका लागि राज्यको ध्यानाकर्षण गराउन खोजिएको उनले बताए ।

वर्षायाममा स्थानीय पथरैया, काँडा र मोहना नदीमा डल्फिन देख्न पाइन्छ । महोत्सवका क्रममा आगन्तुकलाई नदीमा ¥याफ्टिङ गराएर डल्फिन देखाइने महोत्सवको प्रचार–प्रसार समितिका संयोजक एवं कैलाली होटेल व्यवसायी संघका महासचिव तेज बोहराले जानकारी दिए ।

‘सरकारी स्तरबाट पनि यसको प्रचार–प्रसार हुन सके डल्फिन हेर्न थुपै्र पर्यटकलाई भित्र्याउन सकिन्छ,’ महोत्सवबारे जानकारी दिन धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोहराले भने, ‘पर्यटन गतिविधि फस्टाएमा आर्थिक गतिविधि बढ्ने अपेक्षा गरेका छौँ ।’ यसले स्थानीय स्तरमा रोजगारी सिर्जनमा पनि मद्दत गर्ने उनको भनाइ छ ।

महोत्सवबारे नजिकका भारतीय सहरहरूमा समेत प्रचार–प्रसार गरिएको संघले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सवमा र्‍याफ्टिङ गर्दै डल्फिन अवलोकन तथा स्थानीय सांस्कृतिक झाँकीको प्रदर्शनी आकर्षको रूपमा रहने बताइएको छ ।