Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दीपक श्रेष्ठ, प्रशिक्षक
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २५ बुधबार ११:३५:००
Read Time : > 2 मिनेट
खेलकुद

छोटो तयारीले समस्या आउन सक्छ

टिप्पणी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २५ बुधबार ११:३५:००

नेपालमा आउँदै गरेको सागलाई हरेक खेलाडी र सरोकार निकायले गम्भीर रूपमा लिनुपर्छ । नेपाली खेलाडीले अन्तर्राष्ट्रिय मञ्चमा सर्वाधिक पदक जित्न सक्ने ठाउँका रूपमा रहेको सागलाई सबैले सोहीअनुसार लिन जरुरी छ । दक्षिण एसियाको ठूलो प्रतियोगिताले दूरगामी रूपमा प्रभाव पार्छ । यो प्रतियोगिताले भविष्यमा खेल क्षेत्रमा लाग्न चाहनेहरूका लागि प्रेरणाको काम गर्छ भन्ने वर्तमान पुस्ताले गौरव गर्ने क्षण बन्न सक्छ । त्यसैले कसैले पनि प्रतियोगितालाई कमजोर आकलन गर्नु हुँदैन ।

तयारी ढिला
नेपालमा साग हुँदै छ भन्ने कुराको जानकारी नेपालले झन्डा समाएसँगै तय भएको थियो । तर, बीचबीचमा सागको मिति सरेकाले औपचारिक रूपमा तयारी नै कहिलेबाट गर्ने भन्ने अन्योल रह्यो । हाम्रो पालामा सात महिना त बन्द प्रशिक्षणमा मात्रै अभ्यास गरेका थियौँ । तर, यसपटक फाइनल खेलाडी छनोटको काम भर्खरै हुँदै छ । त्यसो त आठौँपछि पनि हामीले सागको तयारी निकै ढिला सुरु ग-यौँ । यसले नतिजामा असर पार्न सक्छ । तयारीको पाटोलाई अहिलेको नेतृत्वले कमजोर रूपमा लिएजस्तो लाग्छ । सागको गरिमालाई बुझ्न सक्नुपर्छ, यो प्रतियोगिताको महत्व कति छ भनेर हामीले अलि बढी नै जिम्मेवारी बोध गर्न सक्नुपर्छ ।

आर्थिक रूपमा महत्वपूर्ण
नेपालमा आठौँ साफ हुँदा देशभर खेलकुद माहोल सिर्जना भएको थियो । अहिले पनि सोही अवसरका लागि महत्वपूर्ण मौका हो यो । सातै देशका नागरिकका लागि नेपाल आउने अवसर पनि यो प्रतियोगिता हो । नेपालबारे सुनेका र जान्न चाहनेहरूका लागि एउटा घुम्ने मौकाका रूपमा प्रतियोगिताको महत्व अर्थपूर्ण छ । यो प्रतियोगितालाई कुनै एक क्षेत्रसँग मात्र जोड्नु हुन्न । दीर्घकालीन महत्व बोकेका कुराहरूलाई सोहीअनुसार नै लिनुपर्छ । यो खेल क्षेत्रमा मात्र होइन, आर्थिक रूपमै देशलाई बलियो बनाउने कडी हुन सक्छ । 

दीर्घकालीन भौतिक पूर्वाधार
यो प्रतियोगिताका लागि भनेर बनाइएका पूर्वाधारहरूले दीर्घकालीन रूपमा नेपाली खेल क्षेत्रलाई अघि बढाउन मद्दत पुग्छ । आठौँ सागका दौरान सातदोबाटोमा बनेका संरचनाले अहिले पनि नेपाली खेल क्षेत्रलाई ठूलो टेवा पुगिरहेको छ । १३औँ सागका लागि भनेर बनिरहेका र बनिसकेका पूर्वाधारले झनै ठूलो महत्व राख्छन् ।

काठमाडौंमा मात्र होइन, पोखरा र देशका अन्य भागमा पनि पछिल्लो समय खेलकुद पूर्वाधार निर्माणमा अभूतपूर्व उपलब्धि भएको छ । त्यसैले यसलाई एउटा अवसरका रूपमा उपयोग गर्नुपर्छ । अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा राष्ट्रियको जस्तो यस्तैमा भए पनि गरौँ भन्ने हुँदैन । यसका लागि अन्तर्राष्ट्रिय मान्यताप्राप्त पूर्वाधार बनाउनु अपरिहार्य हुन्छ । त्यसैले जति संरचनाहरू बनेका छन्, ती सबै उत्कृष्ट र पहिलो रोजाइका हुन्छन् । जसले खेलाडीका लागि दीर्घकालीन रूपमा फाइदा पुग्छ ।

नतिजामा डर छ
प्रतियोगिता हुँदै गर्दा आयोजकका रूपमा हाम्रो सफलता र असफलता हामीले दिलाउने पदकमा भर पर्छ । त्यसैले स्वाभाविक रूपमा आयोजकमाथि दबाब हुन्छ । हामीले अर्काको भूमिमा गएर एउटा या दुईवटा पदक ल्याउँदा धेरै असर नगर्ला, तर आफ्नो भूमिमा पनि साख जोगाउन सकेनौँ भने गम्भीर रूपमा प्रभाव पर्छ ।

ढिला सुरु भएको क्लोज क्याम्प यसको मुख्य कारण हो । त्यस्तै, खेलाडी र प्रशिक्षकबीचको समन्वयले पनि नतिजामा प्रभाव पर्छ । हामीले कति अनुभवी प्रशिक्षकहरूलाई मौका दिइरहेका छौँ, कस्तो प्रतियोगितालाई कस्तो तयारी गर्नुपर्छ भन्ने कुरामा वर्तमान नेतृत्वले ध्यान दिनुपर्छ । अब हामीसँग धेरै समय छैन । थोरै समयमा पनि धेरै गर्नुपर्ने चुनौती रहेको छ । 

सागमा आयोजकका रूपमा हामीले कम्तीमा एक वर्षअघिबाट तयारी गर्नुपथ्र्यो । तर, तीन–चार महिनाको तयारीले पदकमा कति प्रभाव पार्छ भन्ने कुरा रिजल्टमा देखिन्छ । आयोजक नेपालभन्दा अघिबाटै श्रीलंका, बंगलादेशले अभ्यास गरिसके । अन्य देशले पनि ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर सहभागी भएका खेलाडीलाई नियमित अभ्यास गराइरहेका छन् ।

अब ढिला गर्नु हुन्न 
नेपालमा हुने सागको माहोल अझै राम्रोसँग बनिरहेको छैन । सागको माहोल बनाएर खेलाडीलाई उत्साही र देशभर एकप्रकारको उत्सव सिर्जना गर्न अब हामीले ढिला गर्नु हुन्न । सरकारले यो दक्षिण एसियाको ओलम्पिक मानिने सागलाई उच्च प्राथमिकतामा राखेर सोहीअनुसारको माहोल सिर्जना गर्नुपर्छ । सबैलाई आ–आफ्नो जिम्मेवारी दिनुपर्छ ।

सागका लागि राष्ट्रिय खेलकुद परिषद्ले आफ्ना हरेक निकायलाई सोहीअनुसारको जिम्मेवारी दिनु जरुरी छ । तालिम तथा प्रशिक्षण विभागलाई सोहीअनुसारको जिम्मेवारी दिनुपर्छ भने सचिवालयलाई सोहीअनुसारले अघि बढाउनुपर्छ । अहिले सबै गोलमटोल पाराले एकै ठाउँबाट तयारी अघि बढाउँदा खेलाडीलाई मात्र होइन, समग्रमा सागको गतिविधिलाई नै गति दिन सकिरहेको छैन । यसमा सम्बन्धित निकायले गम्भीर भएर सोच्नुपर्छ ।