सावित्राको निर्णायक गोलले नेपाल फाइनलमा

२०७६ भदौ २५ बुधबार ११:३०:००

नेपाली राष्ट्रिय महिला टिमले किर्गिस्तानमा जारी नादेज्दा कप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा सावित्रा भण्डारीले ताजिकिस्तानविरुद्ध निर्णायक गोल गरेपछि नेपालले फाइनलमा स्थान बनाएको हो । प्रतियोगितामा नेपालले तीनमध्ये दुई खेलमा जित निकाल्दै शीर्ष दुईमा रहेर फाइनलमा स्थान बनाएको हो ।

दोस्रो हाफको एक गोल निर्णायक
किर्गिस्तानको काराकोलस्थित सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपालले दोस्रो हाफमा गरेको एक गोल निर्णायक रह्यो । ८५औँ मिनेटमा गीता रानाले प्रहार गरेको फ्रिकिकलाई आकर्षक हेडमार्फत गोल गर्दै सावित्राले नेपाललाई अग्रता दिलाएकी थिइन् । सावित्राको यो जारी प्रतियोगितामा पाँचौँ गोल हो । बलियो मानिएको ताजिकिस्तानविरुद्ध नेपालले सुरुवातबाटै दबाब बढाए पनि गोल गर्न भने दोस्रो हाफसम्म प्रतीक्षा गर्नुपरेको थियो । त्यसअघि नेपालले ताजिकिस्तानविरुद्ध पहिलो हाफमा गोलका धेरै अवसर सिर्जना गरेको थियो । मन्जलीकुमारी योन्जनले ताजिकिस्तानको पोस्टमा गोल गरे पनि उनको गोललाई रेफ्रीले अफसाइड इसारा गर्दा सम्भावित अग्रताबाट नेपाल पछि हटेको थियो । जितसँगै नेपालले तीन खेलबाट ६ अंक जोडेको छ ।

उपाधिका लागि उज्वेकिस्तान प्रतिद्वन्द्वी
शीर्ष दुईमा रहँदै नेपालले अब उपाधिका लागि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८–२ गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो । निर्णायक खेलमा ताजिकिस्तानलाई पराजित गरेसँगै नेपालले अब बिहीबार हुने फाइनलमा उज्वेकिस्तानको सामना गर्नेछ । नेपालले यो प्रतियोगितालाई १३औँ दक्षिण एसियाली खेलकुद (साग)को तयारीका रूपमा समेत लिएको छ । 

कप्तान थापा अनुपस्थित 
कप्तान निरु थापाविनै नेपाली टिम मैदानमा उत्रिएको थियो । निरुको अनुपस्थितिमा नेपालको कप्तानी रेनुका नगरकोटीले गरेकी थिइन् । उज्वेकिस्तानविरुद्धको खेलका दौरान निरु घाइते हुँदै मैदानबाट बाहिरिएकी थिइन् ।