१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ भदौ २५ बुधबार ११:०४:००
Read Time : > 2 मिनेट
नयाँCity

एक घर एक पेन्टिङ

Read Time : > 2 मिनेट
२०७६ भदौ २५ बुधबार ११:०४:००

एक जमाना थियो, आफ्नो पेन्टिङ कसैले किनिदिए पनि हुन्थ्यो भन्ने लाग्थ्यो । तर, अहिले कसैलाई किनिदिनु भन्नुपर्दैन । नयाँ पुस्ताले पेन्टिङ बुझ्छन् र त्यसको भावलाई आत्मसात् गर्छन् । फाइन आर्टमा लागेको ३५ वर्ष भयो । यस दौरानमा निकै चित्र बनाएँ । तर, तिनको पर्याप्त प्रचार–प्रसार हुन पाएन । विदेशमा भने पेन्टिङ र पेन्टरको निकै सम्मान हुन्छ । विदेशीले मेरो पेन्टिङ १० लाख रुपैयाँमा किनेका छन् । स्वदेशमा भने दुई लाखभन्दा बढीमा पेन्टिङ बिक्री भएका छैनन् ।

सुष्मा राजभण्डारी

०००
‘एक घर एक पेन्टिङ’ बनाउने अभियानमा छु । ललितकला प्रतिष्ठानमा चित्रकला विभाग प्रमुख भएको नाताले यो अभियानलाई सफल पार्न पाए स्वदेशमै पेन्टिङको महत्व बढ्थ्यो । विदेश बसेर आएका हरेक नेपालीको सपना यहाँ घर बनाउने हुन्छ । नयाँ घरमा अनेक पोस्टर राख्न हामी हिच्किचाउँदैनौँ । तर, तिनको साटो पेन्टिङ राख्ने सोच आउँदैन । पेन्टिङलाई महत्वका साथ नहेरिनाले यस्तो भएको हो । विदेशतिर आफ्नो घरमा अनिवार्य एउटा पेन्टिङ झुन्ड्याएका हुन्छन् ।

अहिले हामीले सरकारी निकायमा एउटा न एउटा पेन्टिङ अनिवार्य हुनुपर्छ भन्ने माग अगाडि सारेका छौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अहिलेसम्म पेन्टिङ राखिएका छैनन् । विदेशी पर्यटकको अधिक आवागमन हुने त्यहाँ नेपाली संस्कृति झल्किने पेन्टिङ राख्न पाए सुनमा सुगन्ध हुने थियो ।

विदेशीहरू नेपाल भित्रिँदै गर्दा त्यस्ता पेन्टिङबाटै नेपाली समाज बुझाउन सकिन्छ । प्रधानमन्त्री कार्यालय, राष्ट्रपति निवास र मन्त्रालयमा पनि पेन्टिङ झुन्डिएको होस् भन्ने हाम्रो चाहना हो । राज्यले नै पेन्टिङलाई बुझिदियो भने नयाँ पुस्तालाई यसमा लाग्न प्रेरणा मिल्न सक्छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउँदैछौँ । पर्यटनका लागि कला पनि महत्वपूर्ण हुन्छ । त्यसका लागि राज्यले केही कदम चालोस् भन्ने हो ।

विदेश बसेर आएका हरेक नेपालीको सपना यहाँ घर बनाउने हुन्छ । नयाँ घरमा अनेक पोस्टर राख्न हामी हिच्किचाउँदैनौँ । तर, तिनको साटो पेन्टिङ राख्ने सोच आउँदैन ।


पेन्टिङ मुडमा भर पर्ने कुरा हो । कुनै पेन्टिङ म दुई महिनामा पनि सक्छु । कुनै वर्ष दिनसम्म लगाउँछु । जमलस्थित नेपाल चेम्बर अफ कमर्समा मैले बनाएको गणेशको पेन्टिङ छ । काठमाडौं महानगरपालिकामा पनि भगवान् गणेशको पेन्टिङ राखेकी छु । मलाई भगवान् गणेशमा विविधता नजर आउँछन् । गणेशको पेन्टिङ गर्दा खुबै खेल्न मन लाग्छ । उनका आँखा, हातलगायत अंगको पेन्टिङ गर्न ऊर्जा मिल्छ ।

म खासगरी सुन्तला, सेतो, पहेँलो, हरियो, नीलो रङमा खेल्छु । महिला हिंसाको विरोधमा पेन्टिङ बनाउन मन लाग्छ । महिलाका अनेक पक्षलाई रङमा उतार्न मन लाग्छ । उनीहरूको मनोविज्ञान, मुक्ति र दैनिकमा चित्र बनाउन पाउँदा सन्तुष्ट हुन्छु । महिलालाई शक्तिशाली देखाउन मन लाग्छ । नयाँ पुस्ताले पनि आधुनिकभन्दा नेपाली समाजको वास्तविक दुःख र संस्कृतिलाई कलामार्फत देखाउन सक्दा अन्तर्राष्ट्रिय बजारमा नेपाली चित्रकारिता पु-याउन सकिनेछ ।

०००
मैले हालसम्म १६ पटक एकल चित्रकला प्रदर्शनी गरेँ, नेपालसहित जापान, बंगलादेश, भारत, फिलिपिन्स, रुस, पाकिस्तान, अफगानिस्तान, अमेरिका चीनलगायत देशमा । पछिल्लोपटक मेरो पेन्टिङ रुसको मस्कोस्थित ‘ओरियन्टल आर्ट म्युजियम’मा एक महिनाअघि प्रदर्शन भएको थियो । त्यस्ता प्रदर्शनीमा आफ्नो समाज र सांस्कृतिक पक्ष समेटिएका पेन्टिङ राखिन्छ, तब त देश चिनिन्छ । नेपालमा अहिले पनि ‘आर्ट क्रिटिक्स’ निकै कम छ ।

युवाले लियोनार्दो दा भिन्ची र पिकासोलाई चिन्छन्, तर नेपालकै ‘लैनसिंह बाङदेल’लाई चिन्दैनन् । युरोपेली चित्रकार चिन्न सक्ने विद्यार्थीले उनलाई नचिन्दा नमज्जा लाग्छ । तेजबहादुर चित्रकार, चन्द्रमान मास्के र किरण मानन्धरलाई कहिले चिन्ने ?

आर्टमा लागेका युवाले लियोनार्दो दा भिन्ची र पिकासोलाई चिन्छन्, तर नेपालकै ‘लैनसिंह वाङदेल’लाई चिन्दैनन् । युरोपेली चित्रकार चिन्न सक्ने विद्यार्थीले उनलाई नचिन्दा नमज्जा लाग्छ । तेजबहादुर चित्रकार, चन्द्रमान मास्के र किरण मानन्धरलाई कहिले चिन्ने ? त्यसो हुनुको कारण नेपाली पेन्टिङ र पेन्टरमाथि आर्ट क्रिटिक्स नभएर हो ।

नेपालमा अझै आधुनिक चित्रकला संग्रहालय छैन । त्यस्तो संग्रहालय नभएसम्म युवापुस्ताले पुराना कलाकारलाई चिन्न गाह्रो हुन्छ । पाटन र भक्तपुर संग्रहालय मात्र भएर पुग्दैन । आधुनिक संग्रहालय खोल्न सके नेपालका पेन्टिङ पनि विदेशमा चिनाउने माध्यम तयार हुन्छ । नेपालमा राम्रा चित्रकार हुनुहुन्छ । उहाँहरूको कलालाई क्रिटिकल्ली हेरिएको छैन, मिडिया पब्लिसिटी छैन । अनि अन्तर्राष्ट्रिय बजारमा कसरी पुग्नु ? त्यसका लागि राज्यले पनि पहल गरिदिनुप-यो ।