Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
एजेन्सी नयाँदिल्ली
२०७६ भदौ २५ बुधबार ११:०८:००
Read Time : < 1 मिनेट
विश्व

७३ वर्षीया वृद्धाले जन्माइन् जुम्ल्याहा शिशु

Read Time : < 1 मिनेट
एजेन्सी नयाँदिल्ली
२०७६ भदौ २५ बुधबार ११:०८:००

भारतको दक्षिणी राज्य आन्द्र प्रदेशकी एक वृद्धाले जुम्ल्याहा सन्तान जन्माएकी छिन् । ७३ वर्षीया मंगयामा यारमतीले जुम्ल्याहा छोरी जन्माएकी हुन् । आइभिएफ उपचार प्रणालीद्वारा गर्भधारण गरेकी उनको शल्यक्रियामार्फत बच्चा जन्माइएको थियो । ‘अहिले महिला र शिशु दुवैको अवस्था सामान्य छ,’ वृद्धाको शल्यक्रियामा संलग्न डा. उमा शंकरले भनिन् ।

मंगयामाबाट उनका श्रीमान् सीताराम राजारायोले सधैँ सन्तानको आशा गरेका थिए । तर, लामो प्रयासपछि गत वर्ष मंगयामा गर्भवती बन्न सफल भएकी थिइन् ।
‘आमाबाबु बन्न पाएकोमा हामी औधी खुसी छौँ,’ अस्पतालमा शिशु जन्मिएपछि ८२ वर्षीय सीतारामले भने । तर, शिशु जन्मिएको एक दिनपछि सीतारामलाई स्ट्रोक भएको छ र उनको एक अस्पतालमा उपचार भइरहेको छ ।

वृद्ध अवस्थामा बाबु बन्दा एकातिर उनको खुसीको सीमा छैन, अर्कोतर्फ डाँडापारिको घामको अवस्थामा पुगेको यो वृद्ध दम्पती सन्तानको भविष्य सम्झेर चिन्तित छ । आफ्नै स्याहार–सुसार गर्ने वेलामा नवजात शिशुको हेरचाह कसले गर्ला ? उनीहरूलाई कसरी पढाउने ? जस्ता प्रश्नले अभिभावकको दिमाग घोचिरहेको छ । अन्तमा उनी भगवान्कै भरोसा गर्छन् ।

‘हाम्रो काबुमा केही पनि हुँदो रहेनछ । हुने कुरा भएरै छाड्ने रहेछ । यो सबै भावीको लेखा हो,’ सीताराम भन्छन् । सन्तान हुनु यो दम्पतीका लागि खुसीको विषय हो । किनकि सन्तान नभएकै कारण समाजले उनीहरूलाई हेप्थ्यो । ‘उनीहरूले मलाई बाँझी महिला भन्थे,’ मंगयामाले भनिन् ।

यो अवधिमा उनीहरूले धेरै चिकित्सकलाई देखाए । ‘सन्तान जन्माउन हामीले धेरै उपचार गरायाँै, दर्जनौँ चिकित्सक र क्लिनिकमा धायौँ,’ उनले भनिन्, ‘तसर्थ बच्चा जन्माउने दिन जीवनकै खुसीको क्षण हो ।’ जुम्ल्याहा छोरीहरूलाई सी सेक्सन विधिद्वारा जन्माइएको थियो । सन् २०१६ मा भारतकै एक वृद्धाले ७० को दशकमा सन्तान जन्माएकी थिइन् । दालिजिन्दर कौरले छोरा जन्माएकी थिइन् ।