मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी प्योङयाङ
२०७६ भदौ २५ बुधबार ११:०४:००
Read Time : > 1 मिनेट
विश्व

अमेरिकासँग वार्ता सुरु गर्न उत्तर कोरिया तयार

Read Time : > 1 मिनेट
एजेन्सी प्योङयाङ
२०७६ भदौ २५ बुधबार ११:०४:००

उत्तर कोरियाले अमेरिकासँग निःशस्त्रीकरणसम्बन्धी वार्ता सुचारु गर्न तयार रहेको जनाएको छ । दुवै पक्षको सहमति भए अमेरिकासँग बृहत् वार्ता गर्न उत्तर कोरिया तयार रहेको उत्तरले जनाएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तरसँगको वार्ता सुचारु गर्न अमेरिका तयार रहेको संकेत गरिरहेकै वेला प्योङयाङको यस्तो भनाइ आएको हो ।

कोरियाली प्रायद्वीपलाई  पूर्ण रूपमा निःशस्त्र बनाउने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत वर्ष सिंगापुरमा शिखर वार्ता भएको थियो । तर, उत्तरलाई कसरी निःशस्त्रीकरण गर्ने भन्ने विषयमा दुवै पक्ष अन्योलमा छन् । त्यस्तै यसै वर्षको फेब्रुअरीमा हनोईमा भएको दोस्रो शिखर सम्मेलनमा पनि निःशस्त्रीकरणबारे अमेरिका र उत्तर कोरियाबीच वार्ता भएको थियो ।

वार्ता गर्न ट्रम्प इच्छुक
किमसँग वार्ता गर्न ट्रम्प इच्छुक देखिएका छन् । ‘उत्तर कोरियाली नेता किम जोङसँग मेरो सुमधुर सम्बन्ध छ,’ ह्वाइटहाउसमा आयोजित एक कार्यक्रममा ट्रम्पले भने । उत्तरसँगको वार्तालाई आफूले जहिले पनि सकारात्मक रूपमा लिएको उनले बताए । ‘मैले सदैव भन्दै आएको छु कि उत्तरसँग वार्ता हुनु सकारात्मक पक्ष हो । मलाई आशा छ, उत्तरसँग वार्ता हुन्छ ।’

अमेरिका असन्तुष्ट
उत्तर कोरियाका पछिल्ला आणविक गतिविधिप्रति अमेरिका असन्तुष्ट रहेको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताए । ‘उत्तरले तत्कालै आफ्ना आणविक गतिविधि रोक्नुपर्छ । तर, हाम्रो मिसन प्रस्ट छ– फेरि पनि वार्ताको टेबुलमा बसेर समस्याको समाधान गरौँ,’ उनले भने । उत्तरका पछिल्ला आणविक गतिविधिबारे अमेरिकाले गहिरो चासो देखाएको छ । ‘उत्तरको प्रहारबारे  हामीले निरन्तर अनुगमन गरेका छौँ र यस क्षेत्रका सहकर्मीसँग छलफल गरेका छौँ,’ उनले भने ।

क्षेप्यास्त्र परीक्षण
उत्तरले दुईवटा साना क्षेप्यास्त्र पूर्वी कोरियाली द्वीपमा परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । अमेरिकासँग वार्ताका लागि आह्वान गरेको केही घन्टा नबित्दै उत्तरले नयाँ मिसाइल  समुद्री तटतर्फ प्रहार गरेको हो । पछिल्ला महिना उत्तर कोरियाले शृंखलाबद्ध रूपमा मिसाइल प्रहार गरिरहेको छ ।

दक्षिण कोरियाली सेनाका अधिकारीका अनुसार स्थानीय समयअनुसार मंगलबार बिहान ७ बजे समुद्रमा दुईवटा मिसाइल प्रहार गरिएको थियो ।

उत्तर कोरियाले मंगलबार प्रहार गरेको सीमित क्षमताका दुईवटा क्षेप्यास्त्र करिब ३३० किलोमिटर टाढा कोरियाली समुद्रमा खसेका थिए । यी क्षेप्यास्त्र राजधानी प्योङयाङको बाहिर फ्यानगानबाट प्रहार गरिएका थिए ।

दक्षिण कोरियाली सेनाले यी हतियार ब्यालिस्टिक क्षेप्यास्त्र वा रकेट आर्टिलरी हो भन्ने स्पष्ट नभएको जनाएको छ । गत जुलाईदेखि यो आठौँ परीक्षण हो । यसअघि प्रहार गरिएका हतियार छोटो दूरीका क्षेप्यास्त्र र रकेट थिए । विज्ञहरूका अनुसार यी हतियार अमेरिकी सैनिक अखडासहित दक्षिण कोरियाका कुनै पनि स्थानमा प्रहार गर्न सक्ने क्षमताका छन् ।

 के भन्यो उत्तर कोरियाले ?
उत्तर कोरियाकी विदेशमन्त्री चोई सोन हुईले उत्तर कोरिया तोकिएको समय र स्थानमा यही सेप्टेम्बरसम्म अमेरिकासँग फेस टु फेस वार्ता गर्न इच्छुक रहेको बताइन् । उत्तर कोरिया र अमेरिकाबीचको सम्झौतालाई जीवितै राख्न उनले वासिंटनलाई नयाँ दृष्टिकोण लिएर आउन आग्रह गरिन् ।

‘मलाई विश्वास छ दुवै पक्षलाई स्वीकार्य हुने ढंगले अमेरिकाले एउटा नयाँ प्रस्ताव लिएर आउनेछ,’ उनको भनाइ उद्धृत गर्दै रोयटर्सले जनाएको छ । यसअघि उत्तर कोरियामाथिको प्रतिबन्ध रोक्न अमेरिकाले अस्वीकार गरेपछि हनोई वार्ता विनानिष्कर्ष टुंगिएको थियो ।

गत जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच दुई कोरियालाई छुट्याउने निःशस्त्र क्षेत्र (डिएमजेड) मा ऐतिहासिक वार्ता भएको थियो । सो क्रममा ट्रम्पले उत्तरको भूमिमा पाइलासमेत टेकेका थिए । दुवैजनाले भविष्यमा वार्ता गर्न सहमति जनाएका थिए, तथापि अहिलेसम्म वार्ताका लागि औपचारिक तयारी हुन सकेको छैन ।