मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी बेइजिङ
२०७६ भदौ २५ बुधबार ११:००:००
Read Time : > 1 मिनेट
विश्व

अलिबाबाको अध्यक्षबाट ज्याक माले दिए राजीनामा

Read Time : > 1 मिनेट
एजेन्सी बेइजिङ
२०७६ भदौ २५ बुधबार ११:००:००

विश्वकै सर्वाधिक ठूलो इ–कमर्स कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक माले कम्पनीको अध्यक्षको पदबाट मंगलबार राजीनामा दिएका छन् । चीनकै सर्वाधिक धनी व्यक्तिको सूचीमा रहेका ज्याक माले आफ्नो ५५औँ जन्मदिनका दिन समूहको अध्यक्ष पद छाडेको घोषणा गरेका हुन् । उनले एक वर्षअघि नै अध्यक्ष पद त्याग्ने बताउँदै आएका थिए ।

उनी अलिबाबा पार्टनरसिपको सदस्यका रूपमा भने कम्पनीमा रहनेछन् । छत्तीसजना सदस्य रहने यो अलिबाबा पार्टनरसिपले कम्पनीका सञ्चालक सदस्यहरू छान्ने अधिकार राख्छ ।

अमेरिका–चीन करयुद्धका कारण व्यवसाय प्रभावित भइरहेका वेला संस्थापक ज्याकले राजीनामा दिएका हुन् । ज्याक माको स्थानमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डानियल झाङ नियुक्त हुने सम्भावना छ । झाङ यसअघि एकाउन्टेन्ट रहनुका साथै अलिबाबा कम्पनीका प्रमुख योजनाकार हुन् । चीनमा स्थापित यस अनलाइनले विश्वमै इ–कमर्सका क्षेत्रमा प्रभाव पारेको छ । विगतमा अंग्रेजी शिक्षक रहेका माले सन् १९९९ मा अलिबाबा इ–कमर्स अनलाइन सेवा सुरु गरेका थिए । सुरुमा यो कम्पनीले चिनियाँ निर्यातकर्ता र अमेरिकी खुद्रा व्यापारीलाई जोड्ने पुलको काम गथ्र्याे । सुरुका दिनमा चीनको बढ्दो उपभोक्ता बजारलाई केन्द्रित गरे पनि पछि यस कम्पनीले अनलाइन बैंकिङ, मनोरञ्जन र कम्प्युटिङका क्षेत्रमा लगानी बढाएको थियो । गत जुनमा पहिलो त्रैमासिक विवरणमा कम्पनीको कुल राजस्व करिब १७ अर्ब डलर थियो, जसमा चीनभित्रैबाट व्यवसायको हिस्सा करिब ६६ प्रतिशत थियो ।

चिनियाँ खुद्रा बजारमा हाल अमेरिकी करवृद्धिले असर पारेको छ । अमेरिकी करवृद्धिले चिनियाँ सामानको अमेरिकी बजारमा प्रवेश महँगो हुँदै गएको छ । सन् २०१९ को पहिलो ६ महिनामा अनलाइन बिक्रीमा पनि करिब १८ प्रतिशतले कमी आएको छ । 

करवृद्धिका बाबजुद अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा करिब तीन अर्ब डलरले बढेको छ । तर, यो वृद्धिको मुख्य कारण सन् २०१८ को राजस्व आम्दानीका कारण सिर्जना भएको हो ।

अलिबाबाको इ–कमर्स प्लेटफर्मबाट गत वर्ष ८५३ अर्ब अमेरिकी डलरबराबरको कारोबार भएको थियो । जबकि अमेरिकाको सर्वाधिक ठूलो इ–कमर्स कम्पनी अमेजनबाट २७७ अर्ब अमेरिकी डलरको कारोबार भएको थियो ।