बिपीवाद नै देशको अग्रगामी बाटो

आफ्नो विचार र सिद्धान्त छाडेर अनेक गुट र गिरोहमा विभक्त कांग्रेसले बढ्दो कम्युनिस्टसँग एक्लै लड्ने सामर्थ्य राख्छ ?

२०७६ भदौ २५ बुधबार ०९:११:००

बिपी कोइरालाको १०६औँ जन्मजयन्तीको ठीकपूर्व नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शृंखलाबद्ध बैठक समापन भए । बैठक सरकारको आलोचना गर्दै १७ बुँदे राजनीतिक प्रस्ताव पारित गरेर सकियो ।

बिपीको निधनपछि कांग्रेसको जीवनमा पहिलोपटक गएको साउन ६ मा ‘बिपी स्मृति दिवस’ मनाउने भनेर पार्टी प्रवक्तामार्फत सूचना जारी गरेको कांग्रेसले बिपीको जन्म जयन्तीको अवसर पारेर दोस्रो राष्ट्रिय जागरण अभियान घोषणा गर्‍यो । तर, बिपी विचार र त्यसको भावधारा तथा उहाँको वैचारिक स्पन्दनलाई कति पहिल्याउन सक्छ, सन्देह नै छ ।

पार्टीका स्थापनाकालीन सिद्धान्त र बिपीको विचारलाई चटक्क छोडेर प्रचण्डलगायत अरू कसैले अघि सारेको राजनीतिक मुद्दा काँधमा बोकेर हिँडेको नेपाली कांग्रेसले नैतिक दृष्टिले बिपी कोइरालाको जन्म जयन्ती वा स्मृति दिवस मनाउनुको औचित्य नै कति छ भनेर प्रश्न खडा भएको छ । यस अवस्थामा कांग्रेसको जीवनमा बिपी विचार र चिन्तनको भावधारा अनि स्पन्दनको खोजी गर्नु नै व्यर्थ भइरहेको छ । 

पार्टी सिद्धान्त र  बिपी विचारको पुनर्विचार
पार्टीले लिएको नीति, सिद्धान्त र जननायक बिपी कोइरालाको वैचारिकीमाथि पुनर्विचार हुनुपर्‍यो भनेर सशक्त आवाज भने पार्टी फोरममा उठ्न थालेका छन् । पछिल्लो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, संसद र चालू प्रशिक्षण कार्यक्रममा समेत पार्टीले हिन्दू राष्ट्रको मुद्दालाई बोक्नुपर्ने कुरा उठेको छ ।

पार्टीको पछिल्लो महासमिति बैठकको बहुमतले हिन्दू राष्ट्रको पक्षमा राखेको मागलाई अन्देखा गर्न नहुने, त्यसलाई सम्बोधन गर्नुपर्नेजस्ता माग पार्टी फोरममा जोडदारसँग उठेका छन् । यसलाई शान्ति प्रक्रिया र संविधान निर्माणका क्रममा नेतृत्वले सत्ता स्वार्थबाट प्रेरित भएर पार्टीका नीति, सिद्धान्त अनि बिपी विचारमाथि भएको विचलन र अपव्याख्याकै तहमा पुगेर पुनर्विचार हुनुपर्छ भनेर आवाज बुलन्द हुनुलाई सुःखद प्रयासको रूपमा लिनुपर्छ । 

बिपीको जीवन छँदा उहाँलाई फाँसीको माग गर्ने मण्डले/पूर्वपञ्चहरू अहिले बिपीको विचारलाई आफ्नो पार्टीको मार्गदर्शक सिद्धान्त मानिरहेका छन् । बिपीलाई सधैँ भारतीय दलालको आरोप लगाएर आफ्नो राजनीतिक खेती धान्दै आएका नेपालका कथित कम्युनिस्ट अहिले बिपीलाई महान् राष्ट्रवादी नेता भनेर स्वीकार गर्न थालेका छन् । तर, विपी आफैँले स्थापना गरेको इतिहासको त्यो गौरवशाली कांग्रेस भने बिपी विचार र चिन्तनलाई पूरै परित्याग गरेर विदेशी रणनीति तथा वामपन्थी भासमा फसेको छ, यसबाट कांग्रेसलाई उतार्नका लागि पनि पार्टीमा नयाँ वैचारिक बहसको खाँचो छ ।

वामपन्थीको राजनीतिक मुद्दालाई बोकेर कार्यकर्ता र आमजनतालाई भयानक भ्रम बाँडिरहेका छन् । संघीयता, धर्मनिरपेक्षता, मिश्रित निर्वाचन प्रणाली, गणतन्त्रलगायत कथित अग्रगामी राजनीतिक परिवर्तन बिपी विचार र चिन्तनअनुसार नै भएको भन्दै बिपीप्रति सहनै नसकिने गरी घोर अपमान गरिरहेका छन् ।

संविधानसभाको मुद्दा, धर्मनिपेक्षता, संघीयता र गणतन्त्र यी सबै कथित राजनीतिक परिवर्तनका मुद्दा कांग्रेसका आफ्ना मौलिक मुद्दा नै थिएनन् । ००७ सालमा उठाएको संविधानसभाको मुद्दालाई कांग्रेसले ०१५ सालमा नै परित्याग गरेको हो । नेपाली राजनीतिमा यो मुद्दालाई पछिल्लो चरणमा स्थापित गरेको तत्कालीन नेकपा (माओवादी)ले हो ।

कांग्रेस र तत्कालीन एमालेले राजा ज्ञानेन्द्रको निरंकुश कदमलाई रोक्न नसकेर माओवादीसँग हात मिलाउन पुग्दा यो मुद्दालाई लतारिएर स्वीकार गरेका हुन् । जनआन्दोलनको मुद्दा नै नरहेको धर्मनिरपेक्षता मान्न पुग्नु कांग्रेस र एमालेलगायत आन्दोलनकारी शक्तिले नेपाली जनतालाई दिएको चरम धोका थियो । संघीयता मधेस आन्दोलनका नाममा छिमेकीको रणनीतिमा नेपाली राजनीतिमा बलजफ्ती प्रवेश गराइएको मुद्दा हो । वामपन्थीको लहैलहै र कांग्रेस नेताको राष्ट्रपति बन्ने उग्र राजनीतिक महत्वकांक्षाबीच विदेशी रणनीतिक परिणामस्वरूप कांग्रेस गणतन्त्रको मुद्दा बोक्न पुगेको हो । कांग्रेसले यी कथित परिवर्तनका मुद्दामा स्वामित्व लिन खोज्नुको औचित्य छैन । 

बिपी विचारको  निरन्तर अपव्याख्या
भन्न त कांग्रेसका नेताहरू यी सबै कथित क्रान्तिकारी राजनीतिक परिवर्तन बिपी कोइरालाको विचार र चिन्तनमुताविक नै भएको भन्दै बिपीको विचारलाई निर्मम ढंगले अपव्याख्या गरिरहेका छन् । कुनैवेला लामो समय कांग्रेसको नेतृत्व गरेका र पछिल्लो जनआन्दोलनका कमान्डर बिपी कोइरालाका सहोदर कान्छा भाइ गिरिजाप्रसाद कोइरालाले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रलगायतको राजनीतिक परिवर्तन ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’ र बिपीको विचारअनुसार भएको भन्दै बिपी विचारको घोर अपव्याख्या गरेका थिए ।

केही हप्ताअघि मात्र कांग्रेसका वर्तमान एक पदाधिकारीले एउटा प्रसंगमा संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रलगायतको मुद्दा बिपी कोइरालाकै विचार भएको भन्दै बिपी विचार र चिन्तनको घोर अपव्याख्या गर्दै जगत् हसाउने काम गरे । 

कांग्रेसभित्र वामपन्थी रुझान राख्ने, नेपालको पछिल्लो कथित राजनीतिक परिवर्तनको प्रतिलिपि अधिकार दाबी गर्ने नेता र संविधानसभा निर्वाचन र संविधान निर्माणका नाममा अन्तर्राष्ट्रिय शक्तिको सहायताबाट आफ्नो बौद्धिक व्यवसाय धान्दै आएका प्रजातान्त्रिक आवरणका स्वनामधन्य बुद्धिजीवी पनि यसरी नै बिपीको विचार र चिन्तनलाई निरन्तर रूपमा घोर अपव्याख्या गर्दै आएका छन् ।

सिंगोे पार्टी लहैलहैमा लागेर वामपन्थीको राजनीतिक मुद्दालाई काँधमा बोकेर कार्यकर्ता र आमजनतालाई भयानक भ्रम बाँडिरहेको छन् र संघीयता, धर्मनिरपेक्षता, मिश्रित निर्वाचन प्रणाली, गणतन्त्रलगायत कथित अग्रगामी राजनीतिक परिवर्तन बिपी विचार र चिन्तनअनुसार नै भएको भन्दै बिपी विचारको बेपर्वाहसँग अपव्याख्या गर्दै बिपीप्रति सहनै नसकिने गरी घोर अपमान गरिरहेका छन् ।

बिपीको राजनीतिक विचारलाई आफ्नो राजनीतिक स्वार्थमा प्रयोग र अपव्याख्याको दुस्साहस गर्नेहरूले कुनै कालखण्डमा बिपीले प्रसंगवश व्यक्त गरेको विचारको एउटा अंशलाई टपक्क टिपेर आफ्नो स्वार्थमा व्याख्या गर्ने गरेका छन् । निश्चयः नै बिपीको सिंगोे राजनीतिक जीवनको विभिन्न खण्ड र प्रसंगमा विशेष गरेर मुलुकको राष्ट्रियता र प्रजातन्त्रको सन्दर्भमा उहाँको प्राथमिकता र विचारमा विविधता पाउन सकिन्छ ।

कांग्रेस र तत्कालीन एमालेले राजा ज्ञानेन्द्रको निरंकुश कदमलाई रोक्न नसकेर माओवादीसँग हात मिलाउन पुग्दा यो मुद्दालाई लतारिएर स्वीकार गरेका हुन् । जनआन्दोलनको मुद्दा नै नरहेको धर्मनिरपेक्षता मान्न पुग्नु कांग्रेस र एमालेलगायत आन्दोलनकारी शक्तिले नेपाली जनतालाई दिएको चरम धोका थियो ।

राजनीतिक जीवनको प्रारम्भिक कालमा बिपीले प्रजातन्त्र र जनअधिकारलाई बढी महत्व दिए पनि  राष्ट्रियताको विषयमा उहाँ त्यति गम्भीर भएको पाइन्न । पछिल्लो कालमा उहाँ देशको अस्मिता, स्वतन्त्रता र राष्ट्रियताप्रति सबैभन्दा बढी गम्भीर भएको पाइन्छ । बिपीले स्वयंले भनेका थिए, ‘मलाई पहिले बाहिरको खतराको अनुभव हुँदैनथ्यो, तर अहिले त मलाई त्यसको धेरै अनुभव छ । पहिले राष्ट्रियताको प्रश्न दोस्रो महत्वको थियो भने आज यो प्रथम महत्वको हुन आएको छ ।’ 

राजनीतिक बुद्धत्व 
गौतम बुद्ध जन्मँदै भगवान् भएर जन्मनुभएको थिएन । बालक सिद्धार्थ गौतम, युवराज सिद्धार्थ गौतम, पति सिद्धार्थ गौतम हुँदै दरबार परित्याग गरेर विभिन्न क्रमसँगै साधना र तपस्यापछि, ज्ञान प्राप्त गरेपछि भगवान् गौतम बुद्ध कहलिनुभएजस्तै बिपी कोइराला एकैपटक वा एकाएक नेपाली राजनीतिको महामानव वा राजनेता भएका होइनन् ।

००७ सालको जनक्रान्तिको नायक बिपी प्रधानमन्त्रीका रूपमा जनताको अपार विश्वास र भरोसासाथ राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय भएर देशका लागि काम गरिरहेको अवस्थामा राजा महेन्द्रको उग्र राजनीतिक महत्वकांक्षाको सिकार भए । पछि आठ वर्षको कठोर कारावास र अर्को आठ वर्ष कष्टपूर्ण निर्वासन जीवनको त्यो १६ वर्षको कठोर राजनीतिक तपस्यापछिको बिपीको राजनीतिक जीवन चरम बिन्दु हो ।

त्यही कठोरता र कष्टबाट राजनीतिक रूपमा देशको स्पन्दन र दुनियाँ बुझेका बिपी नै राजनीतिक रूपमा बुद्धत्व प्राप्त गरेका बिपी हुन् । त्यसपछि नै बिपी महामानव, राजनेता कहलिएका हुन् । ०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएका बिपी नै राजनीतिक रूपमा बुद्धत्व प्राप्त गरेका बिपी हुन् । त्यसपछिका उनका विचार र अभिव्यक्ति नै देशका लागि अन्तिम सिफारिस, सन्देश वा मार्गचित्र थियो । त्यो नै बिपी विचार र चिन्तन हो, त्यो नै यथार्थमा बिपीवाद हो । 

बिपी युवा अवस्थामा माक्र्सवादी विचारबाट प्रभावित हुनुहुन्थ्यो, त्यसो भनेर उनलाई कम्युनिस्ट त भन्नुभएन । ००७ सालको क्रान्तिको सेरोफेरामा उहाँको विचार प्रजातन्त्र, जनअधिकारका पक्षमा बढी आउँथ्यो, त्यसो भनेर उहाँ राष्ट्रवादी नभएको होइन । म नास्तिक होइन, तर धर्मलाई अपनाउँदिनँ भनेका छन् । मृत्युपछि मेरो काजक्रिया गर्नुपर्दैन भनेका कारण उनी धार्मिक स्वतन्त्रताका पक्षपाती थिए भन्दैमा उनी धर्मनिपेक्षवादी थिए भन्न सकिन्न । कहीँ–कतै गणतन्त्रको पनि कुरा गरे भनेर बिपी गणतन्त्रवादी थिए भन्यौँ भने त्यो घोर अनर्थ हुन जान्छ ।

मृत्युको मुखैनजिक पुगिसकेका बिपीले त्यसवेला  निष्प्रिय र निर्भीक भएर केवल देशबारे बोलेका छन् । जसलाई थाहा थियो, अब म धेरै दिन बाँच्दिन भन्ने, त्यस्तो अन्तिम अवस्थामा पुगेको व्यक्ति जसको कुनै व्यक्तिगत स्वार्थ नै रहँदैन, प्रधानमन्त्री बनौँला वा केही हूँला भन्ने पनि छैन । यो संसारकै केही मोह–माया छैन, कसैसँग डर र त्रास पनि रहँदैन । कोही रिसाउला वा कसैलाई रिझाएर केही लिउँला पनि हुँदैन । त्यसवेला उनले केवल देश बोलेका थिए । राष्ट्रिय एकता मेलमिलापको सन्देश दिएका तिनै महामना बिपीलाई पार्टीले नचिन्नु, राजसंस्थाले नचिन्नु र सिंगोे देशले नचिन्नु नै देशको दुर्भाग्य हो । आज त्यसैको मूल्य सबैले चुकाउँदै छन् । 

बिपीले कहिल्यै पनि प्रजातन्त्रको मूल्यमा सम्झौता गरेर वा विनासर्त ‘राष्ट्रिय एकता र मेलमिलाप’को कुरा गरेका होइनन् । राजासँग एकता र मेलमिलापको कुरा उठाउँदा बिपी भन्थे, ‘राजासँग हाम्रो संघर्ष छ, त्यसलाई सीमांकन गरौँ, त्यसलाई परिसीमित गरौँ । एउटा परिधि बनाऊँ । त्यस परिधिभित्र, संघर्ष, विवाद र झगडालाई सीमित राखौँ ।’

पुनः प्रधानमन्त्री बन्न छिमेकलाई रिझाउनकै लागि भारतीय नाकाबन्दीलाई नाकाबन्दीसम्म नभन्ने, पूर्वप्रधानमन्त्रीको पदीय हैसियत र विश्वव्यापी कूटनीतिक मर्यादालाई बिल्कुलै पर्वाह नराखी एउटा छिमेकी देशको परराष्ट्रमन्त्रीलाई भेट्न लबेदाको फेरो समाउँदै द्वारिका होटेल छिर्ने कांग्रेस नेतृत्वले महान् राष्ट्रवादी नेता बिपीको यो राष्ट्रवादी सोच र स्पन्दनलाई आत्मसात् गरेर कांग्रेसलाई सही मार्गमा बिपी विचार चिन्तनको मार्गमा ल्याउँछन् भनेर अपेक्षा गर्न सकिन्न । तर, आमकार्यकर्ता त यस मार्गमा अग्रसर बन्नैपर्छ ।

बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता सगरमाथाजस्तै उच्च नैतिक छवि भएका राजनेता, अपरिमित साहस भएका गिरिजाप्रसाद कोइरालासम्म आइपुग्दा कांग्रेस उग्र वामपन्थी कम्युनिस्ट र उग्रदक्षिणपन्थीसँग एक्लै लड्ने सामथ्र्य राख्थ्यो, अहिले त्यो सामथ्र्य कांग्रेसले गुमाएको छ । कांग्रेसमा आज त्यो साहस र उच्च नैतिक छवि भएको नेतृत्व छैन ।

सत्ताका लागि जे–जस्तो सम्झौता गर्न तयार हुने नेतृत्व र कमजोर कांग्रेसले कम्युनिस्टसँग घाँटी जोडेर कम्युनिस्टकै मुद्दा काँधमा बोकेर नेपाल राज्यको संस्थापक राजसंस्थालाई फाल्न त सफल भयो, तर के अब आफ्नो विचार र सिद्धान्तलाई छाडेर अनेक गुट र गिरोहमा विभक्त कमजोर कांग्रेसले बढ्दो कम्युनिस्ट शक्तिसँग एक्लै लड्ने सामथ्र्य राख्छ ? यो नै कांग्रेसका सामु अहिलेको अहम् प्रश्न हो । 

सनातन धर्म संस्कृतिको रक्षा गर्दै राष्ट्र र कांग्रेसलाई बचाउने हो भने बिपी विचारको मार्गमा पार्टी आउनैपर्छ । देशका लागि धर्मनिरपेक्षता, संघीयता, गणतन्त्रलगायत मुद्दा अग्रगामी मुद्दा होइनन्, बिपीको विचार चिन्तनअनुसार देशलाई लैजानु नै अग्रगामी कदम हो, बिपी चिन्तन वा बिपीवाद नै देशका लागि अग्रगामी विचार हो ।

१२ बुँदे हुँदै यहाँसम्म जे–जस्ता कर्म–कुकर्म गरियो बिपीकै शब्दमा ‘बाहिरी तत्वको’ चलखेलमा जे–जस्ता काम गरियो, त्यो सबै देशका लागि प्रतिगामी, राष्ट्रघाती कदम साबित भइसकेको छ । अब सबैले हिम्मत गरेर भन्ने वेला आएको छ, कांग्रेसले अब ढिला नगरीकन हिजोका गल्तीबाट सिक्ने र सच्चिने वेला भयो । बिपीको विचार चिन्तनलाई अपव्याख्या गर्ने, कुरूप बनाउने होइन, उनको विचार र चिन्तनअनुसार सच्चिने र हिँड्ने वेला भयो । यति गर्न सकियो भने कांग्रेस त बच्ने नै छ, त्यो भन्दामाथि देश बच्नेछ ।