खतरामा कोलम्बियाको शान्ति सम्झौता

२०७६ भदौ २५ बुधबार ०९:०९:००

अगस्ट २८ मा जारी भएको एउटा भिडियोमा, रिभोलुस्नरी आम्र्ड फोर्सेस अफ कोलम्बिया(फार्क)का एकजना पूर्व शीर्ष कमान्डरले पुनः सशस्त्र हुन आह्वान गरेका छन् । इभान मार्खेजको नामले चिनिने लुसियानो मनिन शान्तिवार्ताको समयमा मुख्य वार्ताकारमध्ये एक थिए ।

अहिले उनैले एउटा भिडियोमा केही पूर्वफार्क छापामारको समूहअघि उभिएर आफ्नो असन्तुष्ट समूह किन पुनः पहाड र जंगल फर्किन लागेको भनेर व्याख्या गरेका छन् । भिडियोमा उनले कोलम्बिया सरकारसँग हस्ताक्षर भएको सन् २०१६को शान्ति सम्झौताप्रतिको बेइमानीबारे बोलेका छन् । 

यो कोलम्बियाली नागरिकका लागि खराब समाचार हो । फार्कको एउटा हिस्सामात्रै पनि हिंसातर्फ फर्किन लाग्नुको पछाडि एउटा होइन, धेरै तत्वको सम्मिश्रण हुनेछ । सन् २०१६ को शान्ति सम्झौताप्रति वासिंग्टन र बोगाटामा गुम्दै गएको राजनीतिक समर्थनको यसमा प्रमुख भूमिका रह्यो । अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कोलम्बियाका राष्ट्रपति इभान डुक दुवै कोलम्बियाको शान्ति सम्झौताप्रति इमानदार देखिँदैनन् । दुवै नेताले व्यवहार र बेवास्तामार्फत सम्झौताको सफलताको सम्भावनालाई कम आके । 

पूर्वदक्षिणपन्थी राष्ट्रपति अल्भारो उरिबका राजनीतिक उत्तराधिकारी डुकले सामाजिक नेता र पूर्वगुरिल्लाको हत्याको लहरलाई रोक्नका लागि त्यति काम गरेको देखिएको छैन । उनले  शान्ति सम्झौतामा लेखिएका धेरै सुधारका काममा पैसा कम दिने वा दिँदै नदिने काम गरे । 

जहाँसम्म ट्रम्पको कुरा छ, सम्झौता असफल हुँदै गर्दा उनले त्यसप्रति बेवास्ताको भाव देखाए । शान्ति सम्झौतापछि कोलम्बियाबारे लिइएको पहिलो निर्णय नै अमेरिकी कूटनीतिज्ञ बर्नार्ड आरोसनलाई फिर्ता बोलाउनु थियो । उनी सम्झौता हुनुअघि वार्ता र छलफलमा सघाउन संलग्न थिए । 

फार्कको नेतृत्व आर्थिक रूपमा विभाजन भएपछि भविष्य अँध्यारो देखिन्छ । इभान भार्खेजले नेतृत्व गरेको नयाँ सैन्य गुटले सम्झौता हस्ताक्षरपछि तितर–बितर भएको असन्तुष्ट फार्कलाई एकीकृत गर्ने बताएको छ । त्यस्तै, उसले अर्को माक्र्सवादी विद्रोही नेसनल लिबरेसन आर्मी(इएलएन)सँग गठबन्धन बनाउने पनि बताएको छ । उक्त समूह फार्क शान्ति वार्तामा फर्केपछि थप बलियो भएको छ । 

पछिल्लो रिपोर्टअनुसार भेनेजुएलाको सिमानामा सक्रिय इएलएनले भेनेजुएलाको आर्थिक ह्रास र राजनीतिक संकटबाट उम्किनका लागि देश छाडेका भेनेजुएली नागरिकको संख्या वृद्धिसँगै आफ्ना कार्यकर्ताको संख्यामा वृद्धि गर्दै लगेको छ ।

फार्कका पूर्वशीर्ष कमान्डरले पुनः हतियार बोक्न गरेको आह्वानले देशको शान्ति सम्झौतामा गम्भीर खतरा उत्पन्न गराएको छ   

कोलम्बियाको ब्राजिल र भेनेजुएलासँग खुला सिमाना छ । त्यसले गर्दा, पहिले नै त्यहाँबाट लागुपदार्थ, पेट्रोल र विद्युतीय सामाग्रीमा प्रयोग हुने महत्वपूर्ण हिस्सा कोल्टनको अवैध ओसार–पसार हुने गरेको थियो । त्यसमा अहिले बोलिभिया र ब्राजिलको जंगलामा लागिरहेको आगलागी र वासिंग्टनको एकाकी नीतिका साथसाथै दक्षिण अमेरिका क्षेत्रमा उसको कुनै स्पष्ट नीति नभएको(अमेरिकाको त्यस क्षेत्रमा एउटा स्पष्ट नीति भेनेजुएलाका राष्ट्रपति मदुरोलाई सत्ताच्युत गर्ने मात्र देखिन्छ) अवस्थालाई मिलाएर हे-यौँ भने त्यहाँको अवस्था अस्थिरताको निम्ति तयार देखिन्छ । 

छोटोमा भन्दा, सिमाना वारपार हुने राजनीतिक, आर्थिक र पर्यावरणीय चुनौती सिर्जना भइरहेको समयमा फार्कको एक हिस्सा पुनः युद्धमा फर्कन लागेको छ । कोलम्बियाको भूगोल छापामार समूहहरूको लागि सधैँ वरदान साबित हुँदै आएको छ । तिनलेविभिन्न समयमा शान्ति प्रयासपछि आफूलाई पहिलेकै अवस्थामा पु-याउने यिनै भूगोलको सहायताले हो ।

कोलम्बियाको इतिहास हेर्ने हो भने त्यहाँ प्रशस्त आदर्शवादी सम्झौता भएका छन्, जसले भयंकर हिंसालाई रोक्न सकेनन् । विगतमा सम्झौताका क्रममा छापामार लडाकुलाई आममाफी र ग्रामीण क्षेत्रमा महत्वाकांक्षी विकास योजना समावेश गरिएका थिए । तर, ती प्रमुख सहरमा अत्यन्त कमजोर पूर्वाधारकै लागि खर्च भएको देखिन्छ । 

सन् २०१६ नोभेम्बर ३० मा हस्ताक्षर भएको कोलम्बियाको शान्ति सम्झौताले विश्वलाई ठूलो र भयंकर द्वन्द्व वार्ताबाट समाधान गर्न सकिन्छ भन्ने आशा दिएको थियो । उत्तरी दक्षिण अमेरिकाले कैयन् मोर्चामा यति धेरै समस्या भोगिरहँदा ट्रम्प प्रशासनले त्यस पाठप्रति असहमति जनाउनु उसको गैरजिम्मेवारी हुन्थ्यो । 

मानवशास्त्री एलेक्जेन्डर फ्याट्टल क्यालिफोर्निया विश्वविद्यालय, सान डियागोका सहायक प्राध्यापक हुन् ।

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

सम्बन्धित समाचार