१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
विनोदचन्द्र कोइराला काठमाडाैं
२०७६ भदौ २५ बुधबार ०९:०६:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

इतिहासमै निरीह कांग्रेस

Read Time : > 1 मिनेट
विनोदचन्द्र कोइराला काठमाडाैं
२०७६ भदौ २५ बुधबार ०९:०६:००

प्रजातान्त्रिक मूल्यमान्यताअनुसार ऐतिहासिक जिम्मेवारी निर्वाह गर्दै आएको राजनीतिक दल नेपाली कांग्रेस बहालवाला संसद्को प्रमुख प्रतिपक्षी दल हो । संसदीय परिपाटीमा प्रमुख प्रतिपक्षी भनेको सत्तारुढ पार्टीलाई सही मार्गनिर्देश गर्ने, गलत गर्न नदिने र आवश्यक परे सरकारको नेतृत्व गर्नुपर्ने दल हो । तर, कांग्रेस नेतृत्वले आफ्नो दल प्रतिपक्षी हो भन्ने तथ्य चटक्टै बिर्सिएको देखिँदै छ । 

वर्तमान सरकार बनेको डेढ वर्षमा दर्जनौँ ठूला भ्रष्टाचार काण्ड बाहिर आएका छन् । ती काण्डप्रति सरकारले ठोस कदम नचाल्दा सरकारमाथि औँला उठाउन सकिने प्रशस्त ठाउँ छन् । उदाहरणका लागि,  कांग्रेस सरकारकै पालामा झन्डै–झन्डै कार्यसम्पन्न भएको मेलम्ची र त्यस्तै आयोजनाहरू नयाँ सरकार आएपछि कमिसनको मारमा छन् । कमाइ खाने भाँडोको रूपमा रहेका ती आयोजनाबाट आउने पानी निकट भविष्यमै उपभोग गर्न पाइएला भन्ने विश्वास गर्न छाडेका छन्, काठमाडौंवासीले । 

वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको तथ्य प्रधानमन्त्री स्वयंले स्वीकार गरिसकेका छन् । सुन तस्करी प्रकरणमा संलग्नलाई सत्तासीनले केही गर्न नसक्ने देखिएको छ । निर्मला पन्तका बलात्कारी र हत्यारा पत्ता लगाउन सरकारले ठोस कदम चालेकै देखिँदैन । उल्टै, सरकारले जनताको पक्षमा न्यायको आवाज उठाउने सञ्चारमाध्यमलाई कमजोर बनाउने विधेयक धमाधम पेस गर्दै छ । अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता भरोसा गर्न सकिने संस्थालाई निरीह बनाउन खोज्दै छ । 

यस्ता भ्रष्टाचार काण्डमा कांग्रेसका सभापति शेरबहादुर देउवासमेत मौन बस्ने गरेका छन् । कांग्रेस नेतृत्वले विरोध गरेझैँ यदाकदा बोल्नेबाहेक सशक्त प्रतिवाद गर्न सकेको छैन । संविधानले नै किटान गरिदिएको प्रतिपक्षी दलको नेताको संवैधानिक भूमिका निर्वाह गर्नसमेत प्रतिपक्षी नेतृत्व चुकिरहेको छ । नागरिक स्वतन्त्रता हरण भएको छ र कानुनी राज्यको खिल्ली उडाइएको छ । महँगी र दोहोरो–तेहेरो करको मारमा जनता परेका छन् । समग्रमा भन्नुपर्दा लोकतन्त्र संकटमा छ । यी र यस्ता यावत् विसंगति मुलुकले बेहोरेको छ । यस्तो अवस्थामा प्रमुख प्रतिपक्षको भूमिका के हुनुपथ्र्यो ? 

भ्रष्टाचार, बेथिति, बलात्कारजस्ता काण्डको छानबिन गर्न सशक्त दबाब दिनुपथ्र्यो । सडक तथा सदन दुवै तताउन सकिन्थ्यो । यसो गर्न सकेको भए कांग्रेस कार्यकर्तामा मात्र होइन, आमजनतामा जागरण आउँथ्यो । कांग्रेसप्रति केही भरोसा जाग्थ्यो, तर किन भएन त ? यस्तो लाग्छ, सरकार र प्रतिपक्षीबीच सहमति कायम छ ।  

गएको निर्वाचनपछि इतिहासमै पहिलोपटक कांग्रेस निरीह बनेको छ । यस्तो लज्जास्पद परिणाम आउँदा कांग्रेस नेतृत्वले न्यूनतम इमानदारी र नैतिकता देखाउनुपथ्र्यो । तर, अहँ भएन, उल्टो दम्भ प्रदर्शन भइरहेको छ । यसको परिणाम कांग्रेसप्रति भरोसा गर्ने जनता निरास बनेका छन् । हालै सम्पन्न जागरण अभियानले समेत यही देखायो । स्वार्थ र सत्ताका लागि बेचिएको नेतृत्वबाट कसरी जागरण आउँछ ? बुझ्नेले प्रश्न गर्न थालेका छन् । 

नेकपा र सरकारको विरोधमा भाषणभन्दा बाहेक ऊभन्दा हामी राम्रो छौँ र राम्रो गर्छौं भन्ने आधार के ? त्यसको जवाफ जनतालाई कसरी दिने ? जवाफ दिन सकिँदैन भने जागरण कसरी आउँछ । विचार, सिद्धान्त, भावी कार्यदिशा, राजनीतिक अडान, पारदर्शिता, इमानदारी, नैतिकता, स्वच्छता, स्वाभीमानजस्ता गुण नभएपछि त्यस्तो नेतृत्वबाट जागरण आउला ?

यस्तो अवस्थामा भोलि कांग्रेसलाई पुनः भरोसायोग्य पार्टी बनाउन सकिन्छ भन्नु दिवास्वप्न मात्र हुनेछ । आफू उदाहरणीय बन्न सके स्वतः अरूलाई जागृत गराउन सकिन्छ । तर, कांग्रेसका पछिल्ला गतिविधिले मसहुर सायर मिर्जा गालिवको सायरी सम्झना गराउँछ– उम्रभर गालिव यही भूल करता रहा धुल थी चेहरे पर वो आइना साफ करता रहा