१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ भदौ २५ बुधबार ०८:०६:००
Read Time : > 2 मिनेट
अर्थ

३० रुपैयाँ किलो पनि बिक्दैन स्याउ

Read Time : > 2 मिनेट
२०७६ भदौ २५ बुधबार ०८:०६:००
  •  सडक नपुगेकाले बजरसम्म पु-याउन कठिन
  •  कोसेलीमै दिइन्छ एक डोको स्याउ
  •  गाईबस्तु र सुँगुरले खाइनसक्दा कुहिन्छ
  •  यस वर्षदेखि प्रदेश सरकारले प्रशोधन अनुदान दिने

जिल्ला सदरमुकाम पुगेर स्याउ किन्नुप-यो भने कम्तीमा पनि किलोको दुई सय रुपैयाँ तिर्नुपर्छ । भारतीय र चिनियाँ स्याउ त अझ महँगो पर्छ । तर, त्यही सदरमुकामदेखि केही पर रहेको एक गाउँमा भने ३० रुपैयाँ किलो पनि बिक्दैन । स्याउ नबिकेकाले कृषक पाहुना आउनेलाई डोकोभरि कोसेली दिएर पठाउँछन् । गाईबस्तु र सुँगुरले पनि खइनसक्दा कुहिएर खेर जाने गरेको छ । 

यो व्यथा हो, जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाको । ‘बजार लगेर बेच्न सक्दिनँ, यहाँ किन्न कोही आउँदैनन्,’ वडा–२ पेल्माका लजिम पुनले भने, ‘यहाँ जतिमा बिक्री हुन्छ, त्यतिमै दिन बाध्य छु, कुहिन दिनुभन्दा त सस्तो दिन बेस नि ।’ उनले प्रतिकिलो २० रुपैयाँसम्म बेचेको जानकारी दिए । 

पुनले ७ सय बोट स्याउ लगाएका छन् । यो वर्ष उनको स्याउले राम्रै उत्पादन दियो । तर, भाउले मार खुवायो । समस्या उनको मात्र होइन, गाउँकै यस्तै छ । पेल्मामा मात्र १० हजार बोटमा लटरम्मै स्याउ फलेको छ । स्याउका दानाले गाउँ नै राताम्मे देखिन्छ । तर, बिक्री नहुने समस्याले किसान बोट हेर्दै चित्त दुखाउन बाध्य छन् । 

‘भण्डारण गर्ने ठाउँ छैन,’ बारीमा रहेको सबै स्याउ टिपेर घर भिœयाएका उक्त गाउँकै वडा नम्बर–१० घुम्लिवाङका तिल बुढाले भने, ‘धेरै राखे कुहिन्छ । त्यसैले १० रुपैयाँमा तीनवटा दाना बिक्री गरिरहेको छु ।’ घुम्लिवाङका डेढ सय परिवारले करिब ३५ हजार बोट लगाएका छन् । त्यहाँ एक सय टनभन्दा बढी फलेको छ, तर बिक्दैन । बुढाका अनुसार त्यो गाउँका बासिन्दाले किलोको २० रुपैयाँदेखि बढीमा २५ रुपैयाँमा बिक्री गरिरहेका छन् ।  

 समस्या सडक, ढुवानी र भण्डारण 
किसानका स्याउले भाउ नपाउनुमा पहिलो कारण हो, सडक समस्या । यो गाउँपालिकाका १४ वडामध्ये ९ वडामा सडक पुगेको छैन । त्यहाँ ग्रामीण सडकसमेत छैन । स्याउ बढी मात्रमा तिनै क्षेत्रमा फलेका छन् । सडक नपुगेकैले ढुवानीको समस्या छ । घोडा र खच्चरमा ढुवानी गर्दा एक त महँगो पर्छ, अर्को समस्या स्याउ च्यापिएर बिग्रिन्छ । बिग्रेको स्याउले बजारमा भाउ पाउँदैन । अर्को समस्या भण्डारणको पनि हो । गाउँमा कुनै शीतभण्डार छैन । घरेलु उद्योगसमेत स्थापना भएको छैन, जसले स्याउको जुसबाट पेय पदार्थ बनाउन सकियोस् ।

 पाहुनालाई डोकोभरि कोसेली 
पुथाउत्तरगंगा गाउँपालिका जिल्लामै स्याउ बढी फल्ने क्षेत्रमा पर्छ । यहाँ गोल्डेन, रोयल, रोयल गोल्डेन, जुनाथिन, रेड डेलिसियस, गोल्डेन डेलिसियसलगायतका करिब १ दर्जन जातका स्याउ उत्पादन भइरहेका छन् । गाउँपालिकाभरिमा फल्ने र नफल्ने गरी करिब १ लाख स्याउका बोट रहेको कृषकको अनुमान छ । त्यसमध्येमा आधाभन्दा बढीले यसपालि फल दिएका छन् । 

तर, सहज बजार र मूल्य नहुँदा उत्पादक किसानले पाहुनालाई पनि डोकोभरि स्याउ दिएर कोसेली पठाउने गरेका छन् । ‘त्यति गर्दा पनि सकिँदैन,’ बुढाले भने, ‘मिहिनेतको फल नपाउँदा साह्रै दुःख लाग्दो रहेछ ।’ केही समुदाय जाँड बनाउँछन्, केहीले वस्तुभाउ र सुँगुरलाई खुवाउँछन् ।

उत्पादन धेरै भएपछि स्थानीयले वस्तुभाउ र सुँगुरलाई चारो दिएर कुहिनबाट जोगाउने उपाय अपनाएका छन् । सुँगुर नपाल्ने समुदायले गाईबस्तुलाई दाना दिने गरेका छन् । सुँगुर पाल्ने समुदायले त्यसैलाई चारो दिने गर्छन् । ‘यत्तिकै कुहिएर जानुभन्दा गाईबस्तुले खाऊन् भनेर दिने गरेका छौँ,’ वडा १० घुम्लिवाङका कृषक दयाधन घर्तीले भने, ‘केहीले जाँड बनाएर राख्ने गरेका छन् ।’ 

 स्याउ बोक्ने भाँडा र ढुवानीमा अनुदान माग 
कृषकले स्याउमा ढुवानी अनुदान दिन माग गरेका छन् । ढुवानीमा अनुदान पाए उत्पादित स्याउलाई सजिलै बजार पु-याउन मद्दत पुग्ने उनीहरूको विश्वास छ ।
तर, गाउँपालिकाले भने गाउँपालिकाका स्याउ उत्पादक कृषकले यो वर्ष पनि ढुवानीमा अनुदान नपाउने भएका छन् । गाउँपालिकाले यससम्बन्धी कुनै कार्यक्रम नरहेको जनाएको छ ।

प्रदेश सरकारले पनि ढुवानी अनुदान दिन नसकिने बताएको छ । साथै, त्यस्तै कृषकले ढुवानी गर्दा स्याउमा कुनै नोकसानी नपुग्ने खालका सामग्री पनि मागेका छन् । राम्रो खालको क्यारेटको व्यवस्था भएमा घोडा, खच्चडमै स्याउ ढुवानी गर्न सकिने कृषकको भनाइ छ । ‘हामीले ढुवानी अनुदान र स्याउ ढुवानी गर्दा लाग्ने भाडा पाए, तल बजारका मान्छेले महँगोमा किन्नुपर्दैनथ्यो,’ पेल्माका पुनले भने, ‘हामी सस्तैमा बजारसम्म पु-याइदिन्थ्यौँ ।’ 

 प्रदेश सरकारले प्रशोधनका लागि बजेट दिने 
प्रदेश सरकारले स्याउलाई स्थानीयस्तरमै प्रशोधनका लागि भने बजेट दिने भएको छ । यसका लागि १६ लाख बजेट ५ नम्बर प्रदेशबाट आउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढाक्षत्रीले जानकारी दिए । यसमा कृषकले ८ लाख लगानी गर्नेछन् । स्याउबाट चाना, जुसलगायतका पदार्थ बनाउन बजेट खर्च गरिने उनले जानकारी दिए ।