मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ भदौ २५ बुधबार ०७:५९:००
Read Time : < 1 मिनेट
प्रदेश

बनेपा पोलिटेक्निकका कर्मचारी आन्दोलित

Read Time : < 1 मिनेट
२०७६ भदौ २५ बुधबार ०७:५९:००

बनेपा नगरपालिका–५ स्थित नेपाल–बनेपा पोलिटेक्निक इस्न्टिच्युटका कर्मचारी आन्दोलित भएका छन् । शिक्षालय प्रशासनले करार सेवामा कार्यरत केही कर्मचारीको नियुक्ति म्याद थप नगरेपछि कर्मचारी आन्दोलित भएका हुन् । नेपाल–बनेपा पोलिटेक्निक प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतको आंगिक शिक्षालय हो । शिक्षालयमा कार्यरत राष्ट्रिय कर्मचारी संगठन र कर्मचारी संघले संयुक्त रूपमा सोमबारबाट आन्दोलन सुरु गरेका हुन् ।

करार कर्मचारीको म्याद थप गर्न कर्मचारी संगठनले प्रशासनको ध्यानाकर्षण गराउँदै आएका थिए । केही दिनअघि उनीहरूले शिक्षालय प्रशासनलाई ज्ञापनपत्रसमेत बुझाएका थिए । आफ्ना मागप्रति प्रशासनले सुनुवाइ नगरेको र समस्या समाधानको पहल नगरेपछि आन्दोलनमा उत्रनुपरेको कर्मचारी संघका केन्द्रीय उपमहासचिव जेन्दी बादे श्रेष्ठले बताए । दुवै संघ/संगठनले संयुक्त रूपमा पाँचबुँदे माग अघि सारेका छन् ।

कर्मचारीले आइतबार कालोपट्टी बाँधेर एक घन्टा धर्ना दिएका थिए । सोमबार हातमा कालोपट्टी बाँधेर सांकेतिक विरोध जनाएका उनीहरूले मंगलबार पेन डाउन गरेका छन् । माग पूरा नभए २८ भदौबाट शिक्षालयमा तालाबन्दी गर्ने श्रेष्ठले बताए । करारमा कार्यरत पाँचजना कर्मचारीलाई शिक्षालय प्रशासनले नवीकरण गरेको छैन । 

बजेट नभएकाले  म्याद थपिएन : प्रमुख
पोलिटेक्निक इस्न्टिच्युटका प्रमुख मिस्टरकान्त मैनालीले बजेट कार्यक्रममा भएको सिलिङ र सीमित दरबन्दीका कारण म्याद थप गर्न नसकिएको बताए । ‘करारका आठमध्ये तीनजनाका लागि मात्रै बजेट आएकाले पाँचजनाको म्याद थप गर्न सकेनौँ,’ मैनालीले भने, ‘आन्दोलनका बारेमा हामीले माथि विभागमा जानकारी गराइसकेका छौँ ।’