मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ भदौ २५ बुधबार ०७:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेकपा जिल्ला कमिटी विवाद : सिरहा र सप्तरीको शपथमा कुर्सी हानाहान

Read Time : < 1 मिनेट
२०७६ भदौ २५ बुधबार ०७:५०:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश २ अन्तर्गतका जिल्लाको शपथग्रहण कार्यक्रममा कुर्सी हानाहान भएको छ ।  महोत्तरीको बर्दिवास नगरपालिकास्थित बर्दिवास सेवा समितिको हलमा आयोजना गरिएको शपथग्रहण कार्यक्रममा कुर्सी हानाहान भएको हो ।

प्रदेश समितिका अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलले पार्टीका पुराना, इमानदार कार्यकर्तालाई पाखा लगाई आफूनिकटलाई जिल्ला कमिटीमा चयन गरेको भन्दै असन्तुष्ट पक्षले विरोध जनाउँदा कुर्सी हानाहानको अवस्था आएको हो ।

प्रदेश २ का जिल्ला कमिटी गठनलाई लिएर केहीअघिदेखि नै विवाद चलिरहेको थियो । विवादकै बीच पनि मंगलबारलाई प्रदेशका आठ जिल्लाको शपथग्रहण तय भएकोमा पछि सिरहा र सप्तरीको मात्र शपथग्रहण तोकी अरू जिल्लाको स्थगित गरिएको थियो । अरू जिल्लाको स्थगित गरिए पनि सिरहा र सप्तरीको शपथ यथावत् राखिएको थियो ।

मंगलबार शपथग्रहण कार्यक्रम सुरु गर्न लाग्दा असन्तुष्ट पक्षले सिरहा र सप्तरीको शपथ पनि स्थगनको माग गरेका थिए । तर, प्रदेश समितिले शपथ अगाडि बढाउने बताएपछि कुर्सी हानाहान भएको एक सहभागीले जानकारी दिए । त्यसक्रममा असन्तुष्टहरूले अध्यक्ष साहलाई लखेटेका थिए । उनलाई जोगाउने क्रममा प्रहरीले लाठीचार्ज गर्दा केही घाइते भएका छन् ।
 
असन्तुष्टिको कारण
असन्तुष्ट पक्षको नेतृत्व पूर्वमन्त्री उमेश यादवले गरिरहेका छन् । पुरानालाई बेवास्ता गरी पार्टी एकताका क्रममा पछि प्रवेश गरेकालाई तत्कालै जिम्मेवारी दिइएको पनि पुरानामा असन्तुष्टिको कारण बनेको छ । 

केन्द्रले फाइनल गरिसकेपछि पनि प्रदेश समितिले थुप्रै नाम काटेर आफूनिकट थपेको उनीहरूको आरोप छ । त्यो निर्णय नसच्याएसम्म शपथ लिन नदिने भन्दै असन्तुष्टले दिनभर नाराबाजी गरेका थिए । तर, साँझ ठूलो संख्यामा सुरक्षाकर्मी उपस्थित गराएर असन्तुष्टलाई खेदिएको थियो ।

विवाद मिलाउने दिनभरको प्रयास असफल भएपछि प्रदेश कमिटीले बेलुकी साढे आठ बजेतिर सिरहा र सप्तरी जिल्ला कमिटीको शपथ गराएको छ । प्रदेश अध्यक्ष साह र इञ्चार्ज सत्यनारायण मण्डलले सपथ गराए ।