Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ २५ बुधबार ०७:३१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

प्रवेश परीक्षाविना केयू र बिपी प्रतिष्ठानद्वारा एमबिबिएसमा भर्ना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ २५ बुधबार ०७:३१:००

काठमाडौं विश्वविद्यालय र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रवेश परीक्षाविनै एमबिबिएसमा भर्ना प्रक्रिया सुरु गरेका छन् । प्रवेश परीक्षाविना भर्ना भएका विद्यार्थी अधिकांश अनुत्तीर्ण हुने र नेपालकै बदनाम गर्न सक्रिय भए पनि केयू र बिपी प्रतिष्ठानले भर्ना प्रक्रिया सुरु गरेका हुन् । 

भारतको निट (नेसनल इलिजिबिलिटी कमन इन्ट्रान्स टेस्ट) उत्तीर्ण गरेका विद्यार्थीलाई केयूका मेडिकल कलेजले भर्ना गर्न पाउने व्यवस्था छ । स्रोतका अनुसार विदेशी विद्यार्थीबाट धेरै रकम असुल गर्न पाउने भएपछि नेपालका निजी मेडिकल कलेजको प्रभावमा विदेशका कमजोर विद्यार्थीलाई पनि नेपालमा प्रवेश परीक्षा दिन नपर्ने व्यवस्था गरेको हो । बिपीमा समेत केयूकै व्यवस्था अपनाएको छ । एकातिर नेपाली विद्यार्थीको सिट कटौती भएको छ भने अर्कोतिर धेरै भारतीय विद्यार्थी अनुत्तीर्ण हुँदा देशकै बेइज्जत भएको छ ।

त्रिभुवन विश्वविद्यालयले भने निट उत्तीर्ण विद्यार्थीले समेत प्रवेश परीक्षा दिनुपर्ने व्यवस्था गरेको छ । केही समयअघि समय सकिनै लाग्दा तत्कालीन उपकुलपति प्रा.डा. तीर्थ खनियाँले निट पास गरेका विद्यार्थीले समेत त्रिविमा भर्ना गर्न पाउने निर्णय गरेका थिए ।

प्राज्ञिक परिषद्मा छलफल मात्र भएको, तर निर्णय नभएको विषयलाई तत्कालीन उपकुलपति खनियाँले निर्णय भएको भन्दै छलकपट गरेको आरोप छ । कामु उपकुलपति प्रा.डा. सुधा त्रिपाठीले त्यो निर्णय उल्टाइसकेकी छिन् । ‘यो विषय छलफलका लागि प्राज्ञिक परिषद्को बैठकमा पठाउने भनेर निर्णय गरेकी छु । मेडिकल पढ्न सबै विदेशीले त्रिविको प्रवेश परीक्षा दिनुपर्छ,’ उनले भनिन् ।

भारतलगायतका देशबाट कमजोर विद्यार्थी नेपालमा एमबिबिएस अध्ययनका लागि आउने र अधिकांश अनुत्तीर्ण हुने गरेका छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्रा.डा. जगदीशप्रसाद अग्रवालले विदेशी विद्यार्थीको नतिजा कमजोर रहेको बताए ।  

नेपालमा एमबिबिएस पढेका भारतका विद्यार्थी धेरै अनुत्तीर्ण भएपछि विभिन्न आरोप लगाएर केही समयअघि नारा–जुलुससमेत गरेका थिए । चाइनाको आडमा नेपालका विश्वविद्यालयले अनुत्तीर्ण गराएकोसमेत आरोप लगाएका थिए । नेपालमा फेल भएका विद्यार्थीका विषयमा भारतीय सांसदले लोकसभामा समेत आवाज उठाएका थिए ।

‘ऐनअनुसार चिकित्सा शिक्षा अध्ययन गर्न सबैले प्रवेश परीक्षा पास हुनैपर्छ’
विश्वविद्यालयका सहकुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आर्थिक अवस्था राम्रो भएको र प्रवेश परीक्षा पास हुँदैमा कुनै विषय पढ्न पाउने वा उसको अभिवृत्ति परीक्षणसमेत गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए । आगामी शैक्षिक सत्रदेखि राष्ट्रिय चिकित्सा शिक्षा ऐनले चिकित्सा शिक्षा अध्ययन गर्न सबैले प्रवेश परीक्षा पास हुनुपर्ने व्यवस्था गरेकाले त्यसैका आधारमा अघि बढ्ने बताए । यो शैक्षिक सत्रका लागि चिकित्सा शिक्षा आयोगको निर्णयअनुसार पुरानै व्यवस्थाअनुरूप हुने शिक्षामन्त्री पोखरेलले बताए ।