मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका भक्तपुर
२०७६ भदौ २५ बुधबार ०७:०५:००
Read Time : < 1 मिनेट
समाचार

नेपाल संवत्को पक्षमा प्रदेश सरकार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका भक्तपुर
२०७६ भदौ २५ बुधबार ०७:०५:००

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल संवत्लाई सरकारी कामकाज तथा व्यावहारिक प्रयोगमा ल्याउन पहल गर्ने बताएका छन् । राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले गरेको नेपाल संवत् एवम् राष्ट्रिय शंखधर संग्रहालय निर्माण विषयक अन्तरक्रियामा पौडेलले भने, ‘शंखधर साख्वालाई सरकारले राष्ट्रिय विभूति घोषणा गरेको छ, अब उनले चलाएको संवत्लाई व्यवहारमा अपनाउन कुनै कठिनाइ छैन ।’ 

प्रदेश ३ मा शंखधर पार्क निर्माण गर्न लागेको जानकारीसमेत उनले दिए । उनले नेपाल संवत्लाई व्यावहारिक प्रयोगका लागि प्रदेश सरकारमा निर्णय गरी केन्द्र सरकारलाई सिफारिस गर्ने प्रतिबद्धतासमेत जनाए । पौडेलले भक्तपुरमा निर्माण हुने संग्रहालयका लागि प्रदेश सरकार र अन्यत्रबाट समेत सहयोग हुने वातावरण बनाउने वचन दिए । 

संघीय सांसद भीमसेनदास प्रधानले शंखधर कुनै जात विशेषको मात्र नभएको बताउँदै नेवार समुदायले पेवाजस्तो मात्र बनाउन नहुने तर्क गरे । अर्का सांसद महेश बस्नेतले नेपाल संवत्लाई आमजनताको संवत्का रूपमा विकास गर्न पहल गर्नुपर्ने बताए ।  

कार्यक्रममा प्रदेश सांसद प्रतिमा श्रेष्ठ र सरस्वती बाटीले सरकारले राष्ट्रिय मान्यता दिएर मात्र नहुने बताउँदै प्रयोगमा ल्याउनुपर्ने धारणा राखे । राष्ट्रिय अभिलेखालयका प्रमुख शौभाग्य प्रधानांगले दुईतिहाइ जनताको मतबाट बनेको सरकारले जनताको ऋणमोचन गरी शंखधरले चलाएको मौलिक संवत्लाई राष्ट्रिय रूपमा प्रयोगमा ल्याउनुपर्ने सुझाब दिए । उनले बन्न लागेको संग्रहालयलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सकिने समेत बताए । 

कार्यक्रममा नेपाल पञ्चांग निर्णायक समितिका सदस्य दैवज्ञकीर्तिमदन जोशी, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतलगायतले शीघ्र रूपमा संग्रहालय निर्माणमा जुट्न सहयोग पु-याउन माग गरे ।