मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७६ भदौ २४ मंगलबार १०:४३:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

युवामा स्ट्रिट फुडको घातक मोह

Read Time : > 1 मिनेट
मञ्जु टेलर काठमाडाैं
२०७६ भदौ २४ मंगलबार १०:४३:००
डा. संकेत  रिसाल

सडकको छेउमा होस् या तारे होटेलको गेटबाहिर, ठेलागाडामा पकाइने/बनाइने खानाको स्वाद लिन युवा/युवती व्यस्त देखिन्छन् । चना, चटपटे र पानीपुरीबाट सुरु भएका ठेलागाडा रेस्टुराँमा अहिले युवा/युवतीका ‘फेभरेट’ मःम, चाउमिन, ससेज, बिरयानीलगायत परिकार पाइन्छन् । ‘फरक स्वाद पाइने भएकाले जंक र फास्टफुड नै रोजाइमा पर्छन्,’ अमृत साइन्स कलेजका विद्यार्थी सन्तोष लम्साल भन्छन्, ‘भनेकै समयमा उपलब्ध हुने भएकाले पनि त्यतै ध्यान जान्छ ।’

रत्नराज्य क्याम्पसमा स्नातकोत्तर गरिरहेकी रञ्जु गिरी पनि धेरैजसो फास्टफुड खान्छिन् । सडक किनारका खाद्यवस्तुले स्वास्थ्यमा पार्ने असरबारे उनी जानकार नभएकी भने होइनन् । प्याकेटमा राखिएका खानेकुरा बोकेर लैजान सजिलो हुने र स्वाद चटपटे हुने भएकाले पनि स्ट्रिट फुडमा आकर्षित् हुने उनी बताउँछिन् ।

कतिपय अभिभावकले आफ्ना बालबच्चालाई खाजाका रूपमा जंकफुड पठाउने गरेको डा. अरुणा उप्रेती बताउँछिन् । भन्छिन्, ‘आमाबाबुले नै बच्चाको पोषणमा ध्यान दिइरहेका हुँदैनन्, घरको खाजा पकाएर खान दिनुभन्दा बजारबाट खानेकुरा मगाएर खान दिने गर्छन् ।’ त्यसका कारण बालबालिका कुपोषणको सिकार हुने गरेको उनको भनाइ छ । उनका अनुसार त्यस्ता खाद्यवस्तुका कारण बालबालिकाले आवश्यक पोषण पाउँदैनन् ।

फरक स्वाद पाइने भएकाले जंक र फास्टफुड नै रोजाइमा पर्छन् । भनेकै समयमा उपलब्ध हुने भएकाले पनि त्यतै ध्यान जान्छ ।

चिकित्सक भन्छन्– सचेत हुुनुस्
चिकित्सकका अनुसार बजारमा तयारी अवस्थामा पाइने अधिकांश खाद्यपदार्थ जंकफुड हुन् । चाउचाउ, बिस्कुट, आलुचिप्स, चना, चटपटे, पानीपुरी, कोलड्रिंक्स,, पाउरोटी, दुनोट, पपकर्न, पिज्जा, मःम, चाउमिन, बर्गर आदि सबै सोही श्रेणीका खाद्यवस्तु हुन् । त्यस्ता खाद्यवस्तुमा अत्यधिक मात्रामा मसाला, ट्रान्सपm्याट, चिनी, सोडियम, खराब पोषणयुक्त चिज र विभिन्न रसायन हालिएको हुन्छ । यस्ता खानेकुरालाई बढी स्वादिलो र आकर्षक बनाउन विभिन्न अखाद्य पदार्थ र रङ मिसाइएको हुन्छ । यस्तै, रिफाइन्ड गरिएका वस्तु र बोसो पनि मिसाइएको हुन्छ ।

‘जंकफुडमा शरीरलाई आवश्यक प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन र सूक्ष्म पौष्टिक तत्व हुँदैनन्,’ डा. संकेत रिसाल भन्छन्, ‘यस्ता खानेकुराको प्रयोगले व्यक्तिको शारीरिक र मानसिक विकास अवरुद्ध पार्छन् ।’ पछिल्लो समयमा युवावस्थामै मुटुसम्बन्धी रोग, मधुमेह, उच्च रक्तचाप, जन्डिसजस्ता समस्या देखापर्नुको कारण जंकफुड नै भएको उनको भनाइ छ । 

बजारमा सजिलै पाइने खानेकुरा खानुअघि ती कति स्वस्थकर छन् भन्ने कुरामा सचेत हुन जरुरी छ । अधिक पिरो, अमिलो, गुलियो, नुनिलो र मसलायुक्त खानेकुरा स्वास्थ्यका लागि घातक हुन्छन् ।

जानकारका अनुसार पौष्टिक तत्व नहुँदा शरीरले आवश्यक ऊर्जा पाउँदैन । त्यसका कारण आलस्यता, खाइरहन मन लाग्नेजस्ता समस्या देखिन थाल्छन् । ‘एक किसिमको लत बस्ने हुन्छ, जसले स्वास्थ्यमा दीर्घकालीन असर गर्छ,’ डा. रिसाल भन्छन्, ‘जंकफुडमा उच्च क्यालोरी हुन्छ ।

दैनिक पाँच सयभन्दा बढी क्यालोरी ग्रहण गर्दा शरीरको तौल अनियन्त्रित रूपमा बढ्न थाल्छ । मोटोपनाका कारण विभिन्न रोगले सजिलै आक्रमण गर्छन् ।’ यस्ता खानेकुरामा प्रयोग गरिएका रङ र रसायनले पाचन प्रक्रियामा असर पार्छन्, जसले ग्यास्ट्रिकलगायत समस्या देखिन्छन् ।

जंकफुडमा सोडियमको मात्रा उच्च हुने भएकाले मुटुका लागि घातक हुन्छ । आवश्यकभन्दा बढी सोडियमले उच्च रक्तचाप र स्ट्रोकको समस्या निम्त्याउँछ । त्यसकारण, रोगसँग लड्ने क्षमता कम हुँदै जान्छ । सानैमा शरीर कमजोर भएपछि ज्वरो आउने, निमोनिया हुनेजस्ता समस्या देखिन्छन् ।

डा. रिसालका अनुसार बच्चाको सिकाइमा समेत प्रभाव पर्छ । ‘बजारमा सजिलै पाइने खानेकुरा खानुअघि ती कति स्वस्थकर छन् भन्ने कुरामा सचेत हुनु जरुरी छ,’ उनी भन्छन्, ‘अधिक पिरो, अमिलो, गुलियो, नुनिलो र मसालायुक्त खानेकुराले स्वास्थ्यलाई घातक असर गरिरहेका हुन्छन् ।’