मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रतिमा शेर्पा अन्तर्राष्ट्रिय गल्फर
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २४ मंगलबार ०९:३४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

सातामा चार दिन जिम जान्छु : प्रतिमा शेर्पा

फिटनेस संवाद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २४ मंगलबार ०९:३४:००

बाबुआमासँग त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलनजिक रोयल नेपाल गल्फ क्लबको तेस्रो होलनजिकै रहेको सानो झुप्रोमा बस्थिन्, प्रतिमा शेर्पा । ११ वर्षको उमेरदेखि नै गल्फ खेल्न थालेकी उनीबारे ‘गल्फ डाइजेस्ट’ नामक प्रतिष्ठित पत्रिकाले लेख छापेको थियो । त्यसपछि विश्व नम्बर १ अमेरिकाकी गल्फर टाइगर उड्स आफैँले उनलाई अमेरिका बोलाए । त्यसपछि नै हो, उनी अन्तर्राष्ट्रिय गल्फर बन्न सफल भएको पनि । प्रस्तुत छ, हाल अमेरिकामै रहेकी शेर्पासँग गरिएको फिटनेस संवाद :

म अहिले अमेरिकाको क्यालिफोर्नियास्थित सान्ता बार्बरा सिटी कलेजमा बिजनेस म्यानेजमेन्टको स्नातक तह दोस्रो समेस्टर अध्ययरत छु । साथमा गल्फ खेलको पनि प्रशिक्षण लिइरहेकी छु । मेरो प्रशिक्षक डन पर्सन र प्रिस्टन कोम्ब्स हुनुहुन्छ । कम्ब्सचाहिँ मेरो पुटिङतर्फको प्रशिक्षक हुनुहुन्छ । गल्फमा बल ग्रिनमा आइसकेपछि होलमा छिराउने कुरालाई पुटिङ भनिन्छ ।

सबै खेलका लागि शारीरिक अभ्यास महत्वपूर्ण हुन्छ । गल्फ पनि त्यसबाट टाढा छैन । चिल्लो र गुलियो खानेकुरा सकेसम्म कम खान्छु । ब्रेकफास्टमा प्रायः टोस्ट र अमलेट खाइन्छ । लन्च र डिनरचाहिँ देशबाहिर भएकाले यही खाइन्छ भन्ने हुँदैन । दिनदिनै फरक खाना खानुपर्छ, जसमा पास्ता, नुडल्स, भात, करी र चिकेनलगायत हुन्छन् । म चिकेनचाहिँ अलि बढी नै खान्छु । ‘ह्वाइट मिट’ भएकाले यसले स्वास्थ्यमा खासै असर गर्छजस्तो लाग्दैन ।

 म चिकेनचाहिँ अलि बढी नै खान्छु । ‘ह्वाइट मिट’ भएकाले यसले स्वास्थ्यमा खासै असर गर्छजस्तो लाग्दैन ।

मेरो कलेजमै जिमको सुविधा छ, जहाँ हाम्रो इन्स्ट्रक्टर पनि हुनुहुन्छ । सातामा चार दिन जिम जान्छु । गल्फ खेलका लागि अभ्यास प्रशिक्षकद्वय पर्सन र कोम्ब्सले नै गराउनुहुन्छ । आफ्नो खेलका लागि आवश्यक शारीरिक अभ्यास नै बढी गर्छु ।

गल्फमा स्टामिना बढाउन पनि उत्तिकै आवश्यक हुन्छ । कहिलेकाहीँ धेरै लामो कोर्स पनि गर्नुपर्छ । राति सामान्यतया सात घन्टा सुतिन्छ । बिदाको दिनमा भने नौ घन्टासम्म सुत्छु । कलेजमा बिहानको क्लास हुने भएकाले म साँझपख शारीरिक अभ्यास गर्छु । 

गल्फ खेल्दा आफ्नै ब्याग बोकेकी हुन्छु । ब्याग बोकेर चार–पाँच घन्टासम्म हिँडिन्छ । त्यसबाट पनि धेरै शारीरिक अभ्यास हुन्छ । आफ्नो स्टामिना त्यसबाट पनि विकास भइरहेको हुन्छ । मैले नेपालमै जुनियर–सिनियर सबै गरेर २०–२५ वटा टुर्नामेन्टमा भाग लिएकी छु । नेपालमै भएको फाल्डो शृंखला तीनपटक जितेकी थिएँ । अमेरिकामा पनि विभिन्न टुर्नामेन्टमा भाग लिएकी छु । त्यसमध्ये भिसिजेजिए च्याम्पियनसिप जितेँ ।