मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २४ मंगलबार ०७:५६:००
Read Time : > 1 मिनेट
सप्तरंग

जोशीको साँगुरीको डाँडैडाँडामा विधानको स्वर

गीत संगीत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २४ मंगलबार ०७:५६:००

‘साँगुरीको डाँडैडाँडा’ बोलको गीत ०२५ सालतिर लोकगायक लक्ष्मीप्रसाद (एलपी) जोशीले संकलन गरेर गाएका थिए । गायक विधान श्रेष्ठले सोही गीतलाई पुनः रेकर्ड गराएका छन् । ‘पुराना गीतलाई नयाँ पुस्ताले याद गरून् भनेर मैले उहाँको गीत गाएको हुँ,’ उनी भन्छन् ।

सिनेमादेखि म्युजिक भिडियोसम्म ठेट नेपाली शब्द रहेका पुराना गीत पुनः रेकर्ड गराउने चलन नयाँ होइन । विधानले पनि त्यसैलाई पछ्याउँदै ‘साँगुरीको डाँडैडाँडा’लाई पुनः रेकर्ड गराएका हुन् । ‘पुनः रेकर्डका लागि उहाँसँग सम्झौता गरेको छु, म्युजिक नेपालले पनि सहयोग गरेको छ,’ उनी भन्छन् । उनका अधिकांश गीत लोकपपमा आधारित छन् । ‘साँगुरीको डाँडैडाँडा’का मौलिक शब्द नयाँ रेकर्डिङमा नछुटाइएको उनी बताउँछन् । भन्छन्, ‘गीतको मेलोडीमा कत्ति फरक छैन, तर गायकीमा नयाँपन छ ।’ गोपाल रसाइलीसँग मिलेर उनी आफैँले एरेन्ज गरेका छन् ।

‘रिटिङ रिटिङ’लगायत सदाबहार लोकगीत दिएका जोशीको गीतलाई पुनः बजारमा पु-याउन पाउँदा गर्व महसुस भएको विधान बताउँछन् । ०५० को दशकदेखि गायनमा आएका विधानका ‘सोल्टिनी भनी बोलाको,’ ‘यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो’, ‘माछी मार्न जाऔँ न दाजै कालापानीमा’, ‘ज्ञानबहादुर छोरो’, ‘बुहारी झारझैँ’, ‘आज नाच्छे मेरी गौरी’, ‘कान्छीको अल्लारे जोवन’ लगायत गीत लोकप्रिय छन् । एलपी जोशीकै ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’ बोलको गीतलाई पनि पुनः रेकर्ड गरेर बजारमा ल्याउने योजनामा छन् । भन्छन्, ‘पुराना गीतलाई हराउनबाट जोगाउन नयाँ पुस्ताका गायक र संगीतकारले पहल गर्नुपर्छ ।’

गीतको मेलोडीमा कत्ति फरक छैन, तर गायकीमा नयाँपन छ । पुरानो गीतका मौलिक शब्द नयाँ रेकर्डिङमा छुटाइएको छैन ।

गीत छनोटमा निकै ध्यान दिने उनी ग्रामीण परिवेशमा आधारित लोकलयमा स्वर भर्न रुचाउँछन् । भन्छन्, ‘लोकलयमा आफ्नो समाज चिनाउन सकिन्छ ।’मायाप्रेम र देशभक्तिले ओतप्रोत गीत पनि गाएका छन्, विधानले । ०३१ सालमा सुनसरीमा जन्मिएका उनले आफ्नै पिता विजय श्रेष्ठलाई पछ्याए । उनका पिता पनि गीतकार र संगीकार हुन्, जसको प्रभाव आफूमा परेको विधान बताउँछन् । आफूलाई अम्बर गुरुङको शिष्य बताउने उनी भन्छन्, ‘मेरो त पारिवारिक माहोल नै सांगीतिक छ, त्यसैले स्थानीय शब्द समेटिएका गीत गाउन रुचाउँछु ।’