१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ भदौ २४ मंगलबार ०७:३१:००
Read Time : > 2 मिनेट
अर्थ

अर्थ मन्त्रालयमा समयतालिका अड्किँदा वैदेशिक रोजगारी बचतपत्र अन्योल

वर्षैभरि खुला गर्ने नीति, तर कार्यान्वयन सुरु भएन

Read Time : > 2 मिनेट
२०७६ भदौ २४ मंगलबार ०७:३१:००

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत वैदेशिक रोजगारी बचतपत्र वर्षैभरि खुला गर्ने घोषणा गरेपछि हालसम्म निष्कासन गर्न सकेको छैन । मुलुकमा भित्रिने खर्बौँ रेमिट्यान्सलाई उपयोग गर्ने नीतिअनुरूप राष्ट्र बैंकले बचतपत्रको अवधारणा ल्याए पनि अर्थ मन्त्रालयले यो वर्ष पनि निष्कासनसम्बन्धी समयतालिका स्वीकृत गरिदिएको छैन । सयमतालिका स्वीकृत नहुँदा निष्कासनमा पनि ढिलाइ भएको हो । 

मुलुकमा गत आर्थिक वर्ष ८ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । त्यसमध्ये ७२ प्रतिशत रकम उपभोग र घरजग्गामा खर्च हुने राष्ट्र बैंकको आँकडा छ । बाँकी रहेको करिब साढे २ अर्ब रुपैयाँलाई लक्षित गरी बचतपत्र निष्कासन गर्ने नीति लिए पनि राष्ट्र बैंकले त्यसअनुसार कार्यान्वयन गर्न सकेको छैन । 

कार्यान्वयनमा देखिएको उदासीनता र जनचेतनाको अभावले बचतपत्रप्रति सर्वसाधारणको चासो देखिएको छैन । बितेको ८ वर्षमा ११ अर्ब रुपैयाँको बचतपत्र माग भए पनि जम्मा ५८ करोड रुपैयाँ (प्रतिशत मात्र) बिक्री भएको थियो । 

यो वर्ष पनि आर्थिक वर्ष सुरु भएको दुई महिना पुग्नै लाग्दासमेत राष्ट्र बैंकले बचतपत्र खुला गर्न नसक्नु मात्र होइन, बचतपत्रको क्यालेन्डर (समयतालिका) पनि सार्वजनिक गर्न सकेको छैन । 

क्यालेन्डर सार्वजनिक नभएकाले यसपालि पनि बचतपत्र कहिले आउँछ भन्नेमा अन्योल देखिएको छ । बचतपत्र निष्कासन र बोलपत्रको सयमतालिका समयमै नआउँदा खरिदकर्ताको सहभागिता न्यून हुन सक्ने राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । 

‘वैदेशिक रोजगार बचपत्र वर्षैभरि खुला गर्ने भनिएको छ, तर आर्थिक वर्ष सकिएको दुई महिनामा पनि निष्कासन सुरु भएको छैन, तालिकै आएको छैन,’ उनले भने, ‘समयमा नगर्दा विगतमा पनि यो कार्यक्रम सफल भएको थिएन, अहिले पनि यो कार्यक्रम लगभग असफल नै देखिएको छ ।’

सरकारले अघिल्लो आर्थिक वर्षमा १ खर्ब ७२ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो । त्यसमध्ये ९६ अर्ब ३८ करोड (करिब आधा) ऋण उठाएको थियो । तर, त्यस आर्थिक वर्ष वैदेशिक रोजगारी बचतपत्र ल्याइएको थिएन । 

१ खर्ब ७२ अर्बको आन्तरिक ऋण उठाउने योजना हुँदा एक रुपैयाँको पनि वैदेशिक रोजगारी बचतपत्र निष्कासन नगर्नु दुर्भाग्य भएको पूर्वकार्यकारी निर्देशक थापा बताउँछन् । ‘घोषणा गर्ने, तर ऋण नउठाउने प्रवृत्तिले समग्र अर्थतन्त्र तथा वित्तीय प्रणालीमा असर पर्छ,’ उनले भने, ‘त्यही भएर बजेट र मौद्रिक नीतिले गरेको व्यवस्था तथा घोषणा कार्यान्वयन हुनैपर्छ ।’

चालू आर्थिक वर्षमा पनि सरकारले १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक कर्जा उठाउने घोषणा गरेको छ । यसमा समयतालिका बनाएर वैदेशिक रोजगारी बचतपत्र निष्कासन गर्नुुपर्ने देखिन्छ । ‘कि त रकम तोकेर जुनसुकै वेला खरिद गर्न सकिने गरी बचतपत्र खुला गरिनुपर्छ, कि त निश्चित समयतालिका तोकेर बिक्री खुला गरिनुपर्छ,’ उनले भने, ‘नत्र कार्यक्रम सफल हुँदैन ।’

समयतालिका अर्थबाट स्वीकृत भएन : राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले २७ साउनदेखि वैदेशिक रोजगारी बचतपत्र निष्कासन गर्ने समयतालिका बनाएको थियो । उक्त समयतालिका अर्थ मन्त्रालयले स्वीकृति नगर्दा ऋणपत्र सार्वजनिक गर्न नसकिएको राष्ट्र बैंक स्रोतले जानकारी दिए । ‘हामीले १६ साउनमै निष्कासन र बोलकबोलको तालिका बनाएर अर्थ मन्त्रालय पठाएका थियौँ,’ उनले भने, ‘तर, अर्थ मन्त्रालयबाट अहिलेसम्म स्वीकृति भएको छैन ।’

 २८ प्रतिशत रेमिट्यान्स  मात्रै बचत

राष्ट्र बैंकले गरेको एक अध्ययनले रेमिट्यान्स आएको २८ प्रतिशत मात्रै बचत हुने गरेको देखाएको छ । बाँकी ७२ प्रतिशत रेमिट्यान्स आय ऋण तिर्न, दैनिक उपभोग गर्न, सम्पत्ति जोड्न र स्वास्थ्य तथा शिक्षामा खर्च हुने गरेको अध्ययनले देखाएको छ । अघिल्लो आव ०७५/७६ मा नेपालमा कुल ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो आव ०७४/७५ को भन्दा १६.५ प्रतिशतले बढी हो । 

आठ वर्षमा ११ अर्बको बचतपत्र निष्कासन, ५८ करोडको मात्रै बिक्री
सरकारले विदेशी मुद्रा औपचारिक प्रणालीबाट नेपाल भित्र्याउन तथा रेमिट्यान्सलाई नेपालको विकासमा उपयोग गर्न भन्दै सुरु गरेको ‘वैदेशिक रोजगारी बचतपत्रमा श्रमिकको सहभागिता निराशाजनक देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म बिक्री खुला गरिएको वैदेशिक रोजगारी बचतपत्रमध्ये ५.२९ प्रतिशत मात्रै बिक्री भएको छ । बचतपत्रको बिक्री केन्द्रीय बैंकको लक्ष्यअनुसार हुन नसकेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुख नरबहादुर थापाले बताए । ‘वैदेशिक रोजगार बचतपत्र कार्यविधि २०६७’ ल्याएर केन्द्रीय बैंकले बचतपत्र बिक्री गर्न थालेको हो । त्यसपछि उक्त कार्यविधि संशोधन गर्दै केन्द्रीय बैंकले ‘वैदेशिक रोजगार बचतपत्र कार्यविधि २०६९’ अनुसार बचतपत्र निष्कासन गर्दै आएको छ । 

सुनिश्चितता नहुँदा यो कार्यक्रम असफल देखियो
नरबहादुर थापा
पूर्वकार्यकारी निर्देशक
नेपाल राष्ट्र बैंक

वैदेशिक रोजगार बचतपत्रको निष्कासन र बोलकबोलको तालिका समयमै नआउँदा यसमा सहभागिता न्यून देखिएको छ । वैदेशिक रोजगारीमा जानेले आफूअनुकूल खरिद गर्न पाउँदैनन्, योजना बनाएर पनि खरिद गर्न सक्दैनन्, किनकि यसको कुनै निष्कासन तालिका हुँदैन । त्यसैले यो कार्यक्रम लगभग असफलजस्तै देखिएको छ । अर्कोतर्फ वैदेशिक रोजगारीमा जानेको ध्यान त्यता गएन, शिक्षा, स्वास्थ्य, घरजग्गा र दैनिक उपभोगमा बढी खर्च भयो । यसलाई सफल बनाउन वर्षैभरि बचतपत्र खुला गर्ने वा समयतालिका बनाएर निष्कासन गर्ने नीति बनाएर तुरुन्त कार्यान्वयनमा ल्याउनुपर्छ तथा ब्याजदर पनि आकर्षक दिनुपर्छ । 

किन बिक्दैन बचतपत्र ? 

  • वैदेशिक रोजगार बचतपत्रबारे जनचेतना नहुनु
  • निष्कासन तथा बोलकबोल हुने सुनिश्चितता नहुनु (समयतालिका समयमै नआउनु) 
  • आकर्षक ब्याजदर नहुनु (बैंक तथा वित्तीय संस्था र सहकारीको तुलनामा कम ब्याजदर हुनु)
  •  रेमिट्यान्सको ठूलो हिस्सा घरजग्गा र उपभोगमै खर्च हुनु ।