मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
चिनीकाजी महर्जन वडाध्यक्ष, काठमाडौं महानगरपालिका–२२
२०७६ भदौ २४ मंगलबार ०७:०३:००
Read Time : > 2 मिनेट
अन्तर्वार्ता

धरहरा निर्माणमा स्थानीयको विरोध छैन

हाम्रा प्रतिनिधि

Read Time : > 2 मिनेट
२०७६ भदौ २४ मंगलबार ०७:०३:००

भूकम्पबाट ध्वस्त धरहरा पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी ओली आफैँ अघि बढे । ओलीले भूकम्पबाट ध्वस्त संरचना पुनर्निर्माणको उद्घोषसमेत धरहराबाटै गरे । धरहरा पुनर्निर्माणका लागि नागरिकस्तरबाट समेत चन्दा संकलन गरियो । तर, ध्वस्त भएको ४ वर्ष बितिसक्दा पनि धरहरा बनेन ।

पटक–पटकको प्रयासपछि धरहराको जग बल्ल खन्न सुरु भयो । तर, यसैलाई लिएर विवाद पनि भयो । धरहरा पुनर्निर्माण र विवादका साथै पार्किङका विषयमा काठमाडौं महानगरपालिका– २२ का वडाध्यक्ष चिनीकाजी महर्जनसँग नयाँ पत्रिकाका टेकराज थामीले गरेको संवाद ।

धरहरामा निर्माणका विषयमा विरोधका स्वर सुनिएका छन् । खास समस्या केमा हो ? 
भूकम्पबाट धरहरा ध्वस्त भयो । त्यसलगत्तै निर्माणका विषयमा बहस चले । तर, ती अब विगतका विषय हुन् । अहिले धरहरा निर्माणका विषयमा कुनै विवाद छैन । स्थानीयको पूर्ण सहभागितमा धरहरा निर्माण हुँदै छ । तोकिएकै समयमा धरहरा पुनर्निर्माण सक्न स्थानीयको सबै खालको सहयोग हुनेछ । 

केही साताअघि कालो ब्यानरसहित निर्माणस्थलमै विरोध प्रदर्शन भएको थियो नि ? 
यहाँका स्थानीय सुन्धारा र न्युरोड आसपासका बासिन्दा हुन् । राजनीतिक रूपमा उनीहरूको नेतृत्व मैले गर्छु । हामीले धराहरा निर्माणको विषयमा कुनै विरोध गरेका छैनौँ  । जहाँसम्म कालो ब्यानर झुन्ड्याएर गरिएका प्रदर्शनका विषय छन् । ती यहाँका स्थानीय होइनन् । उनीहरू सबै बाहिरिया हुन् । उनीहरूले हाम्रो विषयलाई लिएर प्रदर्शन गर्न जरुरी  छैन । किनकि, यहाँको सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक पक्षको बारेमा हामी जानकार छौँ । उनीहरू होइनन् । धरहरा हाम्रो सोसियो–इकोनोमिक पक्षसँग जोडिएको छ । त्यसैले, यसको माया उनीहरूलाई भन्दा हामीलाई धेरै छ । चासो राख्नेसम्मका विषय जायज हुन् । 

धरहराको जग नै  कमजोर भएको विषयमा भएको विरोध जायज होइन र ?
कर्णालीको विकट ठाउँमा हुँदै गरेको संरचना होइन– धरहरा । सबैको आँखा पुग्ने ठाउँमा संरचना तयार हुँदै छ । यसको जग ठीक छ कि छैन, जगमा सिमेन्ट कति हालियो, रडको मापदण्ड के भन्ने विषय नजिकै बसेर नियाल्न सकिन्छ । निर्माणस्थल सिंहदरबारबाट एक किमि मात्रै टाढा छ । जनप्रतिनिधिको रूपमा म आफैँ पनि निर्माणस्थलमा निरीक्षणमा खटिएको छु । केही दिनअघि मात्रै पनि भ्रष्टाचारविरुद्धको एउटा संस्थाबाट निरीक्षणका लागि प्राविधिक टोली आएको थियो । यस्ता टोली अरू पनि आउने गरेका छन् । यी सबैको आँखा छलेर बदमासी गर्न सजिलो छैन । त्यसो हुुँदा धरहरा निर्माण बलियो ढंगले नै भइरहेको छ । यसमा शंका गर्नुपर्ने कुनै कारण छैन । 

धरहरा पुनर्निर्माणका क्रममा स्थानीयले उपभोग गर्दै आएको ऐतिहासिक महत्वको उपाकु बाटो मिचियो भन्ने विषय पनि सतहमा आयो । खासमा भएको के हो ?  
तीन अर्ब ५० करोड रुपैयाँमा भूकम्पबाट ध्वस्त धरहरा हाम्रो वडामा बन्नु गौरबको विषय हो । जहाँसम्म स्थानीयले उपभोग गर्दै आएको बाटो मिचिएको प्रसंग छ । त्यो साबिकको टक्सार कार्यालय भएको क्षेत्रमा हो । त्यसवेला टक्सारले नै त्यो बाटो मिचेको थियो । विरोधपछि हामीले बाटो फिर्ता पायौँ । त्यसरी फिर्ता भएको बाटो अहिले मिच्ने प्रश्नै आउँदैन । यदि मिचियो भने पनि फिर्ता ल्याउँछौँ । यसमा बाहिरियाले बोल्ने ठाउँ छैन ।

चाडपर्व नजिकिँदो छ । व्यापारको केन्द्र न्युरोड हो । सर्वसाधारणको सुविधाका लागि वडा तहका भइरहेका नयाँ योजना के छन् ? 
व्यापारको केन्द्र न्युरोड हो । स्वभाविक रूपमा यहाँ आवागमन धेरै हुन्छ । त्यसो हुँदा सवारीसाधनको जामबाट हैरानी खेप्नुपर्ने यहाँको विगतदेखिको समस्या हो । यसपटक यसलाई न्यूनीकरण गर्न हामीले ट्राफिक प्रहरीसँग समन्वय गरेका छौँ । यहाँको अव्यवस्थित पार्किङलाई हटाउनेछौँ । वान वे प्रणालीलाई व्यवस्थित गरेका छौँ । यसले निश्चय पनि उपभोक्तालाई सुविधा पुग्नेछ । 

न्युरोडमा सुरु गरिएको निजी–साझेदारी स्मार्ट पार्किङ निजीभन्दा किन महँगो गर्नुभयो ? 
न्युरोड क्षेत्रमा स्मार्ट पार्किङ सुरु गरिएको छ । यसबापत उपभोक्ताले शुल्क तिर्नुपर्छ  । सबै क्षेत्रबाट यसरी लिइएको शुल्क महँगो भएको गुनासो छ । यो जायज पनि हो । किनकि १५ अर्ब वार्षिक बजेट भएको महानगरपालिकालाई पार्किङ शुल्क उठाउनुपर्ने कुनै बाध्यता छैन । यसमा हाम्रो एउटै उद्देश्य फुटपाथमा सवारीसाधन पार्किङलाई दुरुत्साहन गर्नु नै हो । त्यसैले, शुल्क महँगो भएको हो । हामीले केही रकम घटाएका पनि छौँ । अब पनि घटाउने पक्षमा छौँ । निकट भविष्यमा पार्किङ शुल्क अझ सस्तो हुन्छ ।

न्युरोडमा बहुतले पार्किङ बनाउने योजना किन ढिला भइरहेको छ ? 
हाम्रो वडामा ३४ वटा व्यापारिक कम्प्लेक्स छन् । तर, पार्किङ कम्प्लेक्स छैनन् । यसैका लागि आठ वर्षदेखि न्युरोडमा बहुतले पार्किङ बनाउने भन्दै आइयो । तर, पूरा भएन । जनप्रतिनिधि नभएर पनि यस्तो भएको हो । तर, अब त्यस्तो हुँदैन । अबको तीन महिनापछि न्युरोडको खाली जग्गामा बहुतले पार्किङ निर्माण सुरु हुनेछ । यो मेरो प्रतिबद्धता हो ।