हिमाल हेर्न बोलाउँछौँ अनि त्यही हिमाल छेक्छौँ

२०७६ भदौ २३ सोमबार ११:१२:००

तीर्थ श्रेष्ठ,कवि

पोखरामै जन्मे–हुर्केर कर्मथलो बनाएका संस्कृतिविद् तथा कवि तीर्थ श्रेष्ठ यहाँको विकासका साक्षी पनि हुन् । यहाँको प्रकृतिसँग रम्दै यहीँको माहोलमा उनले कलम चलाउँदै आएका छन् । उनले भोगे/देखेका पोखराको विषयमा गरिएको संवाद 

बाल्यकालमा देखेको पोखराका ढुंगा छापेको सडकमा खच्चड, गोरुगाडा र तीनवटा जिप चल्थे । पछि केही निजी गाडी र ट्याक्सी आए । विन्ध्यवासिनी मन्दिरआसपासमा नौ नम्बरको ढ्वाङ राख्थे, जुन आजकालको माइक्रोबसभन्दा केही ठूलो हुन्थ्यो । युवराजजंग शाहले एउटा रुसी जिप ल्याएका थिए, जसको अगाडिको भागमा बाघको आकृति थियो । त्यसलाई हामी बाघछापे जिप भन्थ्यौँ । ०२१/२२ सालदेखि ०२६/२७ सालसम्म यहाँ ठूलो उद्योगका रूपमा सलाई कारखाना थियो ।

हवाईमैदान यहाँको आकर्षण थियो । जहाज उडेको हेर्न पनि धेरै मानिस जम्मा हुन्थे । राजा र रानीको जन्मदिन, प्रजातन्त्र दिवसलगायत कार्यक्रम पुरानो टुँडिखेलमा हुन्थ्यो । साइनिङ र अर्को एउटा गरी दुईवटा अस्पताल थिए । अहिलेको पृथ्वीनारायण क्याम्पसअगाडि, टुँडिखेल र फूलबारी ब्यारेकमा फुटबल मैदान थिए । फुटबल पोखरेलीको प्यारो खेल थियो । विन्ध्यवासिनी र भद्रकालीमा दसैँको नवरात्रमा मानिस हुल बाँधेर मध्यरातसम्म चहार्थे ।

दसैँअगाडि धुपौरो बाल्थे, डमरु बजाउँथे र मालश्री धुन बज्थ्यो । ब्राह्मण समुदायले निकाल्ने बालननाच निकै लोकप्रिय थियो । नेवार समुदायका तायमचा र भैरवनाच हेर्न गाउँ–गाउँबाट मानिस आउँथे । पोखरामा कृषियोग्य जमिन थिए । फेवा, कुँडहर, बिरौटा र विन्ध्यवासिनीवरिपरिका फाँटले पोखरालाई खाद्यान्नमा आत्मनिर्भर बनाएको थिए । पोखरामा काउली र बन्दा फल्दैनथे । टुसा, निगुरो, काफल, ऐँसेलुलगायत तरकारी र फलफूल बाहिरबाटै आउँथे । हामी केटाकेटी छँदा नै टोलटोलमा पानीको व्यवस्थापन भइसकेको थियो । टोलका धारामा मध्यरातदेखि नै महिलाहरू पानी भर्न लाम लाग्थे ।

पोखरा राजकृपाबाट स्थापना भएको सहर हो, संघर्षबाट स्थापित होइन । भारतको सीमा जोड्न सिद्धार्थ राजमार्ग बन्यो भने राजधानी काठमाडौं जोड्न पृथ्वी राजमार्ग । ०१४ सालमा राजा महेन्द्रले आफ्नी पत्नीको नाममा रत्न मन्दिर बनाए । विसं. १९५८ मा राजकीय संस्कृत प्रधान पाठशाला खुलेको थियो, जुन अहिलेको संस्कृत मावि हो । त्यसपछि बाटुलेचौर, बाराही स्कुल र भारतीय पेन्सनरका परिवारका लागि अमरसिंह मावि खुले ।

पोखराले हिमाल हेर्न पर्यटक बोलाउँछ अनि पोखरेली आफैँले अग्ला घर बनाएर हिमाल छेकेका छन् । फेवातालमा ६५ मिटरको मापदण्ड सुरुदेखि नै कायम राख्न सकेको भए त्यही क्षेत्रमा पर्यटकलाई तीन दिन घुमाउन सकिन्थ्यो ।

००८ सालमा यहाँका उद्योगी÷व्यापारीले पोखरा व्यापार संघ स्थापना गरे, जसले ०११ सालमा वैधानिकता पायो । बिपी कोइराला र गणेशमान सिंह जहाज चढेर आएपछि पोखरा विमानस्थलले चर्चा पायो । ०१५ सालमा क्याम्पस स्थापना भयो । बडा हाकिम आए, सेना आयो । तिनीहरूलाई गाडी चाहियो र बिस्तारै गाडीको संख्या बढ्यो । पहिले मोटरसाइकल आए र अनि बल्ल साइकल आयो । यसरी हेर्दा पहिले साइकल आउनुपर्नेमा पोखरामा जहाज आयो ।

भारतीय र ब्रिटिस क्याम्प र पुस्तकालय स्थापना हुनुले चेतनाको विकास सहज भयो । पोखरामा पठन संस्कृतिको विकासका निम्ति ती पुस्तकालयको महŒवपूर्ण योगदान छ । विसं. १९९० को दशकमै केआइसिंह पुलनजिक पण्डित पुस्तकालय स्थापना भएको थियो । त्यसका लागि गुठीको समेत व्यवस्था गरिएको थियो । भारतीय र ब्रिटिस सेनाबाट अवकाश पाएकाहरूले आफ्ना सन्तानलाई पढाउन पोखरा ल्याउन थाले । अनि यतै घर बनाएर बस्न थाले ।

पोखराबाट सुर्खेत राजमार्ग निर्माण हुँदै थियो । तर, त्यो बाग्लुङसम्म पुगेर रोकियो । त्यो राजमार्गको निर्माण सकिएको भए मध्यपश्चिम र सुदूरपश्चिमसँग पोखरा सीधा जोडिन्थ्यो । पोखराको पर्यटनलाई यसले अझ व्यापकता दिन्थ्यो । हामी त्यसअघि जंगबहादुरकै पालामा नराम्ररी चुक्यौँ । भाइभारदारसहित आउँदा उनले पोखराका लागि लिफ्ट प्रविधिबाट सिँचाइको योजना बनाएका थिए । त्यसबाट विद्युत् उत्पादन गर्ने योजना थियो । प्रविधि र प्राविधिक झिकाउन सुरु भइसकेको थियो । त्यतिवेलाका पण्डितले विदेशी बोलाउँदा धर्म नाश हुन्छ भनिदिए र त्यो योजना अगाडि बढेन ।

पोखरा–पामे सडकको योजना पोखरा नगर विकास समितिका प्लानर पदमबहादुर खत्री र तत्कालीन अञ्चलाधीश शंकरप्रसाद पाठकले उतिवेलै तयार पारेका हुन् । अहिले त्यो सडकक्षेत्र रेस्टुराँले भरिएका छन् । रामकृष्ण टोलदेखि विन्ध्यवासिनीसम्मलाई सम्पदाक्षेत्र घोषणा गर्नुपथ्र्यो, जसमा हामी चुक्यौँ । महेन्द्रपुललाई अस्तव्यस्त बनायौँ । हुलाक घरलाई अन्डरग्राउन्ड पार्किङ, रूफटप गार्डेनका रूपमा विकास गर्न चुक्यौँ ।

हामीले पोखराको ज्यानको नापो लिएका छैनौँ । जब नापो नै छैन भने यसलाई चाहिने आकारको कमिज, टोपी, कोट केही सिलाउन सक्दैनौँ ।

पोखराले हिमाल हेर्न पर्यटक बोलाउँछ अनि हामी पोखरेली आफैँले अग्ला घर बनाएर हिमाल छेकेका छौँ । हामीले प्रकृतिसँग तालमेल नै मिलाएनौँ । नगर विकासको योजनाअनुरूप फेवातालमा ६५ मिटरको मापदण्ड सुरुदेखि नै कायम राख्न सकेको भए त्यही क्षेत्रमा पर्यटकलाई तीन दिन घुमाउन सकिन्थ्यो । अर्को पक्ष, पोखराको विषयमा जानेका गाइडसमेत छैनन् यहाँ ।

अहिले कुना–कन्दराका गाउँ पनि पोखरा महानगरभित्र परे । सपनामा नगरपालिका पनि नदेखेका एक्कासी विपनामै महानगरका बासिन्दामा रूपान्तरण भएका छन् । अब उनीहरूलाई महानगरले पाउने सेवासुविधा दिन हामीसँग योजना छन् त ?पानीबाट परिवेष्टित पोखरामा खानेपानीकै अभाव छ । यति राम्रो पर्यटकीय गन्तव्यमा मिनरल वाटर, ट्यांकरको पानी वितरण भइरहेको छ । यो लाजमर्दो कुरा हो । धवलशमसेरले आफ्ना छोरा बालशमशेरको नामबाट बालधारा बनाइदिए । तर, धाराका सबै पूर्वाधार नै नामेट भए ।

त्यसलाई ऐतिहासिक सम्पदाका रूपमा संरक्षण गर्नुपथ्र्यो । सय वर्षअघि नै पोखरामा खानेपानीको व्यवस्थित वितरण थियो । तर, अहिले त्यसप्रति गर्व गर्ने ठाउँ बाँकी रहेन ।
स्याङ्जाको मानिसलाई काठमाडौंमा कसैले घर कहाँ हो भनेर सोध्यो भने पोखरा भन्छ । पोखरामा कहाँ भनेर सोधेपछि मात्र उसले स्याङ्जा भन्छ । त्यसको अर्थ मोदी, मादी र आँधीको बीचको भाग पोखरा हो । तर, अहिले पोखराको परिचय रानीपौवा, महेन्द्रपुल, पार्दी, छोरेपाटन र बगरलगायतमा सीमित छ ।

त्यसै पोखराको बृहत्तर विकासमा अगाडि बढ्नुपर्छ । टी–सर्ट लगाएर आठ हजार मिटर अग्ला तीनवटा हिमाल एकसाथ देखिने संसारको एक मात्र सहर हो पोखरा । आठ हजार मिटर अग्लो हिमाल आरोहणको कथा पनि यहीँबाट सुरु भएको हो ।

पोखरासँग अपार जलसम्पदा छ । तर, यहाँ जलक्रिडा गर्न नभई ६५ प्रतिशत पर्यटक पदयात्राका लागि आउँछन् । हाइकिङमा जान पोखराआसपास अधिक ठाउँ छन् । तर, हामीले पोखराको ज्यानको नापो लिएका छैनौँ । जब नापो नै छैन भने यसलाई चाहिने आकारको कमिज, टोपी, कोट केही सिलाउन सक्दैनौँ ।