मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ २३ सोमबार ०८:३२:००
Read Time : > 2 मिनेट
सेयर बजार

१.०६ प्रतिशत घट्यो नेप्से

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ २३ सोमबार ०८:३२:००

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १ दशमलव शून्य ६ प्रतिशत घटेर बन्द भएको छ । गत साताको मंगलबार पुँजीगत लाभकर विवाद अन्त्य हुने अपेक्षाले बढेको बजार अन्तिम कारोबार दिन प्रोफिट बुकिङका कारण ओरालो लागेको थियो । लगानीकर्ताले यस दिन बजार बढ्ने अनुमान लगाएका थिए । तर, सोविपरीत बजार खुलेदेखि नै नेप्से ओरालो लाग्न थालेपछि लगानीकर्ता अन्योलमा परेका छन् ।

अहिले पुँजीबजार बढ्ने समय हो । कम्पनीहरूको सेयरमूल्य निकै सस्तिएको छ । साथै कम्पनीहरूले लाभांश घोषणा गरी पारित गर्न साधारणसभाको मिति पनि तोकिसकेका छन् । लगानीकर्ताले केही समयपछि नै लाभांश हात पार्न सक्छन् । त्यसैले यस्तो अवस्थामा कम्पनीहरूको विश्लेषण गरी सेयर खरिद गरे लाभ पाउन सक्ने एक विश्लेषकले बताए ।

गत साताको दुई कारोबार दिन नेप्से २४ अंकभन्दा बढी बढेको थियो । बिहीबार र आइतबार गरी नेप्से १६ अंक घटेको छ । त्यसैले यस दिन बजार ओरालो लाग्नुलाई केही विश्लेषकहरूले करेक्सनको संज्ञा दिएका छन् । यस दिन कारोबारको अन्तिम समयमा देखिएको सुधारले भोलि बजार बढ्ने संकेत गरेको एक लगानीकर्ताले बताए । 

 बजार सारांशः
आइतबार नेप्से परिसूचक १२ दशमलव ६१ अंक घटेर १ हजार १ सय ७८ दशमलव ४६ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन २ दशमलव ७७ अंक घटेर २ सय ५७ दशमलव १३ बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ८६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ८१ अंक घटेको छ । यस दिन १ सय ६५ कम्पनीको ५ हजार ६ सय ४० पटकको कारोबारमा ३० करोड ५३ लाख १० हजार ७ सय ७१ रुपैयाँबराबरको १ लाख १७ हजार ४ सय ९९ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

 प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ३१ दशमलव ७५ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 
एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव १९ रहेको छ । यसले नेप्से बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ६५ कम्पनीमध्ये २३ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १ सय २० कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २२ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

यस दिनको पिभट विश्लेषण गर्दा भोलि नेप्से ओरालो लागे पहिलो टेवा १ हजार १ सय ७२ दशमलव ४० बिन्दुमा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार १ सय ६६ दशमलव ३४ बिन्दुमा टेवा पाउने देखिन्छ । त्यसैगरी, भोलि बजार उकालो लागे नेप्सेले १ हजार १ सय ८८ दशमलव ४२ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार १ सय ९८ दशमलव ३८ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

 आँधीखोलाको  सेयरमूल्यमा सर्किट
यस दिन कारोबारमा आएको आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको सेयरमूल्य यस दिन १० प्रतिशत बढेर ४ सय ४४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । २२ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको जानकी फाइनान्सको सेयरमूल्य यस दिन ५ दशमलव २६ प्रतिशत बढेको छ ।

राधी विद्युत् कम्पनीको सेयरमूल्य यस दिन ४ दशलमव ४४ प्रतिशत बढेको छ भने अन्य कम्पनीहरूको सेयरमूल्य वृद्धिदर ३ प्रतिशतभन्दा कम रहेको छ । पाँचथर पावर कम्पनी र युनिभर्सल पावर कम्पनीको सेयरमूल्य यस दिन ८ प्रतिशतभन्दा बढी घटेको छ । सिन्धु विकास बैंकको सेयरमूल्य यस दिन ७ दशमलव ४० प्रतिशत र नेसलन लाइफ इन्स्योरेन्सको ६ दशमलव ८१ प्रतिशत घटेको छ । 
 
 सबै समूहको परिसूचक रातो
यस दिन कारोबारमा आएका सबै समूहको परिसूचक घटेर रातो भएको छ । निर्जीवन बिमा समूहको परिसूचक यस दिन सर्वाधिक २ दशमलव २१ प्रतिशत घटेको छ । जीवन बिमा समूहको परिसूचक यस दिन १ दशमलव ५९ प्रतिशत, जलविद्युत् समूहको १ दशमलव ३० प्रतिशत, अन्य समूहको १ दशमलव शून्य ६ प्रतिशत, वाणिज्य बैंक समूहको १ दशमलव शून्य १ प्रतिशत र विकास बैंक समूहको १ प्रतिशत घटेको छ ।

त्यसैगरी, उत्पादनमूलक समूहको परिसूचक शून्य दशमलव ५१ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ५० प्रतिशत, होटेल समूहको शून्य दशमलव ४७ प्रतिशत, म्युचुअल फन्ड समूहको शून्य दशमलव ४४ प्रतिशत र वित्त समूहको शून्य दशमलव शून्य ५ प्रतिशत घटेको छ । 

प्रभु बैंकको संस्थापक सेयर सर्वाधिक कारोबार
यस दिन वाणिज्य बैंकहरूको सेयर कारोबार अन्य कम्पनीहरूको तुलनामा बढी भएको छ । कारोबार रकमका आधारमा उत्कृष्ट १० कम्पनीहरूको सूचीमा ८ वाणिज्य बैंक रहेका छन् ।

यस दिन कारोबार रकम र सेयर संख्याका आधारमा प्रभु बैंक लिमिटेडको संस्थापक सेयर अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन ५ करोड २४ लाख ८० हजार रुपैयाँबराबरको ३ लाख २३ हजार ९ सय ५१ कित्ता संस्थापक सेयर खरिद–बिक्री भएको छ ।

त्यसैगरी, एनआइसी एसिया, प्रभु बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार रकम १ करोड नाघेको छ । कारोबार संख्याका आधारमा यस दिन रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युत् कम्पनी क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । रसुवागढीको यस दिन ३ सय ६२ पटक र सान्जेनको ३ सय १८ पटक सेयर कारोबार भएको छ ।