१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २३ सोमबार ०६:१८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

चिनियाँ विदेशमन्त्री वाङ काठमाडौंमा

आज राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २३ सोमबार ०६:१८:००

चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका छन् । साँझ करिब ६ बजे विशेष विमानबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका विदेशमन्त्री वाङलाई स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव र परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरे ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा तीनदिने भ्रमणको सिलसिलामा १२ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आएका हुन् । उनको भ्रमणलाई अर्को महिना हुन सक्ने भनिएको चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको पूर्वतयारीका रूपमा हेरिएको छ । 

यस्तो छ विदेशमन्त्री वाङको आजको कार्यक्रम 
सोमबार (आज) दिनभर विदेशमन्त्री वाङ भेटवार्तामा व्यस्त हुने भएका छन् । सोमबार अपराह्न साढे ३ देखि साढे ४ सम्म होटेल याक एन्ड यतीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र वाङबीच द्विपक्षीय औपचारिक भेटवार्ता हुनेछ ।

भेटमा चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई), चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसलगत्तै विदेशमन्त्री वाङले क्रमशः प्रधानमन्त्री केपी ओलीसँग ४५ मिनेट तथा राष्ट्रपति विद्यादेवी भण्डारीसँग ४० मिनेट भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चिनियाँ राष्ट्रपतिको सम्भावित नेपाल भ्रमणको एजेन्डा तय गर्नुका साथै सुरक्षा व्यवस्थामा केन्द्रित रहेर छलफल गर्ने तयारीका साथ विदेशमन्त्री वाङ काठमाडौं आएको उच्च स्रोतले जनाएको छ । 

परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय भेटवार्तामा तातोपानी र केरुङ नाकाका अध्यागमनमा सहजता, रसुवाको टिमुरेमा बनाइने ड्राइपोर्टलगायत भौतिक संरचना, सीमापार रेलमार्ग निर्माणलगायत विषयमा छलफल हुने बताइएको छ । चिनियाँ राष्ट्रपति सीको अघिल्लो कार्यकालमा पनि विदेशमन्त्री रहेका वाङ यसअघि सन् २०१४ मा नेपाल आएका थिए ।

सोमबार रात्रिभोज
परराष्ट्रमन्त्री ज्ञवालीले समकक्षी वाङको सम्मानमा सोमबार साँझ रात्रिभोज आयोजना गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रात्रिभोजमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, दुवैतर्फका कूटनीतिक नियोगका प्रमुखलगायत अधिकारी सहभागी हुने जनाइएको छ ।

सोल्टीमा वास, दूतावासको ब्रिफिङ
काठमाडौं उत्रिएलगत्तै  विदेशमन्त्री वाङको टोली होटेल सोल्टी क्राउन प्लाजा पुगेको थियो । उनले दुई रात यही होटेलमा बिताउनेछन् । चिनियाँ दूतावास स्रोतका अनुसार विदेशमन्त्री वाङलाई सोमबार र मंगलबारको औपचारिक र अनौपचारिक भेटघाटको कार्यक्रमबारे ‘ब्रिफिङ’ गरिएको छ ।