मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ भदौ २२ आइतबार ११:२६:००
Read Time : > 1 मिनेट
नयाँCity

स्कुटर चढ्दा चिसो हावा होइन पसिना आउँछ

सांसद रंगमती शाहीको स्कुटी अनुभव

Read Time : > 1 मिनेट
२०७६ भदौ २२ आइतबार ११:२६:००

संघीय संसद्को विकास तथा प्रविधि समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीलक्षित अभिव्यक्ति दिएपछि एकाएक चर्चामा आइन्, नेपाली कांग्रेसकी समानुपातिक सांसद रंगमती शाही । उनी हुम्लाकी स्थायी बासिन्दा हुन्, जहाँ अधिकांश ठाउँमा पुग्नुपर्दा पैदलयात्राको विकल्प छैन । देशका अन्य क्षेत्रबाट हुम्ला जानु परे पनि हवाईयात्रा नै सहज हुन्छ ।

असार तेस्रो साता समितिको बैठकमा उनले ‘प्रधानमन्त्री चढ्ने कालो सिसाको गाडीबाट धुलो देखिँदैन, धुलो हेर्न मेरो स्कुटरमा चढेर वनस्थलीसम्म जाऊँ प्रधानमन्त्रीज्यू’ भनेर व्यंग्य कसेकी थिइन् । सोही सेरोफेरोको एक कार्यक्रममा ओलीले आफू प्रधानमन्त्री बनेपछि धुलोसँगै मास्क लगाउनेको संख्या पनि घटेको दाबी गरेका थिए । ‘जस–जसले मास्क लगाउँछन्, उनीहरू सरकारविरोधी पार्टीका मान्छे हुन्,’ प्रधानमन्त्रीले भनेका थिए ।

‘बाइक र स्कुटर चलाउँदा हावाले चिसो बनाउनुपर्नेमा उल्टै खलखली पसिना पो आउँछ । सडकका खाल्डा छल्नै गाह्रो । एक त जाम, त्यसैमाथि खाल्डो, धुलो र धुवाँ ।’

त्यसपछि नै हो, शाहीले ‘स्कुटरवाली सांसद’को परिचय पाएकी । ‘मेरो जिल्लामा सडक नै छैन, स्कुटर चलाउन पाइने कुरा नै भएन, त्यसैले स्कुटर सिक्नतिर रुचि लिइनँ,’ शाही भन्छिन्, ‘काठमाडौं आएपछि आवश्यक प¥यो र ६ महिनायता राजधानीका सडकमा स्कुटरमा हुइँकिइरहेकी छु ।’ आफूले स्कुटर सिक्नुअघि स्वकीय सचिवको भर पर्नुपथ्र्यो, उनलाई । संसद्देखि सिंहदरबारसम्म लैजाने÷ल्याउने काम स्वकीय सचिवले नै गर्थे । तर, आफैँले चलाउँदा सहज हुने बुझिन् र डेरा नजिकको ट्रायल सेन्टरमा जान थालिन् । सिक्नेबित्तिकै स्कुटर किनिन् । सातादिनमै उनी स्कुटर चलाउने भइसकेकी थिइन्, सिक्नासाथ लाइसेन्स झिकिन् र सडकमा उत्रिइन् । भन्छिन्, ‘२०–२५ वर्षअघि नेपालगन्ज बस्दा साइकल चलाउँथे । त्यसैले स्कुटर सिक्न सजिलो भयो ।’

स्कुटरमा हिँड्न उनलाई निकै सजिलो लाग्छ । उपत्यकाभित्र जुनसुकै ठाउँमा पनि उनी स्कुटरमै पुग्छिन् । हालसम्म करिब ३३ सय किलोमिटरको यात्रा तय गरिसकेकी छिन्, स्कुटरमा । उनको अनुभवमा स्कुटरले समयमै गन्तव्यमा पुग्न सघाए पनि राजधानीका सडक दुईपांग्रेमैत्री छैनन् । ‘बाइक र स्कुटर चलाउँदा हावाले चिसो बनाउनुपर्नेमा उल्टै खलखली पसिना पो आउँछ । सडकका खाल्डा छल्नै गाह्रो । एक त जाम, त्यसैमाथि खाल्डो, धुलो र धुवाँ,’ उनी दिक्दारी प्रकट गर्छिन् ।

वनस्थली बस्ने सांसद रंगमती शाही पानी पर्दा बीचसडकमा जमेको पानी नदीजस्तै गरी तर्छिन् । कोठानजिकको खाल्डो तर्न कसैले सहयोग मागे ‘लिफ्ट’ पनि दिन्छिन् ।

उनको भनाइमा चक्रपथभित्र मात्र होइन, बाहिर पनि खाल्डा–खुल्डी र प्रदूषण उस्तै छ । वनस्थली बस्ने उनी पानी पर्दा बीचसडकमा जमेको पानी नदीजस्तै गरी तर्छिन् । कोठानजिकको खाल्डो तर्न कसैले सहयोग मागे ‘लिफ्ट’ पनि दिन्छिन् । स्कुटरलाई त स–साना खाल्डाले पनि समस्या पार्छन् । मास्कविना उनी बाहिर हिँड्नै सक्दिनन् । सडकमा गुड्दाको सकस व्यहोरिरहेकी उनी प्रधानमन्त्री ओलीबाट धुलो–धुवाँ नियन्त्रण र मास्करहित वातावरणको कुरा सुन्दा आक्रोशित भइन् । ‘आफू एसी भएको गाडीभित्र बसेर प्रधानमन्त्रीले त्यसो बोल्न नहुने हो,’ उनले समितिको बैठक सम्झिइन्, ‘त्यो दिन समितिमा यातायात मन्त्रालयका सचिवले १५ हजार किलोमिटर बाटो सुधार भयो भन्नुभयो । राजधानीकै हालत हामीले देखेका छौँ । उहाँको र प्रधानमन्त्रीज्यूको अभिव्यक्तिमा चित्त नबुझेपछि मैले आक्रोश पोखेकी हुँ ।’