मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
झुमा लिम्बु, गायिका
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २२ आइतबार १०:५०:००
Read Time : > 1 मिनेट
सप्तरंग

संगीत मजाक होइन : झुमा लिम्बु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २२ आइतबार १०:५०:००

रैथाने संगीतमा हामीले भर्खर काम सुरु गरेका छौँ । त्यही बाटो पछ्याएर नयाँ पुस्ता अगाडि बढ्ने हो । अहिलेको पुस्ता सबै रक, ब्याटलतिर मात्र अल्झिएका छैनन् । संगीतलाई गहिरोसँग बुझ्न खोज्ने पनि छन् । 

यो इथ्निक संगीतको कुराचाहिँ जब संसारभर पहिचानको संकट प¥यो, त्यसपछि आएको हो । आफ्नो परिचय र जराको खोजी गर्ने क्रममा इथ्निक संगीतको कुरा आएको हो । रक, पपमा अल्झने निश्चित उमेर हुन्छ । म पनि नवीन के भट्टराईको गीत सुनेर हुर्किएकी हुँ । 

लोक अर्थात् रैथाने संगीतको कुरा गर्दा नयाँ पुस्ता पनि आइरहेका छन् । एकै कार्यक्रममा तीनवटासम्म पप विधामा अवार्ड थापेका लोचन रिजाल आज लोकगीततिर लागिरहेका छन् । सुरुमा रकबाटै आएको जेसन कुँवरजस्ता प्रतिभावान् गायक गाउँतिर गएर संगीत खोजिरहेका छन् । 

जब मानिसलाई पहिचानमा संकट पर्छ, उसले आफ्नो ठाउँबाट जराको खोजी गर्ने हो । जोसँग जस्तो क्षमता छ, उसले त्यही क्षमताबाट खोज्ने हो । हामीले गरिरहेको संगीत नै हाम्रो आवाज हो । 

नेपाली संगीतमा खोइ त हाम्रो आवाज ? कहाँ छ हाम्रो आवाज ? कस्तो हुन्छ हाम्रो आवाज ? त्यही आवाजको खोजी हो, हाम्रो । हाम्रो पहिचान भएको आवाजको खोजी हो । यसो भन्दै गर्दा व्यावसायिकताको पनि कुरा आउँछ । त्यहाँसम्म पुग्न समय लाग्छ । 

अहिलेको संगीतको बजार र व्यावसायिकताको कुरा अर्कै हो । रैथाने संगीतको ठाउँ अर्कै हो । व्यावसायिकता भनेको संगीतलाई प्रयोग गरेर आफू बाँच्ने हो ।

हामीले अहिले मुन्धुममा काम गरिरहेका छौँ । त्यो पनि हाम्रो काम कच्चा पदार्थको रूपमा हो । एउटा फलामजस्तो, जसलाई हतियार बनाउन समय लाग्छ नै । आउने पुस्ताले त्यसलाई झनै मजाले लिएर जाने हो । यसरी आउने अर्को–अर्को पुस्तालाई काम गर्ने वातावरण राम्रो हुँदै जान्छ । 

हामी मुन्धुममा काम गरिरहेका छौँ । अन्य समुदायका मानिस पनि संगीतमा छँदैछन् । हरेक समुदायको मान्छेलाई आफ्नो संगीतको माया त छँदैछ । त्यसका लागि चाहिँ संगीत पढ्नुप¥यो । म्युजिकोलोजी पढ्नुप¥यो । 

अहिलेको संगीतको बजार र व्यावसायिकताको कुरा अर्कै हो । रैथाने संगीतको ठाउँ अर्कै हो । व्यावसायिकता भनेको संगीतलाई प्रयोग गरेर आफू बाँच्ने हो । आफू बाँच्ने र परिवार बचाउने संगीत पनि चाहिन्छ । तर रैथाने, आफ्नो अस्तित्व र पहिचान जोडिएको संगीत पनि मर्न हुन्न । यसका लागि इच्छाशक्ति ठूलो कुरा हो, संगीतकै लागि काम गरौँ भन्ने मानिस निकै कमै हुन्छन् । 

अझ, अहिलेको पुस्ताले पहिलेको पुस्ताजसरी साधना गर्न सक्दैन । अधिकांशलाई दुई–चार वर्ष संगीत सिकेपछि पुग्यो भन्ने लाग्छ । पहिलेको पुस्ता आफैँ गीत लेख्न, पढ्न, आफूले गरेको संगीतमाथि न्याय दिएर बोल्न सक्थे । अहिलेको पुस्ता कसलाई कति राम्रो देखियो, कसको गीत कति सुनियो भन्ने कुरामा अल्झिएको छ । संगीतलाई गम्भीर रूपमा लिनुपर्नेमा कतिपयले मजाक ठानिरहेका छन् । तर, सबैले होइन । अहिले यसरी अल्झिएकाहरू पनि एक दिन रैथाने संगीतमै फर्किनेछन्, जब उनीहरूलाई पहिचानको संकट पर्नेछ ।