मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ भदौ २२ आइतबार १०:३४:००
Read Time : > 1 मिनेट
नयाँCity

व्यावसायिकता अभावमा फिल्म चलाउन हानथाप

Read Time : > 1 मिनेट
२०७६ भदौ २२ आइतबार १०:३४:००

फिल्म निर्माण गर्न जति सजिलो छ, प्रदर्शनका लागि काट्नुपर्ने चक्कर त्यसभन्दा बढी चुनौतीपूर्ण छ । निरन्तर हिट फिल्म दिएका निर्मातालाई हलसम्म फिल्म पुर्‍याउन अनेक चुनौती पार गर्नुपर्ने गुनासा सुन्न पाइन्छन् । हास्यअभिनेता दीपकराज गिरीका फिल्म आउँदा अन्य निर्माता र निर्देशकले हल खोसिएको आरोप लगाउने गर्छन् । हलसम्म फिल्म पुर्‍याउन किन गाह्रो छ ? गिरीले आफ्ना अनुभूति यसरी साटे :

नेपाली सिने क्षेत्रमा व्यावसायिकता एकदमै कम छ । निर्माताको मनोविज्ञान पैसा कमाउने मात्रै भयो । तर, कस्तो फिल्म दिएर पैसा कमाउने भन्ने सोच आवश्यक देखिन्छ । आफूले बनाएको फिल्मबाट आफ्नो नातिले पनि मनोरञ्जन लिन पाऊन् भन्ने उद्देश्य हुनुपर्छ । ‘वान टाइम मेकिङ’बाट पैसा कमाउने सोच निर्मातामा भएपछि फिल्म चलाउन हानाथाप हुनु स्वाभाविकै हो । वितरकहरूमा हिन्दी सिनेमाकै मोह देखिन्छ । नेपाली फिल्मबारे उनीहरू कहीँ कतै बोल्दैनन् ।

हरेक साता दुई–तीनवटा फिल्म चलाउने सोच वितरकहरूको हुन्छ । तर, बलिउडमा सलमान खानको फिल्म आयो भने बाँकी फिल्म रोकिन्छन् । हाम्रोमा त्यसभन्दा विपरीत अवस्था छ । दीपक÷दीपाको फिल्म आयो भने जानीजानी अरूले फिल्म जुधाउन थाल्छन् । दीपक÷दीपाको फिल्म हेर्न आउने दर्शक आफ्नो फिल्ममा पनि आकर्षित हुन्छन् भन्ने मानसिकता कतिपय निर्माताको देखिन्छ । यिनै कारणले रिलिजको समयमा झमेला हुने गर्छ । हामी व्यावसायिक हुन सकेका छैनौँ भन्ने उदाहरण हो, यो ।

मैले आगामी फिल्मको रिलिज मिति नै सारेँ । किनभने, झमेलामा फसियो भने हल पाउन गाह्रो हुन्छ । नेपाली फिल्म बनाउन सजिलो छ, तर चलाउन धेरै पापड बेल्नुपर्छ । हल ओगटेको आरोप लगाउन पनि पछि पर्दैनन् ।

व्यावसायिक फिल्म निर्माताले कसैसँग इगो राख्दैन । जसले इगो राख्छन्, उनीहरूका फिल्मले घाटा व्यहोर्छन् । फिल्म राम्रो छ भने जहिले चलाउँदा पनि राम्रै व्यापार हुन्छ, दर्शक हलमा आउँछन् ।

म व्यावसायिक फिल्म निर्माता हुँ, कसैसँग इगो राख्दिनँ । जसले इगो राख्छन्, उनीहरूका फिल्मले घाटा व्यहोर्छन् । फिल्म राम्रो छ भने जहिले चलाउँदा पनि राम्रै व्यापार हुन्छ, दर्शक हलमा आइहाल्छन् । मेरो फिल्म दसैँमा पनि चल्छ भन्ने आरोप लगाइने गरेको छ । तर, हाम्रो फिल्म राम्रो हुन्छ भनेर वितरकदेखि हल सञ्चालकसम्मले दसैँआसपासकै मिति दिन्छन् ।

छक्कापन्जा–३ चलेको एक वर्ष भयो । तर, अझै केही पैसा उठाउन सकिएको छैन, कतै हलवालाले दिएका छैनन्, कतै वितरकले । हामीले झगडा गर्ने कुरा भएन । ‘दीपकजी तपाईंलाई के पैसा चाहिन्छ र,’ हलसञ्चालकहरूले ठट्टा गर्छन्, ‘तपाईंको अर्को फिल्म आएपछि दिउँला नि ।’ निरन्तर फिल्म बनाउनेको त यो हालत छ भने एउटा फिल्म बनाएर कमाउँछु भन्ने सोचले कहिल्यै व्यावसायिक बन्न सकिँदैन । ‘छक्कापन्जा’ मात्रै चलेर फिल्म क्षेत्र व्यावसायिक हुँदैन । मेरो मात्रै फिल्म हिट होस् भन्ने अपेक्षा पनि होइन । वर्षमा कम्तीमा पाँचवटा फिल्म सुपरहिट हुनैपर्छ । त्यसका लागि सकेसम्म फिल्म नजुधून् । स्वस्थ प्रतिस्पर्धाको व्यावसायिक वातावरण तयार होस् । तर, एउटा फिल्म बनाएर पलायन हुनुपर्ने वातावरण छ । जबसम्म पूर्ण व्यावसायिक वातावरण तयार हुँदैन, तबसम्म फिल्म चलाउनदेखि पैसा उठाउनसम्म ठूलो खिचातानी भइरहन्छ ।