मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ भदौ २२ आइतबार ०९:२४:००
Read Time : > 2 मिनेट
अर्थ

निगमले परीक्षण नगरी पठायो हिलोजस्तै लेदो डिजेल 

Read Time : > 2 मिनेट
२०७६ भदौ २२ आइतबार ०९:२४:००
  • २० हजार लिटर डिजेल बोकेको ट्यांकरले ज्ञानेश्वर र सानो गौचरनको पम्पमा झार्ने क्रममा लेदो भेटिएको हो 
  • रक्सौलबाट आएको ट्यांकर थानकोट डिपोमा परीक्षण नगरी पम्प पठाइयो 
  • थानकोट डिपो भन्छ– इन्धन परीक्षण गरेका थियौँ, चालकको दोष हो, उसैबाट भर्पाइ गर्छौँ 

नेपाल आयाल निगमको थानकोट डिपोले रक्सौलबाट लेदो मिसिएर आएको इन्धन परीक्षण नै नगरी सोझै पम्पमा पठाउने गरेको पाइएको छ । गत बुधबार ट्यांकरबाट ल्याइएको डिजेल राजधानीका दुई पम्पको भूमिगत ट्यांकीमा खसाल्नुअघि चेकजाँचका लागि बाल्टीमा झिकेर हेर्ने क्रममा लेदो मिसिएको भेटिएपछि निगमले परीक्षण नगर्ने गरेको खुलासा भएको हो । 

पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको बाग्मती अञ्चलकका अध्यक्ष अच्युत खड्काका अनुसार ट्यांकर ना.४ ख ५१७२ नम्बरको ट्यांकरले ज्ञानेश्वरको भ्याली फ्युल सेन्टर र गौचरन पम्पमा खसालेको डिजेल लेदोयुक्त भेटिएको हो । ‘भ्याली फ्युल सेन्टरमा १ सय ८० लिटर र सानो गौचरनमा १ सय ४८ लिटर डिजेलमा लेदो पाइयो,’ उनले भने, ‘दुवै पम्पले बाल्टीमा तेल हालेर चेकजाँच गर्न खोज्दा लेदो झरेपछि भूमिगत ट्यांकीमा तेल हालिएन ।’ साधारणतया ट्यांकरले तेल झार्नुअघि पम्प सञ्चालकले बाल्टीमा तेल झारेर हेर्ने चलन छ । 

२० हजार लिटर डिजेल बोकेको ट्यांकर ज्ञानेश्वर झर्नुअघि कलंकीका तीन पेट्रोलपम्पमा डिजेल खसालेको थियो । त्यहाँको डिजल पनि लेदोयुक्त भएको आशंका गरिएपछि घटना ढाकछोप गर्न खोजिएको छ । 

ट्यांकरको तेलमै लेदो पाइएपछि यसको दोष भने एक–अर्कामाथि थुपारिएको छ । एक थरीले थानकोट डिपोलाई दोषी देखएका छन् । डिपोले भारतबाट आएको तेल पुनः परीक्षण गरेर मात्र पम्पमा विवतरण गर्नुपर्नेमा व्यवस्था छ । तर, डिपोले परीक्षण नै नगरी भारतबाट आएको ट्यांकर सोझै पम्प पठाएको आरोप छ । 

डिपोले भने इन्धन परीक्षण गरेको दाबी गर्दै बाटोमा हुने कैफियतबारे चालक दोषी रहनेतर्क गरेको छ । आयल निगमको थानकोट डिपो प्रमुख विनितमणि उपाध्यायले गुणस्तर परीक्षण गरेको दाबी गरे । ‘गुणस्तर परीक्षणमा भएको लापरबाहीबारे कर्मचारीसँग जानकारी मागेको छु,’ उनले भने, ‘पम्पलाई दिनुपर्ने क्षतिपूर्ति ढुवानीकर्ताबाट दिलाउनेछु ।’

यसरी भयो घटना 
स्रोतका अनुसार ना.४ ख ५१७२ नम्बरको ट्यांकरले भारतीय आयल कर्पोरेसन (आइओसी) को रक्सौल डिपोबाट डिजेल बोकेर आएको थियो । सो ट्यांकर आयल निगमको थानकोट डिपोमा छिरेर तेल नखन्याई पम्पमा पठाइएको थियो । सामान्यतया आइओसीबाट ल्याएको तेल निगमको भण्डारणगृहमा हाल्नुपर्छ । र, भण्डारणगृहबाट ट्यांकरमा लोड गरी पम्पलाई पठाउनुपर्छ । ‘तर, आइओसीबाट ल्याएको डिजेल थानकोटमा परीक्षण नगरी सोझै पम्पलाई पठाइयो,’ स्रोतको भनाइ छ, ‘त्यसैले भारतबाटै लेदो मिसिएको डिजेल पम्पमा पुगेको हुन सक्छ ।’

ज्ञानेश्वरस्थित भ्याली फ्युल सेन्टरको अन्डरट्यांकीमा तेल खन्याउनुअघि जाँच गर्न खन्याइएको बाल्टीमा लेदो डिजेल । तस्बिर : नयाँ पत्रिका

थानकोट डिपोले बुधबार बिहान ना.४ख ५१७२ नम्बरको ट्यांकरलाई कलंकी, ज्ञानेश्वर र सानो गौचरनको पम्पलाई डिजेल पठाएको थियो । ५ वटा च्याम्बरको सो ट्यांकरले कलंकीका तीनवटा पम्पमा डिजेल अनलोड गरी ज्ञानेश्वरस्थित भ्याली फ्युल सेन्टरमा डिजेल खन्याउन गएको थियो । पम्पका कर्मचारीले अन्डर ट्यांकीमा डिजेल हाल्नुअघि तेलको परीक्षण गर्छन् । यसका लागि १–२ बाल्टी तेल खन्याएर हेर्ने गरिन्छ । बुधबार पनि ट्यांकरको एउटा च्याम्बरको पाइप हुँदै तेल बाल्टीमा खसाल्दा कालो लेदो झर्‍यो । त्यसपछि दुई–चार बाल्टी झार्दा पनि कालो लेदो मात्र झरेपछि कर्मचारी सशंकित भएर सो चेम्बरको तेल पम्पको अण्डार ट्यांकीमा नहाली पठाइदिए ।

सो ट्यांकरका चालक नजिकै रहेको अर्को सानो गौचरन पम्पमा पनि गए । त्यहाँका कर्मचारीले डिजेल अन्डर ट्यांकीमा खसाल्नुअघि परीक्षण गर्न बाल्टीमा हाल्दा लेदो मात्र झर्‍यो । दुईवटा पम्पमा पठाइएको तेलमा लेदो भेटिएपछि ट्यांकर फिर्ता गरिएको थियो ।

शुद्धतामा बढ्यो आशंका
आयल निगमले डिपोभित्र छिरेको डिजेलको ‘डिस्कोसिटी’ परीक्षण गरेर मात्र पम्पमा पठाउनुपर्ने भए पनि बुधबार लेदो मिसिएको डिजेल परीक्षणविनै पम्प पुगेको थियो । 
डिस्कोसिटी परीक्षणले कति तेलमा कति तापक्रम छ, तेलको घनत्व कति छ भन्ने थाहा दिन्छ र त्यसैबाट ट्यांकरभित्रको तेल बाक्लो र पातलो रहेको पनि पत्ता लाग्छ । त्यस्तै, पेट्रोलको डेन्सिटी, तापक्रम र फ्युल बोइल प्वाइन्ट परीक्षण गर्नुपर्छ । यसबाट पेट्रोलको बाक्लोपना र शुद्धता परीक्षण हुन्छ ।

तर, पछिल्लोसमय थानकोट डिपोले लापरबाही गरी परीक्षणविनै तेल पम्पमा पठाउने गरेको पाइएको छ । त्यसकारण पम्पमा अशुद्ध पेट्रोल र डिजेल आउने सम्भावना बढेको छ । 

पेट्रोलपम्पमा रहेको सामान्य उपकरणले शुद्धता परीक्षण हुन सक्दैन । उपभोक्ताकर्मी माधव तिमिल्सिनाले पम्पमा आएको अशुद्ध तेलले सवारीसाधनको इन्जिन खराब हुनेतर्फ सचेत हुन आयल निगमलाई आग्रह गरे । ‘निगमले शुद्धता परीक्षणमा चासो नदिँदा देशभरका उपभोक्ता मारमा पर्छन् भन्ने कुराको हेक्का राख्नुपर्छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने ।