मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ भदौ २२ आइतबार ०९:०५:००
Read Time : > 4 मिनेट
सेयर बजार

बढ्यो लगानीकर्ताको मनोबल

Read Time : > 4 मिनेट
२०७६ भदौ २२ आइतबार ०९:०५:००

गत साता पनि नेप्से परिसूचक घटेको छ । नेप्से घटे पनि लगानीकर्ताहरूको मनोबल भने साता बढेको देखिन्छ । बजार विस्तारका कार्यहरूले गति लिएसँगै लगानीकर्ताहरूको मनोबल बढेको हो । गत साताको पाँचै कारोबार दिनका लागि खुला रहेको बजारमा ३ कारोबार दिन नेप्से ओरालो लागेको थियो भने २ कारोबार दिन बढेको थियो । लामो समयदेखि विवादमा रहेको पुँजीगत लाभकरको विषयले समाधान पाउने अपेक्षाले गत साताको बजार बढेको हो । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सेयरको लागतको भारित औसत गणना ‘मेरो सेयर’ सफ्टवेयरमार्फत गर्न मिल्ने गरी नयाँ सुविधा थप गरेर परीक्षणमा ल्याएसँगै लगानीकर्ताको मनोबल बढेको हो । यसका साथै नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत गरेको स्प्रेड गणना विधिलाई पहिलो त्रैमासको समीक्षामा सच्याउने हल्लाले पनि गत साताको बजार प्रभावित भएको थियो । 

साताको अन्तिम कारोबार दिन भने अल्पकालीन लगानीकर्ताहरू नाफा सुरक्षित गर्नतर्फ लागेका कारण बजारमा करेक्सन भएको थियो । लामो समयदेखि बजार सुस्त गतिमा रहेका कारण लगानीकर्ताहरूले नाफा आर्जन गर्न सकिरहेका थिएनन् । गत साता बजार बढेको मौकामा लगानीकर्ताहरूले प्रोफिट बुक गर्दा त्यसको प्रभाव बिहीबारको कारोबारमा देखिएको थियो । आगामी साता लगानीकर्ताहरूले बजार बढ्ने अपेक्षा गरेका छन् । लाभकर विवाद अन्त्य, ब्रोकरहरूमार्फत मार्जिन कर्जा लिन पाउने सम्पूर्ण पूर्वाधार तयार भएको र कम्पनीहरूले घोषणा गरेको लाभांशले आगामी साताको बजारलाई सकारात्मक दिशातर्फ अघि बढ्न टेवा दिने एक लगानीकर्ताले बताए । 

 बजार सारांश
गत साता नेप्से परिसूचक ५ दशमलव ३५ अंक घटेर १ हजार १ सय ९१ दशमलव शून्य ७ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स सो साता १ दशमलव ३५ अंक घटेर २ सय ५९ दशमलव ९० बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स शून्य दशमलव १४ अंक घटेर ८७ दशमलव ९२ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव शून्य ३ अंक घटेर ८३ दशमलव ३१ बिन्दुमा पुगेको छ । सो साता १ सय ८७ कम्पनीको ३७ हजार ४ सय ९० पटकको कारोबारमा १ अर्ब ९४ करोड २२ लाख ४२ हजार रुपैयाँबराबरका ७० लाख ४९ हजार ३ सय १९ कित्ता सेयर खरिद–बिक्री भएको छन् । 

प्राविधिक विश्लेषण
आरएसआई : गत साताको अन्तिम कारोबार दिन नेप्सेको १४ दिने आरएसआई ३६ दशमलव ३० स्केलमा रहेको छ । न्युट्रल जोनमा रहेको आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो गत साता शून्य दशमलव ७४ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । सो साता कारोबारमा आएका १ सय ८७ कम्पनीमध्ये ९४ कम्पनीको सेयरमूल्य घटेको छ भने ७० कम्पनीको सेयरमूल्य बढेको छ । बाँकी २३ कम्पनीको सेयरमूल्य सो साता स्थिर रहेको छ । 

गत साताको पिभट विश्लेषण गर्दा नेप्सेको पिभट बिन्दु १ हजार १ सय ८२ दशमलव शून्य ६ रहेको छ । आगामी साता नेप्से ओरालो लागे १ हजार १ सय ६५ दशमलव ५३ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने १ हजार १ सय ४० दशमलव १६ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे १ हजार २ सय ७ दशमलव ४३ बिन्दुमा पहिलो प्रतिरोध र १ हजार २ सय २३ दशमलव ९६ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

२५ लाखभन्दा बढी कित्ता धितोपत्र सूचीकृत
गत साता ३ कम्पनीहरूले कुल २५ लाख १ हजार ७ सय ७५ कित्ता धितोपत्र सूचीकृत गरेका छन् । सो साता नेपाल बंगलादेश बैंकले २० लाख कित्ता ऋणपत्र सूचीकृत गरेको थियो । बैंकले १० दशमलव २५ प्रतिशत वार्षिक ब्याजदरमा निष्कासन तथा बिक्री गरेको ऋणपत्र नेप्सेमा सूचीकृत गरेको हो । गत साता घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख ७६ हजार २ सय ५० कित्ता आइपिओ र राधी विद्युत् कम्पनीले २ लाख २५ हजार ५ सय २५ कित्ता बोनस सेयर सूचीकृत गरेका थिए । 

सर्वाधिक कमाउने आँधीखोला
गत साता कारोबारमा आएको आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक २४ दशमलव ६९ प्रतिशत बढेको छ । गत साता सो कम्पनीको सेयरमूल्य ८० रुपैयाँ बढेर ४ सय ४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था, युनिभर्सल पावर कम्पनी र वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको सेयरमूल्य १० प्रतिशतभन्दा बढी बढेको छ । २२ प्रतिशत बोनस वितरण गर्ने घोषणा गरेको नागरिक लगानी कोषको सेयरमूल्य गत साता सर्वाधिक २० दशमलव शून्य ७ प्रतिशत घटेको छ । बोनस सेयर समायोजनका कारण कम्पनीको सेयरमूल्य घटेको हो । बोनस सेयर वितरणका लागि कम्पनीले गत बिहीबार बुक क्लोज गरेको थियो । कारोबारमा आएको लक्ष्मी इक्विटी फन्डको इकाइ मूल्य गत साता ११ दशमलव २५ प्रतिशत घटेको छ । अन्य कम्पनीहरूको सेयरमूल्य १० प्रतिशतभन्दा कम दरले घटेको छ । 

९ समूहको परिसूचक घट्यो
गत साता कारोबारमा आएका ११ समूहमध्ये २ समूहको परिसूचक बढेको छ भने ९ समूहको परिसूचक घटेको छ । सो साता विकास बैंक समूहको परिसूचक ५ दशमलव १७ अंक र वाणिज्य बैंक समूहको २ दशमलव ३२ अंक बढेको छ । जीवन बिमा समूहको परिसूचक सो साता सर्वाधिक १ सय ३ दशमलव ३६ अंक घटेको छ । त्यसैगरी, होटेल समूहको परिसूचक सो साता ४२ दशमलव ३८ अंक, उत्पादनमूलक समूहको ३९ दशमलव ४८ प्रतिशत, जलविद्युत् समूहको १७ दशमलव ७१ अंक, अन्य समूहको १४ दशमलव ४२ अंक, लघुवित्त समूहको ५ दशमलव १६ अंक, वित्त समूहको ३ दशमलव ५२ अंक, निर्जीवन बिमा समूहको २ दशमलव ४९ अंक र म्युचुअल फन्ड समूहको शून्य दशमलव शून्य ५ अंक घटेको छ । व्यापार समूहको कुनै पनि कम्पनीको गत साता कारोबार भएको छैन । 

सर्वाधिक कारोबार हुनेमा माछापुच्छ्रे

गत साता कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको गत साता ३ सय ६६ पटकको कारोबारमा ११ करोड २ लाख १ हजार रुपैयाँबराबरको ४ लाख ३२ हजार ४ सय ७६ कित्ता सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी, नेपाल लाइफ इन्स्योरेन्स र नेपाल बैंकको कारोबार रकम गत साता ९ करोड नाघेको छ । सेयर संख्याका आधारमा गत साता नेपाल बंगलादेश बैंकको संस्थापक सेयर अगाडि रहेको छ । सो वाणिज्य बैंकको गत साता २ पटकको कारोबारमा ५ करोड ७२ लाख ३० हजार रुपैयाँबराबरको ४ लाख ८५ हजार कित्ता सेयर किनबेच भएको छ । कारोबार संख्याका आधारमा भने गत साता सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड अगाडि रहेको छ । सो कम्पनीको गत साता ५ हजार १ सय ९४ पटकको कारोबारमा ३ करोड ३४ लाख ४८ हजार रुपैयाँबराबरको ६६ हजार २ सय ५० कित्ता सेयर कारोबार भएको छ । 

चौतारीको लाभांश
चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले १७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट १० दशमलव ८९ प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । 

युनिलिभरको लाभांश
युनिलिभर नेपाल लिमिटेडले गत आवको मुनाफाबाट प्रतिसेयर ७ सय ७० रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । गत आवमा कम्पनीले १ अर्ब ६ करोड नाफा आर्जन गरेको थियो । अघिल्लो आवमा कम्पनीले ७ सय रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । 

मूल्य समायोजन
नेप्सेले शुक्रबार सानिमा इक्विटी फन्डको मूल्य समायोजन गरेको छ । नेप्सेले योजनको १० प्रतिशत लाभांश समायोजनपछिको मूल्य ८ दशमलव ७२ रुपैयाँ तोकेको हो । 

नेसनल लाइफको लाभांश
नेसनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ०७४/७५ को मुनाफाबाट १४ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २ दशमलव ५ प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बिमा समितिको स्वीकृतपश्चात् आगामी वार्षिक साधारणसभाबाट पारित गरी सो लाभांश वितरण गरिनेछ ।