मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ भदौ २१ शनिबार ०७:५५:००
Read Time : > 2 मिनेट
समाचार

तिलिचोमाथि  कजिन सारा

Read Time : > 2 मिनेट
२०७६ भदौ २१ शनिबार ०७:५५:००

नयाँ गन्तव्य

उच्च हिमाली क्षेत्रमा अवस्थित थुप्रै तालतलैयामध्ये मनाङको तिलिचो ताल देशभित्र र बाहिर चर्चित छ । देशका प्रमुख पर्यटकीय गन्तव्यमा पर्नेे तिलिचोभन्दा माथि पनि अर्को ताल भेटिएको छ, जापानी टोलीले यसको नाम जुराएको छ, कजिन सारा । पदयात्रा र उच्च हिमाली क्षेत्रको दृश्यावलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि कजिन सारा नयाँ साहसिक गन्तव्य बन्न पुगेको छ । 

मनाङको चामे गाउँपालिका–४ सिंगरखर्कमा केही महिनाअघि मात्रै यो नयाँ ताल पत्ता लागेको हो । चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेका अनुसार तालको खोजी गर्न सिंगरखर्क पुगेको टोलीले यसको उचाइ नापेको छ । पाँच हजार दुई मिटर उचाइमा रहेको कजिन सारा डेढ किलोमिटर लामो र ६ सय मिटर चौडा रहेको छ । ‘कजिन साराको गहिराइ भने अनुमान गर्न सकिएको छैन,’ अध्यक्ष घले भन्छन् । 

स्थानीय बासिन्दा भने यसलाई ‘सिंगर ताल’ भन्छन् । यो क्षेत्रलाई नै ‘सिंगर’ भनिने भएकाले तालको नाम पनि ‘सिंगर’ रहन गएको अध्यक्ष घलेको भनाइ छ । सिंगरखर्कमा स्थानीय बासिन्दा याक, चौँरी, भेडा चराउने गर्छन् । यसलाई पत्ता लगाउन पनि भेडीगोठालाले नै सघाएका हुन् । 

चामे गाउँपालिका अध्यक्ष घलेसहित पदाधिकारी, कर्मचारी र सुरक्षाकर्मीले गुगल म्याप हेर्ने क्रममा जमजुङ कैलाश (लमजुङ हिमालः ६,९८३ मिटर) को आधारशिविरनजिक कुण्ड देखे । त्यसपछि स्थानीय बुढापाकासँग सोधखोज गर्दा उनीहरूले सिंगरखर्कमा ताल रहेको जानकारी दिए । र, गाउँपालिका अध्यक्ष घलेको नेतृत्वमा २९ सदस्यीय टोलीलाई भेडीगोठाला भैरु गुरुङले कजिन सारासम्म पुर्‍याएका हुन् । 

उसो त कजिन साराभन्दा माथि पनि थुप्रै तालहरू छन् । पाँच हजार पाँच सय मिटरको उचाइसम्म सयौँ हिमताल ताल रहेको अनुमान छ । संसारका उच्च स्थानमा रहेका तालमध्ये १५औँ स्थानमा वरुणत्से ताल पर्छ । सगरमाथाबाट १५ किलोमिटर दक्षिण अन्नपूर्ण शृंखलाको पाँच हजार पाँच सय ५५ मिटरको उचाइमा रहेको वरुणत्से नै अहिलेसम्म नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको ताल हो । यो सात वर्षअघि मात्रै पत्ता लागेको थियो । संसारकै अग्लो स्थानमा रहेको ताल त अर्जेन्टिनाको ओजोस डेल सालाडो हो, जुन ६ हजार तीन सय ९० मिटरको उचाइमा अवस्थित छ । तथापि, पदयात्राका लागि सहज भएकाले तिलिचो ताल नै चर्चित थियो । जुन चार हजार नौ सय २० मिटरको उचाइमा छ । चार किलोमिटर लामो, १.२ किलोमिटर चौडा र करिब दुई सय मिटर गहिरो छ । अब भने तिलिचोभन्दा माथि पनि पदयात्राबाट जान सकिनेछ, नयाँ गन्तव्य कजिन सारा भेट्टाउन । 

रोमाञ्चक हिमाली यात्रा
हिमालपारिको जिल्ला मनाङकै यात्रा कम्ता रोमाञ्चकारी हुँदैन । लमजुङको बेँसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ पुगिन्छ । त्यहाँबाट कजिन साराको यात्रा झन् रोमाञ्चकारी हुन्छ । अग्ला भिराला पहाड, उच्च हिमशृंखलाले लोभ्याइराख्छ । पूर्वमा मनास्लु, पश्चिममा दामोदर, दक्षिणमा अन्नपूर्ण र लमजुङ हिमाल स्वागतमा उभिएझैँ लाग्छन् । उत्तरमा तिब्बतको पेरीलगायतका हिमालले मनै लोभ्याउँछ । प्राकृतिक दृश्यावलोकनसँगै माथिल्लो मनाङका गंगापूर्ण ताल, हिमताल, गुम्बाले झन् आकर्षण थपेका छन् । अन्नपूर्ण, गंगापूर्ण र तिलिचो हिमाल छेउछाउमै उभिएजस्तै लाग्छन् ।

कसरी पुग्ने ?
अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहरबाट चामेसम्मको ६५ किलोमिटर र त्यहाँबाट झन्डै ३० किलोमिटर यात्रापछि मनाङ पुगिन्छ । मनाङ सदरमुकाम चामेबाट २४ किलोमिटरको दूरीमा पर्छ, कजिन सारा । लमजुङ हिमालको आधारशिविर हुँदै पूर्वी भेगबाट १८ घन्टा पैदल हिँडेपछि यो नयाँ गन्तव्यमा पुगिन्छ । कजिन सारा पुग्ने उपयुक्त मौसम भने यही हो, साउनदेखि कात्तिक ।

कति खर्च लाग्छ ?
कजिन सारा तालको यात्रा धेरै महँगो पनि छैन । मनाङसम्म गाडीमा जान सकिन्छ । त्यसपछि पैदल यात्रामा तालछेउ पुगिन्छ । एकजनालाई १२ हजारदेखि १५ हजार रुपैयाँसम्म लाग्छ ।