मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ भदौ २१ शनिबार ०७:४२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

चिनियाँ विदेशमन्त्री आइतबार नेपाल आउँदै

Read Time : > 1 मिनेट
२०७६ भदौ २१ शनिबार ०७:४२:००

चीनका विदेशमन्त्री एवं स्टेट काउन्सिलर वाङ यी तीन दिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौं जाने भएका छन् । चीन र नेपालका परराष्ट्र मन्त्रालयले शुक्रबार एकैसाथ भ्रमणबारे कार्यतालिका सार्वजनिक गरेका हुन् । यसअघि भारतका विदेशमन्त्री सुव्रमण्यम् जयशंकरले नेपाल भ्रमण गरेका थिए ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कन सुहाङले नियमित पत्रकार सम्मेलनमा यीले पाकिस्तान र नेपाल भ्रमण गर्न लागेको घोषणा गरे । शनिबार यी पाकिस्तान भ्रमणमा जाने कार्यक्रम छ । इस्लामाबादमा उनी अफगानिस्तान र पाकिस्तानका विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुने कार्यक्रम छ । त्यहाँबाट उनी आइतबार अपराह्न काठमाडौं पुग्नेछन् ।

परराष्ट्रमन्त्री ज्ञवालीसँग सोमबार द्विपक्षीय भेटवार्ता


परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी यीबीच सोमबार द्विपक्षीय औपचारिक वार्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । औपचारिक वार्तामा नेपाल र चीनबीच सबै पक्षमा छलफल हुनेछ । नेपालले चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणमा पुनः जोड दिनेछ । नेपाल र चीनबीच यसबीचमा भएका सहमति र सम्झौता कार्यान्वयनका उपायबारे पनि छलफल हुने परराष्ट्र स्रोतले बतायो । विशेष गरी सिगात्से–केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन, डिपिआर तयारीका लागि छलफल हुनेछ ।

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणलाई चीनबाट भविष्यमा हुने उच्चस्तरीय भ्रमणको तयारीका रूपमा पनि लिइएको छ । अनुभवी करिअर डिप्लोम्याट यी नेपालबारे लामो समयदेखि जानकार छन् । नेपाल बसाइका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी अ‍ोलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी मंगलबार बिहान स्वदेश फर्किने कार्यक्रम छ । 

बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयका उच्च अधिकारीले यो वर्ष चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका लागि सबैभन्दा उपयुक्त समय रहेको टिप्पणी गरे । तर, उनले भ्रमणको निधो भइनसकेको पनि उल्लेख गरे । ‘नेपालसँग चीनको सुदृढ सम्बन्ध छ र उच्चस्तरीय भ्रमण हुनुपर्छ भन्नेमा चीन छ । यो उपयुक्त हो भन्ने पनि हामीलाई लागेको छ । तर, यसबारे द्विपक्षीय परामर्श निरन्तर हुनुपर्छ,’ उनले भने । राष्ट्रपति सी एक महिनापछि भारत भ्रमणमा जाने चर्चा भए पनि अझै टुंगिएको छैन । बेइजिङस्थित नेपाली दूतावासले भने सीको भारत भ्रमण हुँदा नेपाल पनि हुनुपर्नेमा चीन सरकारसँग जोड दिँदै आएको छ ।