मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रञ्जन भण्डारी
२०७५ पौष १ आइतबार १०:३२:००
Read Time : > 1 मिनेट
प्रदेश

जनकपुर-जयनगर रेलका इन्जिन खेत र सडकमा अलपत्र

Read Time : > 1 मिनेट
रञ्जन भण्डारी
२०७५ पौष १ आइतबार १०:३२:००

महाेत्तरी : ब्रोडगेज रेल सञ्चालन गर्ने तयारी भइरहँदा पुरानो जनकपुर–जयनगर रेलवेका इन्जिनलगायत सामान भने नासिँदै गएका छन् । इतिहास बोकेको न्यारोगेज रेलको कोइला र डिजेल इन्जनलगायत सामान अलपत्र छन् । 

अहिले जनकपुर रेल्वेलाई नेपाल रेलवे बनाइएको छ । त्यो रेल्वेका पुराना इन्जिन र सामान भने अलपत्र रहेको स्थानीय बासिन्दाले बताए । कोइला इन्जन र डिजेल इन्जिन त्यसै फालिएका छन् । अब ती इन्जिन सञ्चालनमा ल्याउन नसकिने भए पनि संरक्षण गर्नुपर्ने स्थानीय बासिन्दाको भनाइ छ । 

इतिहासका लागि पनि जनपुर रेलवेका इन्जिन र सामान संरक्षण गर्नुपर्ने याज्ञवलक्य लक्ष्मीनारायण विद्यापीठका मैथिली विभाग प्रमुख उपप्राध्यापक मुक्तिनाथ झाले बताए । ‘नेपालको रेलको इतिहासका विषयमा भावी पुस्ता र मिथिलामा आउने पर्यटकलाई जानकारी दिन पनि संरक्षण गर्नुपर्छ,’ झाले भने । यसलाई प्रदेश सरकारले संग्रहालय बनाएर राख्नुपर्ने उनको भनाइ छ । 

पाँच वर्षदेखि बन्द
अहिले रेल सेवालाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत रेल विभागभित्र राखिएको छ । जनकपुर रेलवेका विषयमा व्यवस्थापनले ०६० भदौमै ‘जनकपुर रेलवे वर्तमान अवस्था र सुधार हुनुपर्ने कुराहरू’ समेटेर सरकारलाई रिपोट बुझाएको थियो । जसमा ७५ प्रतिशत रेलवे ‘स्लिपर’ जीर्ण भइसकेको, सिग्नल र टेलिकम्युनिकेसनको व्यवस्था नभएकाले सूचना आदानप्रदान गर्न कठिनाइ हुने गरेको, इन्जिन र यात्रुवाहक कोचको मर्मत गर्नुपर्नेलगायत विषय उल्लेख थिए । पूर्वी तथा मध्य धनुषासँगै सीमावर्ती भारतीयका लागि ८१ वर्षदेखि यातायातको प्रमुख मार्गको रूपमा रहेको जनकपुर–जयनगर रेल गत पाँच वर्षदेखि भने बन्द छ ।

ब्रोडगेजको तयारी
पुरानो न्यारोगेज रेल्वे बन्द भए पनि अहिले ब्रोडगेज रेलवेको तयारी भइरहेको छ । भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर रेल लाइनको पहिलो चरणको निर्माण कार्य अन्तिम अवस्थामा पुगेको जनाएको छ । पहिलो चरणअन्तर्गत जयनगरदेखि धनुषाको कुर्थासम्म रेल सेवा सञ्चालन हुने छ । न्यारोगजभन्दा ब्रोडगेजले प्रभावकारी हुने स्थानीय बासिन्दाको विश्वास छ । सबैभन्दा कम अर्थात् दुई फिट ६ इन्च चौडाइ लिक भएकोलाई न्यारोगेज, एक मिटर चौडाइको मिटरगेज र पाँच फिट ६ इन्च चौडा भएको ब्रोडगेज भन्ने गरिएको छ । लिक बढी चौडा हुँदा गति र सन्तुलन राम्रो हुने रेलवे प्राविधिकको भनाइ छ । 

काठ ओसार्न रेलवे निर्माण
ब्रिटिस सरकारले १९९४ मा महोत्तरीको जंगलबाट काठ ओसार्न रेल्वेको निर्माण गरेको थियो । त्यतिवेला महोत्तरीको बिजुलपुराबाट भारतको जयनगरसम्म ५२ किलोमिटर रेलवे सञ्चालन गरिएको थियो । ०५९ मा बाढीले बिग्ही पुल क्षतिग्रस्त भयो । त्यसपछि जनकपुरदेखि जयनगरसम्म २९ किलोमिटरमा मात्रै सीमित बन्यो । त्यतिवेला जनकपुर–जयनगरका लागि रेलले दैनिक तीनपटक आवतजावत गथ्र्यो । 

सुरुवातमा कोइला तथा दाउरा ओसार्न प्रयोग हुने रेलले ०१८ देखि यात्रु बोक्न थालेको थियो । ०२१ मा आएर नेपाल यातायात संस्थानको एउटा शाखाका रूपमा कायम भएको थियो, जनकपुर रेलवे । भारत सरकारले चार डिजेल पावर इन्जिन र १८ बोगी प्रदान गरेपछि ०५१ आधुनिक रेल सेवा सञ्चालनमा आएको थियो । 

व्यवस्थित गर्ने उद्देश्यले ०२१ मा नेपाल यातायात संस्थानअन्तर्गत राखिएको रेल सेवालाई ०२५ मा जनकपुर–जयनगर रेलवे नामकरण गरियो । यसको पहिलो प्रबन्धक टेकजंग थापा नियुक्त भएका थिए । ०५८ मा यातायात संस्थान विघटन गरिएपछि १८ जेठ, ०६१ मा नेपाल रेल कम्पनीको रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरिएपछि जनकपुर–जयनगर रेल्वे नेपाल रेल्वेको रूप लिएको हो ।