१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ भदौ २० शुक्रबार ०८:२५:००
Read Time : > 4 मिनेट
सेयर बजार

नाफा सुरक्षित गर्नतर्फ लगानीकर्ता

Read Time : > 4 मिनेट
२०७६ भदौ २० शुक्रबार ०८:२५:००

साताको अन्तिम कारोबार दिन नेप्से शून्य दशमलव ३१ प्रतिशत घटेर बन्द भएको छ । लामो समयदेखि ओरालो लागेको बजारमा मंगलबार र बुधबार बढेपछि यस दिन लगानीकर्ताहरू नाफा सुरक्षित गर्नतर्फ लागेका कारण बजार ओरालो लागेको हो । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । यस दिन अल्पकालीन लगानीकर्ता मात्र सेयर बिक्री गर्नतर्फ लागेको एक ब्रोकरले बताए । पुँजीबजार विकास तथा विस्तारका कार्यले गति लिएपछि लगानीकर्ताको मनोबल बढेको छ । आगामी दिन बजारले सकारात्मक गति नै लिने उनीहरूको अपेक्षा रहेको छ । सोहीकारण अधिकांश लगानीकर्ता यस दिन सेयर बिक्री गर्नतर्फ नलागेको उनको भनाइ छ । अहिले बजारका सम्पूर्ण वातावरण सकारात्मक छन् । कम्पनीहरूले गत आवको मुनाफाबाट लाभांश घोषणा गर्ने क्रम जारी छ । बजार निरन्तर ओरालो लागेका कारण सेयरमूल्य पनि तुलनात्मक रूपमा सस्तो छ । सोही कारण अहिले सस्तोमा सेयर खरिद गरे छोटो समयमा प्रतिफल पाउन सकिने भएकाले लगानीकर्ता बजार प्रवेश गर्ने एक विश्लेषकले बताए । यसले बजारलाई सकारात्मक दिशातर्फ अघि बढ्न टेवा पुग्ने उनको भनाइ छ । 

बजार सारांश
यस दिन नेप्से परिसूचक ३ दशमलव ७० अंक घटेर १ हजार १ सय ९१ दशमलव शून्य ७ बिन्दुमा पुगेको छ । यस दिन १ सय ६७ कम्पनीको ५ हजार ७ सय ९७ पटकको कारोबारमा २९ करोड १ लाख ७७ हजार रुपैयाँबराबरको ९ लाख ५७ हजार ८ सय ८१ कित्ता सेयर खरिद–बिक्री भएको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ९६ अंक घटेर २ सय ५९ दशमलव ९० बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव २६ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव २६ अंक घटेको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ३६ दशमलव ३० स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ४२ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । कारोबारमा आएका १ सय ६७ कम्पनीमध्ये यस दिन ३९ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने ९२ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ३६ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

यस दिनको पिभट विश्लेषण गर्दा आगामी कारोबार दिन नेप्से ओरालो लागे १ हजार १ सय ८७ दशमलव ५६ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार १ सय ८४ दशमलव शून्य ५ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, आइतबार बजार उकालो लागे नेप्सेले १ हजार १ सय ९५ दशमलव ९० बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार २ सय दशमलव ७३ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

आँधीखोलाको सेयरमूल्यमा सर्किट
बजार ओरालो लागे पनि यस दिन कारोबारमा आएको आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको सेयरमूल्य यस दिन ३६ रुपैयाँ बढेर ४ सय ४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयरमूल्य यस दिन ५ दशमलव ९७ प्रतिशत बढेको छ । अन्य कम्पनीको सेयरमूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ । अरुण काबेली पावर लिमिटेडको सेयरमूल्य यस दिन सबैभन्दा बढी ६ दशमलव ९१ प्रतिशत घटेको छ । कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन साढे ४ प्रतिशत घटेको छ । लक्ष्मी लघुवित्त वित्तीय संस्था, ङादी ग्रुप पावर, महिला सहयात्रा लघुवित्त, नेसनल हाइड्रोपावर कम्पनी, माउन्टेन हाइड्रो नेपाल र युनियन हाइड्रोपावरको सेयरमूल्य यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ ।  

९ समूहको परिसूचक रातो
यस दिन कारोबारमा आएका ९ समूहको परिसूचक घटेर रातो भएको छ । यस दिन म्युचुअल फन्ड समूहको परिसूचक शून्य दशमलव शून्य ३ प्रतिशत बढेको छ भने निर्जीवन बिमा समूहको शून्य दशमलव १३ अंक बढेको छ । होटेल समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव ८१ प्रतिशत घटेको छ । त्यसैगरी, जलविद्युत् समूहको परिसूचक यस दिन शून्य दशमलव ९४ प्रतिशत, जीवन बिमा समूहको परिसूचक शून्य दशमलव ३३ प्रतिशत, वित्त समूहको शून्य दशमलव ३३ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव ३ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव २८ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव २२ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव २१ प्रतिशत र अन्य समूहको शून्य दशमलव शून्य ५ प्रतिशत घटेको छ । 

नेपाल लाइफको सर्वाधिक कारोबार
यस दिन कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अगाडि रहेको छ । सो कम्पनीको यस दिन १ सय १२ पटकको कारोबारमा १ करोड ५१ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ । यस दिन सिटिजन्स बैंक इन्टरनेसनल, एनआइसी एसिया बैंक र नागरिक लगानी कोषको कारोबार रकम १ करोड नाघेको छ । एनआइसी एसिया बैंकले २१ दशमलव शून्य ५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । 

त्यसैगरी, २२ प्रतिशत बोनस सेयर वितरण प्रयोजनका लागि यस दिन नागरिक लगानी कोषले बुक क्लोज गरेको थियो । सेयर संख्याका आधारमा यस दिन अपी पावर कम्पनी अगाडि रहेको छ भने कारोबार संख्याका आधारमा रसुवागढी हाइड्रोपावर कम्पनी अगाडि रहेको छ । अपीको यस दिन ७ हजार ६ सय ७३ कित्ता सेयर किनबेच भएको छ भने रसुवागढीको ४ सय ४० पटक सेयर कारोबार भएको छ । 

बिओकेको लाभांश
बैंक अफ काठमाडौं (बिओके) लिमिटेडले गत आवको मुनाफाबाट १७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ १५ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले ६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनसमेतका लागि ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ ।

सिद्धार्थको ऋणपत्र निष्कासन बन्द
सिद्धार्थ बैंक लिमिटेडले भदौ ५ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको ‘१० दशमलव २५ प्रतिशत एसबिएल डिबेन्चर २०८३’ मा आवेदन दिने म्याद भदौ १९ गते सकिएको छ । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले २५ लाख कित्तामध्ये १० लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो । 

बाँकी १५ लाख कित्ता परिपत्र विधिबाट बिक्री गरिने बैंकले बताएको थियो । सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको थियो । यस ऋणपत्रको अवधि ७ वर्ष रहेको छ । ऋणपत्रको वार्षिक ब्याजदर १० दशमलव २५ प्रतिशत हुनेछ । 

ऋणपत्रमा आर्जित ब्याज रकममा आयकर ऐनअनुसार कर लाग्नेछ । आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र द्वितीय अर्धवार्षिक समाप्त भएपश्चात् भुक्तानी गरिनेछ । सो ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी एलए माइनस रेटिङ प्रदान गरेको छ । यसले कर्जा जोखिम न्यून रहेको संकेत गर्छ ।

एनआइसी एसियाको साधारणसभा
एनआइसी एसिया बैंक लिमिटेडले असोज १० गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बाइसौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा १० प्रतिशत बोनस सेयर, ११ दशमलव शून्य ५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वायर गर्ने र लेखा परीक्षक नियुक्त गर्ने विशेष प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म बुक क्लोज गर्ने भएको छ ।