१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अशोक शर्मा
२०७६ भदौ २० शुक्रबार ०८:०६:००
Read Time : > 2 मिनेट
सप्तरंग

अनि कमायो ‘ट्रक ड्राइभर’ले ६० लाख

सिनेमा संवाद

Read Time : > 2 मिनेट
२०७६ भदौ २० शुक्रबार ०८:०६:००

०३९ सालमा बसबाट काठमाडौं सहिदगेटमा झर्दा टुँडिखेलमा ठूलो भीड थियो । एकजनालाई सोध्दा घोडेजात्रा चलिरहेको थाहा पाएँ । काठमाडौंको यो मेरो पहिलो यात्रा थियो । कहाँ बस्ने अत्तोपत्तो थिएन । मेरा साथी नारायण प्रधानका अंकल पुतलीसडकमा बस्नुहुन्थ्यो । त्यतै लम्किएँ । काठमाडौंमा अवसर बढी भएकाले आफ्नो प्रतिभा देखाउन सक्छु भन्ने आँटले मलाई यता डोर्‍याएको थियो ।

केही समय नारायणजीको अंकलसँगै बसेँ । करिब तीन वर्ष विनाडेरा बिताएँ, काठमाडौंमा । एउटा झोला बोक्थेँ, जसमा ब्रस, टुथपेस्ट र केही थान कपडा हुन्थे । त्यही झोला बोकेर कहिले कसको, कहिले कसकोमा गएर बसेँ । काठमाडौंमा आफ्ना भन्ने कोही थिएनन् । यहाँ आएर कृष्ण मल्ल, लय संग्रौला, सुनील पोखरेललगायत कलाकारसँग भेट भयो । उहाँहरूको संगतबाटै नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिशृंखलाहरूमा अभिनय गर्न थालेँ ।

टेलिशृंखला ‘चक्रव्यूह’को दीपक थापा, ‘टाढाको बस्ती’को जुठेजस्ता पात्रबाट दर्शकमाझ परिचित भएँ । ०४२/४३ सालतिर एउटा शृंखलामा अभिनय गरेको सय–डेढ सय रुपैयाँ पाइन्थ्यो । तीन वर्षपछि भोटेबहालमा म, दीपक क्षत्री र साम्बा पटेलले संयुक्त कोठा लियौँ । ‘वासुदेव’ फिल्मको मेकअप आर्टिस्ट भएर पटेल मुम्बईबाट काठमाडौं आएका थिए ।

राष्ट्रिय सभागृहमा मञ्चन भएको एउटा नाटकमा मेरो भूमिका धनाढ्य सेठको थियो । राति १० बजेतिर नाटक सकिन्थ्यो । टुकुचा खोला किनारमा इन्द्र दाइको नास्ता पसल थियो । हामी साढे १० बजेतिर आउँथ्यौँ, ढोका ढकढकाउँथ्यौँ । चना र आलु तताउन लगाएर खान्थ्यौँ । साथमा अलिकति वासाको पनि स्वाद लिइन्थ्यो । नाटकमा करोडपतिको भूमिका गरेर आएको कलाकारको खान्की भने त्यस्तो थियो ।

टेलिशृंखलामा काम गर्दा गुजारा गर्नै गाह्रो । ०४५ सालमा विवाह गरिसकेको थिएँ । काठमाडौंमा संघर्ष थालेको १० वर्ष बित्दै थियो । मेरो मनमा फिल्म बनाउने सोच आयो । तर, पैसाका नाममा सुको थिएन । मित्र वीरेन्द्र क्षत्रीलाई आफ्नो सोचबारे बताएँ । उनले पाँच लाखजति दिन सक्छु भने । तर, फिल्म बनाउन २५–३० लाख चाहिन्थ्यो । वीरेन्द्रजीले दिएको पाँच लाखबाट कथा तयार पारेँ र मुम्बई गएर गीत रेकर्ड गरेँ ।

२५ लाख ऋणमा बनाएको फिल्मले करिब ६० लाख रुपैयाँ कमायो । सबै खर्च कटाएर २५ लाख रुपैयाँ नाफा भयो ।

निर्देशक राजकुमार शर्मालाई फिल्म रिलिज भएपछि मात्र पैसा दिन्छु भनेँ । उहाँले मान्नुभयो । सबै कलाकारलाई त्यसरी नै सहमत गराएँ । पछि मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य दाइ र किरण केसीले पैसा लिन मान्नुभएन । त्यतिवेला वितरकले पनि फिल्म बनिसकेपछि मात्र पैसा दिन्थे ।

मलाई भने चिनजानका कारण वितरकहरूले पनि फिल्म बन्नुअघि नै १० लाख रुपैयाँ दिए । ल्याबलाई पाँच–छ लाख रुपैयाँ दिनुपथ्र्यो । तर, नीर शाह र भीम रानाको ल्याबले पनि सबै सामान उधारोमै दियो ।

फिल्म बन्यो, तर हलमा चलाउनलाई अर्को महाभारत । त्यतिवेला नवदुर्गा, कुमारी, विश्वज्योति, अशोक र जयनेपाल गरी काठमाडौंमा जम्मा पाँचवटा हल थिए । ती हलका सञ्चालकले मेरो फिल्म चलाउन रुचि नै देखाएनन् ।

उनीहरू १०–२० हजारमा ल्याएको हिन्दी फिल्म लामो समय चलाएर कमाउँथे । एक हलका सञ्चालकलाई भेट्न गएको आधा घन्टा कुराए । बल्लबल्ल भेट्न पाएँ, तर मेरो कुरा सुन्दैनसुनी उनी निदाइदिए । अर्को हलका मालिकले भेटसम्म दिएनन् ।

ठूला हलमा आफ्नो फिल्म प्रदर्शन गर्न दुई–अढाई वर्ष पालो कुर्नुपर्ने भयो । त्यहीवेला जोरपाटीमा आराधना हल भर्खर बनेको थियो । नेपाली फिल्म मात्र चलाउने हललाई कर छुट दिने सरकारको नीति थियो ।

आराधना पनि त्यही सर्तमा बनेको थियो । मैले त्यही हलमा मात्र भए पनि फिल्म चलाउने निर्णय लिएँ । तर, साथीभाइले डुब्ने भइस् भने । एउटै हलमा चल्दा पनि पैसा त आउला नि भन्ने लाग्यो । ‘भाउजू’ फिल्मका निर्माता मुकुन्द ढुंगानाले आराधनाका मालिकसँग कुरा गरिदिनुभयो । अनि ‘ट्रक ड्राइभर’ त्यही हलमा मात्र प्रदर्शनमा आयो ।

एक हलका सञ्चालकलाई भेट्न गएको आधा घन्टा कुराए । बल्लबल्ल भेट्न पाएँ, तर मेरो कुरा सुन्दै नसुनी उनी निदाइदिए । अर्को हलका मालिकले त भेटसम्म दिएनन् ।

फिल्म यसरी चल्यो कि पहिलो दिन हल बाहिरको पर्खाल सबै भरियो । हल छिर्ने गेटमा सडकदेखि नै लाइन थियो । पहिलो दिनको त्यो भीड देखेर म भक्कानिएँ । पुराना पाँचवटा हलमा मेरो फिल्मका लागि ढोका खुलेन । त्यसपछि मैले हाइभिजन हलहरूमा फिल्म चलाउने निर्णय गरेँ । त्यसवेला चारवटा हाइभिजन हल थिए, काठमाडौंमा । ती हलले भिडियो फिल्म चलाउँथे । हाइभिजनमा फिल्म चलाउन मलाई सबैले रोके । नीर शाह दाइले त करिअर नै ड्यामेज हुन सक्छ है भनेर सचेत गराउनुभयो ।

तर, म आफ्नो निर्णयमा अडिग रहेँ । मलाई लाग्यो, आराधनामा जाने मानिस हाइभिजनमा पनि त आउलान् नि । आराधनामा चलेको एक महिनापछि हाइभिजनमा मेरो फिल्म प्रदर्शन हुन थाल्यो । हाइभिजनका लागि फिल्मलाई भिडियोमा टान्सफर गर्नुपथ्र्यो ।

नेपाल टेलिभिजनमा भिडियोमा ट्रान्सफर गरी हाइभिजन हलहरूमा फिल्म चलाइयो । हाइभिजनमा पनि दर्शकको ओइरो लाग्यो । त्यसपछि नै हो, नेपाली फिल्म हाइभिजनमा चल्न थालेको पनि । हाइभिजनले व्यापार लगेपछि ठूला हलवाला बल्ल ठेगानमा आए । २५ लाख ऋणमा बनाएको फिल्मले करिब ६० लाख रुपैयाँ कमाइ गर्‍यो । सबै खर्च कटाएर २५ लाख रुपैयाँ नाफा भयो ।