मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २३ सोमबार १०:३७:००
Read Time : > 1 मिनेट
सेयर बजार

०.६१ प्रतिशत घट्यो नेप्से

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २३ सोमबार १०:३७:००

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक शून्य दशमलमव ६१ प्रतिशत घटेर बन्द भएको छ । गत साताको पहिलो कारोबार दिनदेखि नेप्से निरन्तर ओरालो लागिरहेको छ । बजार खुलेको केही समयसम्म उकालो लागेको नेप्से, कारोबारको आधा घन्टापछि ओरालो लाग्न थालेको थियो । नेप्से घटे पनि यस दिन कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । लगानीकर्ता अहिले ‘पर्ख र हेर’को अवस्थामा रहेको एक ब्रोकरले बताए । समग्र वातावरण पुँजीबजार मैत्री भए पनि बजार बढ्न नसकेपछि लगानीकर्ता अन्योलमा परेका छन् । अहिलेको बजारलाई बुक क्लोजले केही हदसम्म प्रभावित पारेको छ । ठूला कम्पनीहरूको मूल्य समायोजनका कारण कम्पनीहरूको मूल्यसँगै नेप्से परिसूचक पनि घट्न पुगेको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाइसकेका छन् । यसले बजारमा सकारात्मक प्रभाव पार्नुपर्ने लगानीकर्ताको भनाइ छ । तर, सोविपरीत बजार ओरालो लागेपछि लगानीकर्ता ‘पर्ख र हेर’को रणनीति अपनाउन बाध्य भएका हुन् ।

नेप्से परिसूचक यस दिन ७ दशमलव २२ अंक घटेर १ हजार १ सय ७० दशमलव ७९ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव ३० अंक घटेर २ सय ४८ दशमलव ५६ बिन्दुमा पुगेको छ । यस दिन १ सय ५६ कम्पनीको ४ हजार २ सय ५२ पटकको कारोबारमा ३१ करोड ३ लाख १४ हजार २ सय २२ रुपैयाँबराबरको १३ लाख ६३ हजार ८ सय ५४ कित्ता सेयर खरिद–बिक्री भएको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ४६ दशमलव ८४ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

कारोबार रकम र सेयर संख्याका आधारमा यस दिन नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन ३ करोड ३२ लाख ८ हजार २ सय १९ रुपैयाँबराबरको १ लाख ५२ हजार ७ सय ७६ कित्ता सेयर खरिद–बिक्री भएको छ । कारोबार संख्याका आधारमा भने यस दिन प्रभु बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन २ सय ८० पटकको कारोबारमा २ करोड ५२ लाख ८९ हजार रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ । बैंकले १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका कारण लगानीकर्ता सोतर्फ आकर्षित भएका हुन् । नागरिक लगानी कोषको सेयर मूल्य यस दिन ७ दशमलव शून्य ५ प्रतिशत बढेको छ । ६ प्रतिशत नगद लाभांश घोषणा गरेको भार्गव विकास बैंकको सेयर मूल्य यस दिन ७ दशमलव ५८ प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ५६ कम्पनीमध्ये यस दिन १५ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १ सय १७ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी २४ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ । 

आइतबार कारोबारमा आएको अन्य समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक ओरालो लागेको छ । यस दिन अन्य समूहको परिसूचक १ दशमलव ३२ प्रतिशत बढेको छ । लघुवित्त समूहको परिसूचक यस दिन १ दशमलव ६४ प्रतिशत घटेको छ । त्यसैगरी, निर्जीवन बिमा समूहको परिसूचक १ दशमलव ३९ प्रतिशत, जलविद्युत् समूहको १ दशमलव २ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ९८ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव ९८ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ७२ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ६८ प्रतिशत, होटेल समूहको शून्य दशमलव ४५ प्रतिशत र वित्त समूहको शून्य दशमलव २७ प्रतिशत घटेको छ ।