Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ भदौ १८ बुधबार ११:११:००
Read Time : > 1 मिनेट
प्रदेश

नगरपालिकामा दमकल छ, चालक छैनन् : आगलागीबाट ५७ लाखको क्षति

Read Time : > 1 मिनेट
२०७६ भदौ १८ बुधबार ११:११:००

चन्दननाथ नगरपालिका–१ आचार्यवाडाका जगतबहादुर रावतको घरमा सोमबार राति आगलागी हुँदा ५७ लाखबराबरको क्षति भएको छ । बिजुलीको तार सर्ट भएपछि आगलागी भएको प्रहरीले जनाएको छ । नगरपालिकाको दमकल सञ्चालन नहुँदा आगलागीबाट धेरै क्षति भएको पीडित जगतबहादुुर रावतले गुनासो गरे । 

आगलागीबाट सामुदायिक सहरी गाउँघर क्लिनिक बाटुली कुलालको होटेल र घरधनी जयबहादुर भण्डारीले सञ्चालन गरेको खाद्यान्न पसल पूर्णरूपमा जलेर नष्ट भएको छ । क्लिनिककोे सबै औषधि जलेर नष्ट हुँदा बिरामीको उपचारमै समस्या भएको क्लिनिकका इन्चार्ज जानकी महतले बताइन् । नगरपालिकाको दमकल सञ्चालन नहुँदा नगरक्षेत्रमा आगलागी हुँदा नियन्त्रणमा समस्या हुँदै आएको गुनासो स्थानीयले गरेका छन् ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेका अनुसार आगो नियन्त्रणका लागि मेयर कान्तिका सेजुवाललाई फोन गर्दा स्विचअफ भएकोले आगो नियन्त्रणमा समय लागेको हो । प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले झन्डै तीन घन्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट मानवीय क्षति नभए पनि घरसहित सम्पूर्ण धनमाल जलेर नष्ट भएको स्थानीय गौरीनन्द आचार्यले बताए । ‘आपत्कालीन अवस्थामा दमकल प्रयोगमा नआउनु कर्मचारी र जनप्रतिनिधि दुवैको गैरजिम्मेवारीपना हो,’  आचार्यले भने ।

आगलागीबाट घर मालिक जयबहादुर रावतको मात्रै करिब ५२ लाख बराबरको क्षति भएको छ ।  सामुदायिक सहरी क्लिनिकमा रहेको औषधि जलेर नष्ट हुँदा चार लाख ८५ हजार रुपैयाँ बराबरको क्षति भएको पीडित महतले बताइन् । त्यसैगरी, बाटुली कुलालको पसल जल्दा एक लाख २६ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ 

पाँच महिनादेखि थन्कियो दमकल
चन्दननाथ नगरपालिकाले आर्थिक वर्ष ०७१/७२ मा झन्डै ६० लाख खर्च गरेर दमकल किनेको थियो । आगलागी नियन्त्रण गर्न भनेर किनिएको दमकल झन्डै पाँच महिनादेखि त्यसै थन्किएर बसेको छ । सुरुमा तातोपानी गाउँपालिका–२ बाँबिराका तेज बुढाले दमकल चलाएका थिए । 

०७४ को स्थानीय तहको निर्वाचनपछि एक्कासि उनले चालकबाट राजीनामा दिए । त्यसपछि दमकल चालकविहीन भएको हो । नगरपालिकाले दमकलमा अर्को चालक राख्ने विषयमा कुनै पहल अघि बढाएको छैन । दमकलको पानी फायरिङ गर्ने मोटर बिग्रिएको छ । पाँच महिनादेखि दमकल बिग्रिए पनि जनप्रतिनिधिले मर्मतमा चासो दिएका छैनन् । 

नगरप्रमुख कान्तिका सेजुवालले दमकल दुईपटक मर्मत गरिएको बताए । ‘तर, हेवी सवारी लाइसेन्सवाला चालक नभेट्दा दमकल सञ्चालन गर्न सकेका छैनौँ,’ उनले भने, ‘चालक माग गरेर सार्वजनिक सूचना प्रकाशित गर्दा पनि दरखास्त परेन, अहिले आगलागीमा उद्धार गर्न नसक्नु हाम्रो दुःखद पक्ष हो ।’ चालक नभेटेसम्म दमकल सञ्चालनमा आउने अवस्था नरहेको उनले बताए । 

यसैबीच, आगलागीपीडित परिवारलाई विभिन्न निकायले राहत प्रदान गरेका छन् । स्थानीय प्रशासनको राहत उद्धार कोषबाट १५ हजार नगद प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताइन् । त्यसैगरी, चन्दननाथ नगरपालिकाले चामल, तेललगायतको सहयोग गरेको छ ।