मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
करुण थापा
२०७६ भदौ १८ बुधबार १०:४१:००
Read Time : > 1 मिनेट
सप्तरंग

सडकमा दमकल देख्दा फुरेको गीत

गीतको कथा

Read Time : > 1 मिनेट
२०७६ भदौ १८ बुधबार १०:४१:००

आगो लाग्यो दिलैमा दमकल बोलाइदेऊ
‘सगुन’ फिल्मका लागि चारवटा गीत तयार भइसकेका थिए । आइटम गीत रचना गर्ने जिम्मा शैलेश आचार्य दाइले लिनुभएको थियो । १० दिन बित्दा पनि उहाँले गीत लेख्नुभएको थिएन । निर्देशक नारायण पुरीले मलाई ‘यो गीत पनि प्रयास गर्ने हो कि’ भन्नुभयो । आइटम गीतको ट्र्याक मन परेको थियो र लेखूँलेखूँ पनि लागेको थियो ।

म मुक्तक र कविता लेख्ने मान्छे, जिन्दगीमा आइटम गीत लेखेको थिइनँ । त्यसको धुन गुनगुनाउँदै ट्याक्सीमा बसेँ । बाटोमा जे देख्यो त्यही गीत होलाजस्तो लाग्दै थियो । जावलाखेल पुगेपछि सडकमा दमकल देखेँ । ‘दमकल आगो निभाउने’ शब्द फुराउँदै अगाडि बढेँ ।

एकान्तकुनाको ओरालोमा मेरो घरनजिक पुगेपछि एक लाइन आयो, ‘आगो निभाउने दमकल’ । सडक पार गर्ने वेलामा ‘आगो लाग्यो दमकल बोलाइदेउ’ भन्ने शब्द फु-यो । पूरै लाइन अझै आएको थिएन । घरको गेटमा पुगेपछि ‘आगो लाग्यो दिलैमा दमकल बोलाइदेऊ’ भन्ने आइहाल्यो ।

घर छिरेर एक सिटिङमै गीत पूरा गरेँ । डायरीमा लेखेको रफ गीतलाई कम्प्युटरमा टाइप गरेँ । गीतको शब्द पढिसक्दा आफैँलाई लाज लाग्यो । भोलिपल्ट निर्देशकले ‘गीत लेख्नुभयो ?’ भन्दा ‘छैन’ भनेँ ।

फेरि घरमा गएँ, केही फुर्छ कि भनेर सोचेँ, तर केही आएन । सातादिन बित्यो, त्यो शनिबार फिल्मका सबै टिम बस्यौँ । ‘लौ दाइ, अब ढिलो भयो, स्टुडियोमै बसेर आइटम गीत लेख्नुस्,’ निर्देशक पुरीले भन्नुभयो । मैले गीत सुनाएँ ।

त्यो शब्द राम्रो कि नराम्रो भनेर संगीतकार सचिन सिंह अलमल्ल पर्नुभयो । निर्देशकले पनि द्विविधा प्रकट गर्नुभयो । धेरै बेरको छलफलपछि रेकर्ड गर्न थुप्देन भुटिया र शर्मिला बर्देवालाई बोलाइयो । शर्मिलाको चलचित्रमा पहिलो गीत थियो । उहाँले सचिन सिंहसँग ‘फिल्ममा पहिलोचोटि गीत गाउन दिनुभएको, त्यही पनि यस्तो जोकर गीत दिनुभएछ’ भन्नुभयो ।

राति ११ बजे गीत रेकर्ड भयो । सबै बसेर गीत सुन्यौँ, सबैको खुसीको सीमा थिएन । फिल्म आउनुअघि नै गीत सुपरहिट भइसकेको थियो । फिल्ममा शिव श्रेष्ठ र विपना थापाको नृत्य तथा राजु शाहको कोरियोग्राफी थियो ।