मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ भदौ १८ बुधबार ०७:४२:००
Read Time : > 1 मिनेट
समाचार

साउदी अरेबियाका लागि उडेका महिला ट्रान्जिटबाटै बेपत्ता

Read Time : > 1 मिनेट
२०७६ भदौ १८ बुधबार ०७:४२:००

तीन साताअघि वैदेशिक रोजगारीका लागि साउदी अरेबियाका लागि उडेका दुईजना नेपाली महिला ओमानको विमानस्थलबाट बेपत्ता भएका छन् । काठमाडौंको एक मेनपावर कम्पनीबाट साउदी उडेका ती महिला श्रम स्वीकृति लिएर गएका थिए । तर, कसरी ट्रान्जिटबाटै कहाँ बेपत्ता भए भन्ने विषयमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले छानबिन थालेको छ । 

प्रारम्भिक अनुसन्धानमा उनीहरूलाई मानव तस्करीमा संलग्न समूहले ओमानमै लगेर बिक्री गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । मानव बेचबिखनका घटनामा यो नयाँ शैली देखिएको ब्युरोका निर्देशक एसएसपी ईश्वरबाबु कार्की बताउँछन् । 

श्रम भिसामै मानव तस्करी 
श्रमबाहेक अन्य भिसामा खाडी मुलुकमा जान महिलालाई निकै गाह्रो भएपछि श्रम भिसामै मानव तस्करी हुन थालेको प्रहरीले जनाएको छ । श्रम भिसामा साउदी जानेहरूलाई बाटोबाटै गायब बनाएर अन्यत्र पुर्‍याइने गरेको ब्युरोले जनाएको छ । दुई युवती हराएको घटनामा मेनपावर कम्पनीले नै अनुसन्धानका लागि प्रहरीमा उजुरी दिएको थियो । प्रहरीले गरेको अनुसन्धानमा उनीहरू ओमान छिरेका छन् ।

‘साउदी जाने महिलालाई दलालले युएई र ओमानको समेत भिसा लगाइदिँदा रहेछन्,’ अनुसन्धानमा आबद्ध ब्युरोका एक अधिकारीले भने, ‘जुन देशमा ट्रान्जिट हुन्छ, त्यही देशको एयरपोर्टबाटै उनीहरूलाई गायब बनाएर अन्यत्र पुर्‍याउने गरेको खुलेको छ ।’ नेपाल र साउदी अरेबियाबीच सीधा उडान नभएकाले ओमान वा युएईको ट्रान्जिट प्रयोग हुने गरेको छ । त्यसैको फाइदा मानव बेचबिखनमा संलग्न गिरोहले उठाएको हो । 

मेनपावर कम्पनीले एक/दुई दिनअगाडि मात्र टिकट काट्ने भएकाले उनीहरूले यसरी युएई वा ओमानको समेत भिसा लगाउने गरेका थिए । मेनपावरबाट जाँदा भन्दा अवैध रूपमा जाँदा धेरै कमाइ हुने आश्वासन दिएर यसरी मानव तस्करी हुन थालेको प्रहरीले जनाएको छ । जसबाट मेनपावर कम्पनीसमेत पीडित हुन थालेका छन् । 

यो घटनाले मानव तस्करीको विकराल तस्बिर देखाएको प्रहरी अधिकारी बताउँछन् । यसमा अन्तरदेशीय गिरोह संलग्न रहेको उनीहरूको भनाइ छ । श्रम भिसाबाहेकको अवस्थामा नेपाली युवतीहरू खाडी देश जान पाउँदैनन् । विगतमा भारतबाट लैजाने गरिएकोमा भारतमा समेत नेपाली दूतावासको नो अब्जेक्सन लेटर अनिवार्य बनाइएपछि मानव तस्करीमा संलग्न गिरोहले नयाँ शैली अपनाएको हो । 

इराकको पानीजहाजमा लगेर बन्धक 
आकर्षक वैदेशिक रोजगारीको सपनामा दलालको पछि लागेका दुई युवक केही समय इराकको पानीजहाजमा बन्धक भए । बल्लतल्ल नेपाल फर्किएका उनीहरू न्यायका लागि प्रहरीमा पुगेका छन् । नौ/नौ लाख रुपैयाँ खर्च गरेर दलालको पछि लागेका उनीहरूलाई युरोपियन देशमा लैजाने सपना देखाइएको थियो । विभिन्न देश हुँदै इराक पुर्‍याएर पानीजहाजमा बन्धक बनाएर काम लगाइएको र पैसा पनि नदिएको उनीहरूले बताएका छन् । सो घटनाको पनि मानव बेचबिखन अनुसन्धान ब्युरोले छानबिन थालेको छ । 

मानव बेचबिखनका घटनालाई न्यूनीकरण गर्न तीनवर्षे रणनीति बनाएर अघि बढिएको ब्युरोका प्रमुख एसएसपी कार्की बताउँछन् । ‘पछिल्लो समय जबर्जस्ती श्रमका लागि मानव तस्करीका घटना बढेका छन्,’ उनले भने, ‘घटना बढे पनि उजुरी थोरै मात्र पर्ने गरेको छ, यस्ता घटना न्यूनीकरणका लागि नेपाली धेरै पुग्ने देशमा प्रहरी सहचारी तत्काल नियुक्त गर्नुपर्ने देखिन्छ ।’