मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
टिम बर्नर्स–ली
२०७५ पौष २३ सोमबार ०८:२०:००
Read Time : > 3 मिनेट
टर्निङ प्वाइन्ट्स-२०१९

कसरी जोगाउने वेबलाई ?

Read Time : > 3 मिनेट
टिम बर्नर्स–ली
२०७५ पौष २३ सोमबार ०८:२०:००

शक्तिशालीहरूलाई मात्र नभई सम्पूर्ण मानव जातिको सेवा गर्न वेबको संरक्षण गर्नुपर्छ, जसका लागि हामीले संघर्ष गर्नुपर्छ

वेबको विकास हामीले आशा गरेअनुरूप नभएको पछिल्ला वर्षहरूमा स्पष्ट भइसकेको छ । सहकार्य र सशक्तीकरणको साधनका रूपमा वेबको निर्माण गरिएको थियो । तर, बदमास र ट्रोलहरूले वेबलाई अपहरण गरेका छन् र विश्वभरिका मानिसलाई नियन्त्रण गर्न यसको प्रयोग गरेका छन् । 

शक्तिशालीहरूलाई मात्र नभई सम्पूर्ण मानव जातिको सेवा गर्न वेबको संरक्षण गर्नुपर्छ, जसका लागि हामीले संघर्ष गर्नुपर्नेछ । त्यसैले त म विश्वभरिका सरकार, कम्पनी र नागरिकलाई वेबको आधारभूत सिद्धान्तको एक सेटमा प्रतिबद्धता व्यक्त गर्न आग्रह गरिरहेको छु ।

संयुक्त राष्ट्रसंघआबद्ध ब्रोडब्यान्ड कमिसन फर डिजिटल डेभलपमेन्टले हालै प्रकाशित गरेको प्रतिवेदनअनुसार, सन् २०१९ कोे अन्त्यसम्म विश्वका ५० प्रतिशत जनसंख्याले इन्टरनेटको प्रयोग गर्नेछन् ।

वेबको ३० वर्षीय इतिहासको कुनै पनि वेला यस उत्कर्षप्रति सामूहिक प्रतिक्रिया गज्जब हुने थियो– ‘महान् उपलब्धि ! अब सबै मानिसमा जतिसक्दो छिटो यसको पहुँच पुर्‍याउनुपर्छ ।’

तर, विश्व अहिले फेरिएको छ । वेबलाई राम्रो काम गर्ने एक ठूलो सम्भावित शक्तिका रूपमा हेरिएको वर्षौंपछि यस्तो सकारात्मकतामा ग्रहण लागेको छ । वेबले समाजमा क्षति पुर्‍याउँछ कि भन्ने डरले सर्वत्र छाएको छ । 

यस्ता चिन्ताहरू जायज छन् । विगतका वर्षहरूमा असन्तोष वा विमति दबाउन तथा र विपक्षीलाई आक्रमण गर्न राज्यहरूले प्रायोजित ट्रोलिङहरू चलाइरहेको हामीले देखेका छौँ । ह्याकिङ तथा विदेशी हस्तक्षेपले राजनीति विकृत बनेको र निर्वाचन कमजोर बनेका उदाहरणहरू पनि हामीले देखेका छौँ । र, सामाजिक सञ्जालमा गलत समाचार फैलिँदा अराजकता, भ्रम र घातक हिंसाको जन्म कसरी हुन्छ पनि हामीले देख्दै र सम्भवतः भोग्दै पनि आएका छौँ । 

सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा मतदाता नियन्त्रण गर्न बेलायती परामर्शदाता संस्था क्याम्ब्रिज एनालिटिकाले आठ करोड ७० लाख फेसुबक प्रयोगकर्ताको व्यक्तिगत सूचना प्रयोग गरेको हामीले गत वर्ष मात्रै थाहा पायौँ । त्यसपछि मात्रै हामी आफ्नो तथ्यांकमाथिको नियन्त्रण गुमाएकोमा झसंग भयौँ, जसको परिणाम विश्वलाई नै परिवर्तन गर्न सक्ने क्षमताको हुन्छ भन्ने थाहा पायौँ । 

तर, हामीले वेबबारेको प्रतिबद्धता तोड्नु भने हुँदैन । सबै प्रविधिमा जोखिम त हुन्छ नै । गम्भीर दुर्घटना हुने सम्भावना हुँदाहुँदै पनि हामी कार चलाउँछौँ, ड्रगको दुरुपयोग र कुलतमा फस्ने खतराबीच पनि प्रेस्किप्सनअनुसारको औषधि प्रयोग गर्छौं । जोखिमको व्यवस्थापन गर्दै अवसरबाट फाइदा उठाउन सकियोस् भनेर हामी नयाँ नवप्रवर्तनमा सेफगार्डहरू पनि बनाउँछौँ ।

वेब विश्वव्यापी प्लेटफर्म हो र सीमादेखि संस्कृतिसम्म यसका चुनौती फैलिएका छन् । जसरी विश्वभरिका लाखौँ मानिसको सहकार्यबाट वेबको निर्माण भएको थियो त्यसरी नै यसलाई सबैका लागि उत्कृष्ट साधन बनाउन पनि हामी सबैको एकीकृत क्षमताको आवश्यकता पर्छ । 

भोलिका दिनमा प्रयोग हुने वेबको निर्माण गर्ने क्रममा हामीले कस्तो वेब बनाउन चाहेको हो, त्यसलाई प्रस्ट्याउने मार्गदर्शक सिद्धान्तको सेट बनाउनुपर्छ । यिनीहरूको पहिचान गर्न सजिलो छैन । राष्ट्र, संस्कृति र रुचिका विविध समूहलाई समेट्ने खालको सम्झौतामा पुग्न सकिँदैन ।

तर, सबैजना सहमत हुने खालको न्यूनतम आधारभूत सिद्धान्तको विकास गर्न भने सम्भव छ भन्ने मेरो विश्वास छ । यसले अनलाइनमा आउन बाँकी विश्व जनसंख्याको ५० प्रतिशतलगायत सबैका लागि उपयुक्त हुने खालको वेब बनाउन सकिन्छ । 

सरकार, कम्पनी र व्यक्ति सबैको आ–आफ्नै भूमिका हुन्छ । सन् २००९ मा मैले वेबलाई सार्वजनिक हितका लागि सुरक्षित गर्न भनेर वल्र्डवाइड वेब फाउन्डेसन भन्ने संस्थाको स्थापना गरेँ ।

वेब विश्वव्यापी प्लेटफर्म भएकाले सीमादेखि संस्कृतिसम्म यसका चुनौती फैलिएका छन् । जसरी विश्वभरिका लाखौँ मानिसको सहकार्यबाट वेबको निर्माण भएको थियो, त्यसरी नै यसलाई सबैका लागि उत्कृष्ट साधन बनाउन पनि हामी सबैको एकीकृत क्षमता आवश्यक हुन्छ ।

यो संस्थाले सबै मानवजातिको सेवा गर्ने खालको वेबको सुरक्षा गर्नु हरेक क्षेत्रको जिम्मेवारी तोकिएका प्रमुख सिद्धान्तको एउटा सेट निर्माण गरेको छ । हामीले सबैजनालाई यस सिद्धान्तप्रति समर्थन गर्न र सन् २०१९ मा वेबका लागि औपचारिक सम्झौता निर्माण गर्ने कार्यमा हामीसँग सहकार्यका लागि अनुरोध गरिरहेका छौँ । 

आफ्ना नागरिकलाई उनीहरूको अधिकारको सम्मान गर्ने खालको स्वतन्त्र वेबसँग जोड्ने दायित्व सरकारको रहने कुरा यस सिद्धान्तले स्पष्ट गरेको छ । त्यस्तै, वेबलाई सुरक्षित, सुलभ बनाउन र प्रयोगकर्ताको तथ्यांक सुरक्षित भएको सुनिश्चित गर्ने भूमिका इन्टरनेट कम्पनीहरूले निर्वाह गर्नुपर्ने पनि ती सिद्धान्तको सेटमा उल्लेख छ । 

सहानुभूतिपूर्ण व्यवहार गर्न र अफलाइनमा आफूलाई सह्य नहुने प्रकारका व्यवहार अनलाइनमा पनि रोक्ने दायित्व हरेक नागरिकको रहेको पनि सिद्धान्तमा स्पष्ट गरिएको छ । सबैभन्दा महत्वपूर्ण त के हो भने हामीले सबैका लागि सेवा गर्ने खालको वेब बनाउन खडा हुनुपर्ने र संघर्ष गर्नुपर्ने बताइएको छ । वेबको प्रयोग गर्ने हामी अर्बाैं मानिसले यसको रक्षा गरेनौँ भने अरू कसले गर्छ ?

यी आधारभूत सिद्धान्तमा आधारित रहेर वेबका लागि हुने सम्झौताले भोलि वेब प्रविधिको निर्माण गर्दा सरकारको डिजिटल नीतिसम्बन्धी एजेन्डा र कम्पनीको निर्णयलाई मार्गनिर्देशन गर्न नयाँ नियमको स्थापना गर्छ । तिनले सम्झौताको विकासमा सहयोग पुर्‍याउँछन् ।

तिनले वेबको भविष्यप्रति आफ्नो प्रतिबद्धता मात्रै देखाउँदैनन्, त्यसको आकार निर्माणमा पनि उनीहरूको सहयोग रहन्छ । यदि हामी हाम्रा लागि काम गर्ने वेब चाहन्छौँ भने वेबको भविष्यका लागि पनि हामीले काम गर्नैपर्छ । 

१० वर्षअघि मैले र रोजोरी लिथले वल्र्डवाइड फाउन्डेसनको सुरुवात गर्दा २५ प्रतिशतभन्दा कम मानिसहरू अनलाइनमा आबद्ध थिए । त्यतिवेला बढीभन्दा बढी मानिसलाई अनलाइनमा जोड्ने र वेबले दिने सबै फाइदाहरूबाट सबैजना लाभान्वित होऊन् भन्नका लागि वेबलाई खुला र स्वतन्त्र बनाउने नै हाम्रो मुख्य काम थियो । वेबले जीवन बचाउँछ र जनजीविका सिर्जना गर्छ ।

यसले विश्वका हरेक सूचनालाई हाम्रो औँलामा ल्याइदिन्छ र विश्वको जुनसुकै कुनामा रहेका आफ्ना आफन्त र साथीभाइलाई नजिक ल्याउँछ । यसले सामाजिक गतिशीलतालाई सशक्त बनाउँछ । ठूलो संख्यामा नयाँ उद्योगको पनि निर्माण गरेको छ । साथै, व्यापक नवप्रवर्तनलाई प्रोत्साहितसमेत गरेको छ । 

तुलनात्मक रूपमा यो नयाँ आविष्कार भएका कारण वेबले आजसम्म जे गरेको छ, त्यो उसले दिन सक्ने कुराको सुरुवात मात्रै हो । विश्वको अर्को आधा जनसंख्या अनलाइनमा प्रवेश गरेर वेबको विस्फोटक सिर्जनात्मकतामा योगदान दिँदा के हासिल होला, एकपटक कल्पना गरौँ त ।

वेबले सिर्जना गर्ने चुनौतीको सामना गर्ने भोक कहिल्यै पनि ठूलो नहुनुचाहिँ खुसीको कुरा हो । थप अर्बाैं मानिसलाई वेबमा जोड्न लायक बनाऔँ । मानवसेवा गर्ने वेबको खुला उद्देश्यको विपक्षमा रहेका शक्तिलाई नष्ट गर्ने काममा सन् २०१९ लाई प्रयोग गरौँ । सबैका लागि स्वतन्त्र र खुला वेब आजको आवश्यकता हो ।