मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका बाँके
२०७६ भदौ १५ आइतबार १३:४५:००
Read Time : > 1 मिनेट
प्रदेश

थारू समुदायमा ‘अट्बारी’को रमझम

आइतबार अट्बारी मनाइँदै, पुरुषहरू दिनभर निराहार व्रत बस्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका बाँके
२०७६ भदौ १५ आइतबार १३:४५:००

थारू समुदायले १५ भदौमा अट्बारी पर्व मनाउँदै छन् । हिन्दू नारीले मनाउने तिजको आसपासमामा आइतबारका दिन मनाइने भएकोले यो पर्वलाई अट्वारी भनिएको हो । कृष्ण जन्माष्टमीको दुई हप्तापछि अर्थात् कुशे औँसीपछि पर्ने आइतबारका दिन थारू समुदायले ‘अट्वारी’ मनाउँदै आएका छन् ।

माघीपछि ‘अट्वारी’ पर्वलाई थारू समुदायले दोश्रो ठूलो पर्वको रूपमा मनाउने गरेको थारू संस्कृतिका जानकार अशोक चौधरीले बताए । पश्चिम तराईको दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारू समुदायले मनाउने अट्वारी पर्वमा पुरुषले व्रत बस्ने परम्परा छ । शनिबारको रात दर खाएका पुरुषले दिनभर निराहार व्रत बस्ने गरेको थारू भाषाका अन्वेषकसमेत रहेका चौधरीले बताए । 

काठबाट निकालेको आगोबाट प्रसाद तयार
दिनभर निराहार व्रत बसेका पुरुषले मध्यान्ह भएपछि गन्यारी काठबाट आगो निकालेर देवतालाई चढाउने प्रसाद तयार गरिन्छ । देवतालाई चढाउने रोटीपुरी पकाउनका लागि गन्यारी काठबाट निकालिएको आगो मुखले फुक्न मिल्दैन । ‘गन्यारी काठबाट निकालिएको आगो फुकेमा जुठो हुने भएकोले बिर्सेर फुकेमा फेरि अर्को आगो निकाल्नुपर्छ,’ थारू गुरुवा एकराज चौधरीले भने । अट्वारीमा भीमको पूजा गरिन्छ । भीमलाई आगोको प्रतीकको रूपमा मानेर आगोको पूजा गरिँदै आएको उनले बताए । उनका अनुसार, सबैभन्दा पहिलो रोटी पाँच पाण्डवमध्ये सबैभन्दा बलियो मानिने भीमको लागि पकाइन्छ । पहिलो रोटी एकतर्फबाट पकाइन्छ । 

भीमका लागि एकतर्फ मात्र पकाएको रोटी
अट्वारी मनाउने चलन ऐतिहासिक घटनासँग जोडिएको छ । प्राचीन कालमा दाङको सुकौराकोटमा राजकाज गर्ने दंगीशरण राजा र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ । किंवदन्तीअनुसार पाँच पाण्डव र दाङका थारू राजा दंगीशरणबीच घनिष्ट सम्बन्ध रहेको र द्रौपदीसहित पाँच पाण्डव सुर्खेतको काँक्रेविहारमा घुम्न गएका थिए । सोही समयमा दाङका थारू राजा दंगीशरणको राज्यमा शत्रुले आक्रमण गरेको खबर पाउनासाथ तावामा पकाउन राखेको रोटी छोडेर भीम दंगीशरणको पक्षमा लडाइँ लडेको र शत्रुलाई पराजित गरेको किंवदन्तीअनुसार थारूले अट्वारीमा भीमलाई एकतर्फ मात्र पकाएको रोटी चढाउँदै आएको चौधरीले बताए । 

सोही मान्यताअनुसार थारू समुदायले भीमजस्तै बलियो बन्न पाऊँ भनी वरदान माग्न अट्वारीमा व्रत बस्न थालेको थारू भाषा तथा संस्कृतिका अन्वेषक चौधरीले बताए । भीमको सहयोगमा दंगीशरणले आइतबारका दिन विजय प्राप्त गरेको स्मरणमा थारू समुदायले आइतबारका दिन अट्वारी मनाउन थालेको भन्ने विश्वास छ,’ उनले भने । 

एकतर्फबाट मात्र पकाएको रोटी भीमलाई चढाइसकेपछि अन्य देवतालाई रोटीपुरी चढाउने चलन छ । दिनभर निराहार व्रत बसेकाहरू बेलुकीपख भीम र अन्य देवीदेवतालाई रोटीपुरी, फलपूmल, दही चढाइसकेपछि आफ्ना चेलीबेटीका लागि एउटा भाँडोबाट अर्को भाँडोमा राखिन्छ । यसलाई थारू समुदायले फलहार गर्ने भन्दछन् । पूजाआजा गरिसकेपछि घरका सबै बसेर खाने चलन छ । फलहार गरेको परिकार आफ्नो दिदीबहिनीलाई कोसेली (अग्रासन) दिने चलन छ । 

सम्बन्ध जोड्ने पर्व  
अट्वारीको दोस्रो दिन बिहान नुहाएर भात र तरकारीको फलाहार गर्ने चलन थारू समुदायमा रहेको थारू साहित्यकार सुशील चौधरीले बताए । फलाहारका लागि तीन या सातथरीको तरकारी र भात पकाएर अट्वारीको पहिलो दिनझैँ भात र तरकारीबाट आधा भाग निकालेर अर्को भाँडोमा राखिन्छ । यसलाई थारू समुदायले ‘कहर्ना’ भन्दछन् । 

थारू जातिमा अट्वारीमा फलहार गरेको रोटीपुरी र तरकारी तथा भात आफ्नो दिदीबहिनीलाई कोसेली (अग्रासन) को रूपमा दिने गर्दछन् । अट्वारीमा अग्रासन दिने चलन पहिलेबाट चलेकोले फलहार गरेको दिन अर्थात् अट्वारीको भोलिपल्ट चेलीबेटीहरू अग्रासनको पर्खाइमा बसेका हुन्छन् । थारू समुदायको अट्बारीले दाजु र भाइको सम्बन्धलाई जोड्ने र सम्बन्ध बढाउने पर्वको रूपमा लिइन्छ ।