बहकावमा नागरिक चेतना

२०७६ भदौ १३ शुक्रबार १५:४६:००

हिजो आज खासगरी हाम्रो राजनैतिक नेतृृत्व, सरकार र सम्पूर्ण क्षेत्रका आम मानिसले बोल्ने गरेको वा ज्यादा अपेक्षित विषय यो हो कि लामो समयदेखिको नेपालको निरङकुश शासन व्यवस्था, राजनैतिक अस्थिरता, द्वन्द्व र अशान्तिको कहालिलाग्दो समयक्रम समाप्त भयो । अहिले मुलुक दिगो शान्ति, सुशासन र विकासमार्फत समृद्धिको चरणमा प्रवेश गरिरहेको छ । आर्थिक विकास आफैंमा बृहत विषय हो । जनताको जीवनस्तरमा व्यापक सुधार, आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा जनसहभागिता, पहुँच, प्राप्त उपलब्धीहरुको समानुपातिक वितरणदेखि मानवीय विकास, नागरिकको ज्ञान, विवेक र चेतनाको स्तरलाई समेत विकास समृद्धि अन्तरगत नै अध्ययन तथा मूल्यांकन गरिन्छ ।

अर्थतन्त्रका विभिन्न अध्ययन प्रतिवेदन साथै राज्यका घोषणाहरुले पछिल्लो समय नागरिकको शिक्षामा पहँच अभिबृद्धि, सूचना प्रविधीको तीब्र विकासकले समाजमा जागरण ल्याएको छ । फलस्वरुप नागरिक चेतनाको स्तर तीब्र रुपमा बृद्धि भएको पाइन्छ । तर ऐतिहासिक संविधानसभाबाट संविधान जारी भई कार्यान्वयन भइरहेको पछिल्लो समयमा घटेका केही घटनालाई हेर्दा विकसित भनिएको नागरिक चेतना बहकिन थालेको देखिन्छ । यसले समाज र समग्र राज्य प्रणालीमै नकरात्मक प्रभाव पारेको आभास मिल्दछ । आज सचेत नागरिक राज्यले अवलम्बन गरेको संविधान, ऐन कानुन पालना नगरि किन कानुनको अपब्याख्या गर्न तल्लिन छ ? किन राज्यका प्रतिनै विषबमन भरहेको छ ? के नागरिकले अधिकारको प्राप्ती र उपयोग सँगसँगै राज्यप्रतिको अपनत्व बोध गर्नुपर्दैन ? बिधी र कानुनको शासन, नागरिक स्वतन्त्रता, मानवअधिकारको प्रत्याभुतीसहित कानुनी सर्वोच्चताबाट संचालित हाम्रो राज्यप्रणाली र संविधानको यही मार्गनिर्देशलाई स्वीकार गर्न हामी किन हिच्कीचाउदै छाैं ?

आज सचेत नागरिक राज्यले अवलम्बन गरेको संविधान, ऐन कानुन पालना नगरि किन कानुनको अपब्याख्या गर्न तल्लिन छ ? किन राज्यका प्रतिनै विषबमन भरहेको छ ? के नागरिकले अधिकारको प्राप्ती र उपयोग सँगसँगै राज्यप्रतिको अपनत्व बोध गर्नुपर्दैन ?

विगतमा कानुन विपरितका कार्यलाई राजनैतिक नेतृत्वले संरक्षण र प्रभावित बनाउदै आएको नेपाली समाजमा आज नागरिक आफैले चुनेर पठाएको जनप्रतिनीधिबाट बनाइएका कानुनलाई लहैलहै, बहकाव र भिडबाट उद्देलित भएर किन प्रभावित र अपब्याख्या गदैछन् ? विश्वकै उत्कृष्ट संविधान मध्येको एक मानिएको हाम्रो वर्तमान संविधानले नागरिकलाई उल्लेख्य मात्रामा अधिकार र मौलिक हकहरुको व्यवस्था गरेको छ । भलै कतिपय मौलिक हकहरु कानुन बनाएर कार्यन्वयन गर्न बाँकि छन् । प्राप्त हकअधिकार मध्ये पूर्ण नागरिक स्वतन्त्रता पूर्ण प्रेस स्वतन्त्रता अन्तरगत हामी नागरिकले जुनस्तरमा अहिले त्यसको दुरुपयोग त गरिरहेका छैनौ । पूर्ण स्तन्त्रताका नाममा हाम्रो समाजमा संचालित सञ्चारमाध्यम र हामी नागरिक विना कुनै आधार र ठोस प्रमाण बिना नै कुनै मानिसले वषौ वर्षको मेहेनत र परिश्रमले आर्जन गरेको निजको इज्जत र प्रतिष्ठा हामी आम नागरिक आँफैं कानुनको ब्याख्याता (न्यायाधीस) र पत्रकार बनेर सामाजिक संजाल, विभिन्न संचारका माध्यमको प्रयोग गरेर क्षणभरमै रसातलमा झारिदिन्छौ । र कसैले जीवनकालमा जस्तोसुकै अपराध गरेको भएपनी निजको देवत्वकरण क्षणभरमै गरिरहेका छौं । भनिन्छ नि, कानुनी राज्य भनेको व्यक्ति प्रधान नभइ विधिले शासन र राज्यका निकायहरु संचालित हुनुपर्दछ । तर हामी सबै नागरिक पत्रकार तथा न्यायाधीश बन्दै गयौँ भने हामी विधिको शासनमा रहिरहन सक्छौं र प्राप्त लोकतन्त्रको बचावट गर्न सक्छौँ ? यस्ता प्रश्नहरुको समाधान राज्यले गर्न पर्छ भनी हामी राज्यप्रति दोष देखाउँछौँ तर नागरिक दायित्व किन बिर्सिरहेका छौँ ?

पछिल्लो पटक एकजना पत्रकारले गरेको भनिएको आत्महत्या वा हत्याका सन्दर्भमा नेपाली समाजको खासगरी युवा विद्यार्थीवर्गको बीचमा यो वा त्योलाई अपराधी करार गर्ने नाममा कानुन र अदालत भन्दा अघि बढेर हामी नागरिकहरुले नै बहकाव र लहडका भरमा अपराधी किटान गर्दै हिँड्याैं । जसले समग्र चितवन लगायत समग्र देशको सामाजिक व्यवस्थामाथि नै धक्का पुगेको आभास मिल्दछ । सचेत नागरिकको दायित्वभित्र पर्दछ कि, मतदानमा भाग लिने र असल जनप्रतिनिधिको छनौट गरी आफ्ना भावनाको प्रतिनिधित्व हुने गरी कानुन निर्माण गर्ने र उनीहरुले बनाएको कानुन पालना गर्ने । तर हामी आफूलाई सचेत नागरिक हौँ भनीरहँदा हामीले निर्वाचित गरेर पठाएका जनप्रतिनिधिले गलत कानुन बनाए फलस्वरुप हामी सडकमा भिड थुपारेर कानुनको पालना र कार्यान्वयनका विरुद्धमा भेला भएका हौँ ।

राज्यको सम्प्रभुबाट जारी कानुन परिवर्तन गर्न सक्ने विधिवत बाटो हामी नागरिकमा संविधानत प्राप्त सार्वभौमसत्ताको प्रयोग मार्फत गर्न सकिन्छ । राजनीतिक प्रणाली र नेतृत्व मन नपरेको भए निर्वाचन मार्फत् यो भन्दा सक्षम र योग्य प्रणाली र नेतृत्व छनौट गर्न पाउने हाम्रो अधिकारको प्रयोग किन गर्दैनौँ ? नागरिकमा हुनुपर्ने चेतना कम वा पर्याप्त भएर पनि त्यसको वस्तुनिष्ठ र व्यहारिक प्रयोग नगरिए देश सदैव अधोगतितिर जाने निश्चित प्रायः छ । 
 

सम्बन्धित समाचार