१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ पौष १ आइतबार १०:०२:००
Read Time : > 2 मिनेट
अर्थ

सातामा करिब २८ अंक बढ्यो नेप्से

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १ आइतबार १०:०२:००

काठमाडौं । गत साता नेप्से परिसूचक २७ दशमलव ९४ अंक बढेको छ । पाँच कारोबार दिनका लागि खुला रहेको बजारमा १ कारोबार दिन नेप्से घटेको थियो भने ४ कारोबार दिन नेप्से बढेको थियो । बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाएपछि नेप्से ओरालो लागेको थियो । ब्याजदर बढे पनि नियामक निकायहरू मौन रहेका कारण गत आइतबारदेखि लगानीकर्ताले रिले अनशन सुरु गरेका छन् ।

लगानीकर्ताले अर्थमन्त्रीको राजीनामासहितको अन्य १३ बुँदे माग राखेर सो अनशन सुरु गरेका थिए । अघिल्लो साता नेप्से ओरालो लागेर तीन वर्ष यताकै न्यून बिन्दुमा पुगेपछि सूचीकृत कम्पनीहरूको सेयर मूल्य सस्तिएको छ । लाभांश संकलन गर्ने समयमा सस्तो मूल्यमा सेयर खरिद गर्न लगानीकर्ता बजार प्रवेश गरेपछि नेप्से बढेको एक ब्रोकरले बताए । यसका साथै गत सातादेखि नेप्सेले सुरु गरेको अनलाइन प्रणालीले पनि लगानीकर्ताको मनोबल बढाउन टेवा पुगेको उनको भनाइ छ । हालसम्म धेरै लगानीकर्ताले मात्र सो प्रणालीको प्रयोग गरे पनि बजारमा भएको प्राविधिक विकासका कारण लगानीकर्ताको मनोबल बढेको हो ।

बजार सकारात्मक दिशामा अघि बढेपछि लगानीकर्ता पनि उत्साहित भएका छन् । बैंकको ब्याजदर र लगानीकर्ताको अनशनका कारण गत साताको कारोबार रकम केही प्रभावित भएको देखिन्छ । बैंकहरूले ब्याजदर घटाए र अनशनरत लगानीकर्ताको माग सम्बोधन भए बजार अझ बढ्ने लगानीकर्ताको अपेक्षा रहेको छ । गत साताको अन्तिम कारोबार दिन नेप्सेको १४ दिने आरएसआई ४२ दशमलव ३३ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

गत साता १ सय ८० कम्पनीको १७ हजार १ सय ९७ पटकको कारोबारमा १ अर्ब ६३ करोड ७६ लाख ४० हजार रुपैयाँबराबरको ५१ लाख ३६ हजार ९ सय २४ कित्ता सेयर खरिद–बिक्री भएको छ । अघिल्लो साता १ सय ८४ कम्पनीको २२ हजार ७ सय ९९ पटकको कारोबारमा २ अर्ब २२ करोड २ लाख १० हजार रुपैयाँबराबरको ७३ लाख ४७ हजार ३ सय १ कित्ता सेयर खरिद–बिक्री भएको थियो ।

अघिल्लो साताको अन्तिम कारोबार दिन १ हजार १ सय २० दशमलव ८४ बिन्दुमा बन्द भएको बजार गत साताको बिहीबार १ हजार १ सय ४८ दशमलव ७८ बिन्दुमा बन्द भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन २ सय ३८ दशमलव ३३ बिन्दुमा बन्द भएको सेन्सेटिभ इन्डेक्स गत साता ६ दशमलव ३७ अंक घटेर २ सय ४४ दशमलव ७० बिन्दुमा पुगेर बन्द भएको छ ।

गत साता कारोबारमा आएको होटेल समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक बढेको छ । निर्जीवन बिमा समूहको परिसूचक गत साता सर्वाधिक १ सय ३८ दशमलव १४ अंक बढेको छ । त्यसैगरी, जीवन बिमा समूहको परिसूचक १ सय ३३ दशमलव ५३ अंक, जलविद्युत्् समूहको ५६ दशमलव ९७ अंक, वाणिज्य बैंक समूहको ३१ दशमलव ४७ अंक, विकास बैंक समूहको ३१ दशमलव २५ अंक, लघुवित्त समूहको १५ दशमलव ९५ अंक, उत्पादनमूलक समूहको ८ दशमलव १७ अंक, वित्त समूहको ७ दशमलव ५१ अंक, व्यापार समूहको २ दशमलव २ अंक र अन्य समूहको शून्य दशमलव शून्य ३ अंक बढेको छ । कारोबारमा आएको होटेल समूहको परिसूचक गत साता २० दशमलव ९८ अंक घटेको छ ।  

गत साता कारोबार संख्याका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड अगाडि रहेको छ । गत साता सो वाणिज्य बैंकको १ हजार ४ सय १५ पटकको कारोबारमा १२ करोड २६ लाख ९१ हजार रुपैयाँबराबरको १ लाख ८९ हजार ८ सय ७९ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

 बिओकेको लाभांश
बैंक अफ काठमाडौं लिमिटेडले २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । मंसिर २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट १४ प्रतिशत बोनस सेयर तथा ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । आगामी वार्षिक साधारणसभा र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् सो लाभांश वितरण गरिनेछ । 

मिर्मिरेको साधारणसभा 
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २१ गते मिराबल रिसोर्ट एन्ड होटेल, धुलिखेलमा आठौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभाको विशेष प्रस्तावमा २४ प्रतिशत बोनस सेयर, सोको कर प्रयोजनका लागि १ दशमलव २६ प्रतिशत नगद लाभांश, बोनस सेयर वितरणपश्चात् कायम चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, मर्जर अथवा एक्विजिसन रहेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १० गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 

माछापुच्छ्रेको साधारणसभा
माछापुच्छ्रे बैंक लिमिटेडले पुस २० गते होटेल पोखरा ग्रान्ड, पार्दी, पोखरामा बीसौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने, सञ्चालक समितिको निर्वाचन, लेखापरीक्षक नियुक्ति र मर्जर/एक्विजिसन गर्ने प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि बैंकले पुस ६ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने भएको छ ।