१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सुशील वज्राचार्य
२०७५ पौष १ आइतबार ०९:४१:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

बिमा क्षेत्रका लागि अबको समय  

Read Time : > 3 मिनेट
सुशील वज्राचार्य
२०७५ पौष १ आइतबार ०९:४१:००

नेपालमा बिमा कम्पनीको संख्यासँगै व्यवसाय पनि बढ्दै गएको छ । तर, कम्पनीहरू बढेसँगै अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको पनि सुनिन थालेको छ । कम्पनीहरू सहरमा मात्रै केन्द्रित हुँदा एउटै व्यवसाय खोसाखोस हुने सम्भावना छ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशील वज्राचार्य भने नेपालमा बिमा व्यवसायको बजारमा सकारात्मक र नकारात्मक दुवै पक्ष रहेको बताउँछन् । त्यसैले कमजोरीलाई खोजेर बहाना बनाउनुभन्दा जेजस्तो पूर्वाधार छ, त्यसैको सदुपयोग गरी अगाडि बढ्नुपर्ने उनको अनुभव छ । बिमा क्षेत्रमा २५ वर्ष बिताएका वज्राचार्य वर्तमान बिमा क्षेत्रका बारेमा यस्तो दृष्टिकोण राख्छन् :  

अबको समय बिमा क्षेत्रका लागि राम्रो छ 
स्थायी सरकार बनेको छ । मुलुकमा राजनीति स्थिरता छ । त्यसैले यतिवेला मुलुकको सबै क्षेत्र चलायमान बनेको छ । त्यसैले अबको समय बिमा क्षेत्रका लागि राम्रो छ । विकास निर्माणका काम हुन थालेका छन् । पुनर्निर्माणका काम हुन थालेका छन् । विकास निर्माणको काम हुनु भनेको बिमा कम्पनीका लागि अवसर हो । वैदेशिक रोजगारीमा गएका युवाहरू स्वदेशमा नै स्वरोजगार हुन थालेका छन् । विदेशमा सिकेको बिमाको संस्कृतिलाई नेपालमा पनि पछ्याइरहेका छन् । त्यसैगरी मुलुक संघीयतामा गइसकेको छ । सातै प्रदेशमा विभिन्न किसिमका संरचना निर्माण हुन थालेका छन् । यसले बिमा कम्पनीका लागि राम्रो वातावरण सिर्जना गरेको छ । 

विभिन्न सुविधा दिएर बिमाप्रति आकर्षित गर्न सकिन्छ
नेपालमा बिमाको बजार बिस्तारै बढ्दै छ । यो स्वाभाविक पनि हो । तर, हामीले सोचेजस्तै गरी बढ्न सकेको छैन । जोखिम सबै कुरामा हुन्छ । त्यसैले सबै कुराको बिमा आवश्यक पनि हुन्छ । तर, अनिवार्य गरेको बिमाबाहेक अन्य बिमामा मानिसहरू स्वस्फूर्त रूपमा आकर्षित भएका छैनन् । जस्तै, काठमाडांै उपत्यका भूकम्पीय दृष्टिकोणले उत्तिकै जोखिम छ । तर, उपत्यकाका कति घरको बिमा भएको छ भनेर हेर्ने हो भने धेरै कम मात्रै पाउन सकिन्छ । त्यसैले घरको बिमा वा जीवन बिमाबापत मानिसलाई अन्य सुविधा उपलब्ध गराउने हो भने मानिस बिमाप्रति आकर्षित हुन सक्छन् । अर्थात् कुनै न कुनै लाभ दिएर बिमा गर्न प्रेरित गर्न सकिन्छ । 

वैदेशिक रोजगारीमा गएका युवाहरू स्वदेशमा नै स्वरोजगार हुन थालेका छन् । विदेशमा सिकेको बिमाको संस्कृतिलाई नेपालमा पनि पछ्याइरहेका छन् । त्यसैगरी मुलुक संघीयतामा गइसकेको छ । सातै प्रदेशमा विभिन्न किसिमका संरचना निर्माण हुन थालेका छन् । यसले बिमा कम्पनीका लागि राम्रो वातावरण सिर्जना गरेको छ ।

अन्डर इन्स्योरेन्समा कसैलाई पनि फाइदा छैन
अन्डर इन्स्योरेन्स गर्दा कसैलाई पनि हित हुँदैन । हुन त मानिसले आफ्नो इच्छाअनुसार बिमा गर्न पाउँछ । यदि कसैले म अन्डर इन्स्योरेन्स नै गर्छु भन्छ भने पनि उसको अधिकार हो । तर, अन्डर इन्स्योरेन्सले कसैको पनि हित हुँदैन । धेरैजसो कर्जा लिएर निर्माण भएको संरचनाको अन्डर इन्स्योरेन्स भएको पाइन्छ । तर, यसले बिमा कम्पनी, बैंक र बिमित तीनै पक्षलाई लाभ दिँदैन । यदि बिमितले आफ्नो वास्तविक सम्पत्तिको मूल्यबराबरको बिमा गर्ने हो भने कम्पनीले पनि धेरै बिमाशुल्क पाउँछ । अन्डर इन्स्योरेन्स गर्दा उसले कम बिमाशुल्क पाउँछ । त्यसैगरी बैंकका लागि त झनै यो हितकारी भएन । यदि बिमितले बैंकबाट लिएको कर्जाको मात्रै बिमा गर्ने हो भने भोलिका दिनमा कुनै घटना घट्यो र घटनामा बिमा गरिएको सम्पत्तिको आंशिक मात्रै क्षति भयो भने बैकको कर्जा पनि सुरक्षित हुँदैन । त्यसैगरी बिमितका लागि त झनै उचित छैन । किनभने, यदि बिमा गरिएको घर आंशिक क्षति भयो भने उसले दाबी भुक्तानी पनि आंशिक मात्रै पाउँछ । जसबाट न त उसले बैंकको कर्जा भुक्तान गर्न सक्छ, न त घर मर्मत गर्न सक्छ । त्यसैले बिमितले जहिले पनि आफ्नो सम्पत्तिको वास्तविक मूल्यबराबरको बिमा गर्नु राम्रो हुन्छ । यस विषयमा बिमा कम्पनी र बैंकले पनि बिमितलाई बुझाउनुपर्छ । 

बिमालाई संस्कृतिका रूपमा विकास गर्नुपर्छ
नेपालको बिमा पहुँच विस्तार गर्ने हो भने बिमालाई संस्कृतिका रूपमा विकास गर्नुपर्छ । यसका लागि हामीले विद्यालय तहदेखिकै पाठ्यपुस्तकमा बिमा विषयलाई समावेश गर्नुपर्छ । जब बच्चाले विद्यालयस्तरमा नै जोखिमको सुरक्षा हुन्छ, सुरक्षाको लागि बिमा गर्नुपर्छ भन्ने थाहा पाउँछ, तब उसले आफ्नो व्यावहारिक जीवनमा त्यसको उपयोग गर्छ । विदेशीहरू घरबाट बाहिर निस्किँदा आफ्नो बिमा पोलिसी चेक गर्छन् । यात्रा गर्दा बिमा पोलिसी हेर्छन् । सवारीसाधन चलाउनुअघि बिमा पोलिसी हेर्छन् । अर्थात् बिमा उनीहरूको संस्कृति भइसकेको छ । बिमालाई उनीहरूले आत्मसात् गरेका छन् । यसको मुख्य कारण भनेको उनीहरूलाई बच्चैदेखि बिमाको सुविधाका बारेमा जानकारी दिइएको छ । त्यसैले नेपालमा पनि हामीले विद्यालयमा तहमा नै बिमा शिक्षा दिनुपर्छ । कलेज तहमा दिएर मात्रै पुग्दैन । किनभने, नेपालमा कलेज सबैको पहुँचमा हुँदैन । तर, विद्यालयसम्म त धेरैको पहुँच हुन्छ नि ।
आम्दानीको स्तर बढ्नुपर्छ 
बिमा भनेको सुरक्षा हो । तर, नेपालमा कतिपय मानिसहरू दिनभरि ज्यालादारी काम गरेर जीवन निर्वाह गर्ने छन् । मानिसको पहिलो आवश्यकता भनेको गाँस, वास र कपडा हो । त्यसपछि आधारभूत आवश्यकता भनेका शिक्षा र स्वास्थ्य पनि हुन् । यी आवश्यकता पूर्ति भएपछि मात्रै मानिसले आफ्नो सुरक्षाका बारेमा सोच्छ । त्यसैले मासिनको न्यूनतम आधारभूत आवश्यकता पूर्ति हुन सक्ने अवस्था हुनुपर्छ, तब मात्रै बिमाको पहुँच र आवश्यकता मानिसमा महसुस हुन्छ । 

प्रक्रिया नपुगेको अवस्थामा मात्रै भुक्तानी हुँदैन
कम्पनीहरूले समयमा भुक्तानी गर्दैनन् भन्ने आममानिसको गुनासो छ । तर, यो पूर्ण सत्य भने होइन । किनभने, बिमा भनेको दायित्व हो । बिमा कम्पनीले बिमा गर्दा बिमितसँग तिमीलाई समस्या पर्दा म भुक्तानी गर्छु भनी सम्झौता गरेको हुन्छ । सम्झौताअनुसार त कम्पनी भुक्तानी गर्नैपर्छ । तर, कतिपय अवस्थामा भने दाबी भुक्तानी गर्न कठिन हुन्छ । कहिलेकाहीँ बिमितहरूले दाबीको प्रक्रिया पु¥याउँदैनन् । कम्पनीले आफूखुसी भुक्तानी गर्न पाउँदैन । घटना घटेको र क्षति भएको प्रमाणित नभएसम्म भुक्तानी गर्न मिल्दैन । प्रमाणित गर्नका लागि विभिन्न निकायको सिफारिस चाहिन सक्छ । त्यस्तो अवस्थामा बिमितले कागजपत्र जुटाउन झन्झट मान्छन् । त्यस्तो अवस्थामा भुक्तानी हुन ढिलो हुन्छ । तर, कम्पनीले जानजान भने भुक्तानी नगर्ने भन्नेचाहिँ हुँदैन । प्रक्रिया पुगेपछि कम्पनीले भुक्तानी गर्नैपर्छ । 

पशुपक्षीको जोखिममा सचेतमा छन् कृषक 
कृषि बिमा प्रत्येक वर्ष बढ्दै गएको छ । तुलनात्मक रूपमा बाली बिमा बढ्न सकेको छैन । कृषकहरूले जति पशुपक्षी क्षतिको महसुस गर्छन्, त्यति सायद बालीमा गर्दैनन् । त्यसैले पनि होला, बाली बिमाप्रति कृषकको आकर्षण कम देखिएको । तर, परिवर्तन आजको भोलि नै हुँदैन । हिजोका दिनमा पशुको पनि बिमा नगर्ने कृषक थिए । आज अधिकांश कृषकले पशुपक्षीको बिमा गर्न थालेका छन् । त्यसैले भोलिका दिनमा बालीको पनि बिमा बढ्छ ।