मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ भदौ १० मंगलबार ०७:१८:००
Read Time : > 1 मिनेट
विश्व

जी ७ बैठक : विश्व अर्थतन्त्र र इरानबारे छलफल केन्द्रित

Read Time : > 1 मिनेट
२०७६ भदौ १० मंगलबार ०७:१८:००

विश्वका प्रमुख सात औद्योगिक राष्ट्रहरूको समूह (जी ७) को तीनदिने शिखर बैठकको अन्तिम दिन समसामयिक आर्थिक मुद्दा, चीन–अमेरिका व्यापार द्वन्द्व, इरान र अमेरिकबीचको तनावलगायत विषयमा छलफल भएको छ । बैठकले ब्राजिलको अमेजन जंगलमा लागेको डढेलो नियन्त्रण गर्न दुई करोड अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको छ । रुसलाई समूहको पुनः सदस्य बनाउने भन्ने विषयमा बैठकमा विवाद चर्किएको छ । त्यस्तै सम्मेलनकै क्रममा विश्वनेताबीच द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको छ । कस्मिरबारे मध्यस्थता गर्ने ट्रम्पको प्रस्तावलाई मोदीले अस्वीकार गरेका छन् । त्यस्तै, अमेरिकाले चिरपरिचित प्रतिद्वन्द्वी चीनसँग व्यापार वार्ता गर्ने जनाएको छ । 

जी ७ का नेताहरूले शिखर बैठक औपचारिक समापन हुनुअघि जलवायु परिवर्तन र विश्वलाई नै रूपान्तरित गरिरहेको डिजिटलाइजेसनबारे पनि छलफल गरेका छन् । जी ७ मा औद्योगिक राष्ट्रहरू अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, जापान, क्यानडा र इटाली छन् । रुस, भारत, चीन, ब्राजिल, दक्षिण अफ्रिकासमेतका कैयौँ उदीयमान अर्थतन्त्र भएका मुलुक समूहमा छैनन् । 

 रुसलाई सदस्य बनाउने प्रस्तावपछि चर्काचर्की
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जी ७ समूहको बैठकमा सहभागी अन्य देशका नेताबीच चर्काचर्की परेको छ । रुसलाई पुनः समूहको सदस्य बनाउनुपर्ने ट्रम्पले प्रस्ताव गरेपछि चर्काचर्की परेको हो । सन् २०१४ मा क्रिमियालाई विभाजित गरी आफ्नो भूमिमा विलय गरेपछि रसियालाई जी ७ को सदस्यबाट हटाइएको थियो । रसिया सदस्य हुँदा समूहको नाम नै जी ८ थियो । 

ट्रम्प्को प्रस्तावलाई फ्रान्सेली राष्ट्रपति म्याक्राें र युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टक्सले विरोध गरेका थिए । ट्रम्पको प्रस्तावलाई इटालीका प्रधानमन्त्रीले गिउसिपी कन्टेले समर्थन गरेका थिए । आफ्नो दक्षिणपन्थी लिग पार्टीलाई मस्कोबाट सहयोग लिएको कन्टेमाथि आरोप लाग्दै आएको छ । इरान, सिरिया र उत्तर कोरियाबारेको विषयमा छलफलमा गराउन पनि रसियालाई समूहमा सहभागी गराउनुपर्ने ट्रम्पको तर्क छ ।

 इरानी विदेशमन्त्री अकस्मात् बैठकमा
इरानका विदेशमन्त्री मोहमद जभाद जारिफ अकस्मात जी ७ को शिखर सम्मेलनमा पुगेका छन् । विदेशमन्त्री जारिफ आइतबार दिउँसो सम्मेलनस्थल पुगेका हुन् । सो सम्मेलनमा विदेशमन्त्रीलाई आमन्त्रण गरिएको थिएन । जारिफको भ्रमणले अमेरिकी प्रतिनिधिमण्डल चकित बनेको थियो । इरानको आणविक हतियारको विषयलाई लिएर अमेरिका र इरानबीच चर्को द्वन्द्व चलेको छ । अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्ध लगाएको छ । प्रतिबन्धको बदला लिने इरानले चेतावनी दिँदै आएको छ । 

जारिफले फ्रान्सेली राष्ट्रपति जारिफसँग रचनात्मक वार्ता गरेको बताएका छन् । उनले आफ्ना फ्रान्सेली समकक्षीसँग पनि भेटवार्ता गरेका थिए । उनले जर्मन र बेलायती अधिकारीसँग पनि संक्षिप्त भेट गरेका थिए । जारिफले जी ७ सम्मेलनको पूर्वसन्ध्यामा शुक्रबार फ्रान्सेली राष्टपतिलाई पनि भेट गरेका थिए । अमेरिकाले सन् २०१५ मा इरानको पारमाणविक गतिविधि सीमित बनाउनेसम्बन्धी सम्झौताबाट फिर्ता हुने निर्णय गरेपछि दुई देशको सम्बन्ध बिग्रिएको छ ।

 चीन–अमेरिका वार्ता चाँडै : ट्रम्प
जी ७ बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीचको व्यापार वार्ता पुनः सुचारु हुने बताएका छन् । दुवै मुलुकले एक–अर्का देशका सामानमा करवृद्धि गरेपछि व्यापार वार्ता अवरुद्ध छ । ट्रम्पले वार्ताबाट समस्या समाधान गर्न तत्पर रहेको बताए । ‘चीनले वार्ताको माध्यमबाटै समस्या समाधान गराैं भनेको छ । हामी पनि वार्तामा बस्न इच्छुक छाैं,’ ट्रम्पले भने । गत शुक्रबार राष्ट्रपति ट्रम्पले चीनले अमेरिकी सामानको मूल्यवृद्धि गरेपछि अमेरिका प्रवेश गर्ने सबै चिनियाँ सामानमा करवृद्धिको घोषणा गरेका थिए । अमेरिकाले चिनियाँ व्यापार मोडेलमै परिवर्तन ल्याउन र तीव्र सुधार गर्न दबाब दिइरहेको छ । तर, अमेरिकी गठबन्धनका मुलुकले चीनसँगको व्यापार युद्धले विश्व अर्थतन्त्रमै समस्या निम्तिने बताइरहेका छन् ।