मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
पुष्प कोइराला
२०७५ पौष १ आइतबार ०९:३९:००
Read Time : > 1 मिनेट
अर्थ

नलगाड जलविद्युतकाे डिपिआर अनिश्चित 

डिपिआर नबनी बित्यो साढे २ वर्ष, ६ महिना थपेर बल्ल काम सुरु 

Read Time : > 1 मिनेट
पुष्प कोइराला
२०७५ पौष १ आइतबार ०९:३९:००

काठमाडौं । ४१७ मेगावाटको नलगाड जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पार्ने कार्यमा ढिलाइ भएको छ । स्मेक, एमडब्लुएच र स्वदेशी कम्पनी उदय कन्सल्ट्यान्टसहित जोइन्ट भेन्चरको परामर्शदाताले ३० महिनाभित्र सक्ने गरी डिपिआर निर्माण गर्ने ठेक्का लिएको हो । तर, डिपिआर तयार गर्ने यसको अवधि गुज्रिसकेको छ । ‘ठेक्का सम्झौतामा रहेको प्रावधानअनुसार एकपटकका लागि ६ महिना म्याद थपिएको छ,’ आयोजनाका प्रमुख कार्यकारी अधिकृत डा. रामकाजी थापाले भने, ‘अब जेठभित्र डिपिआरको काम सक्नुपर्छ ।’ परामर्शदाता कम्पनीले ठेक्का लिएको २४ महिनासम्म कुनै काम नै नगरेको उनले बताए । ‘दुई वर्षसम्म त परामर्शदाता कम्पनी सुतेर नै बस्यो,’ उनले भने, ‘त्यसपछिको ६ महिना काम भए पनि पूरा हुन सकेको छैन ।’ 

कम्पनीले बल्ल ड्रिलिङलगायतका काम सुरु गरेको छ । जाजरकोटमा पर्ने भेरी र कर्णाली नदीको संगमस्थलनजिक नलसिंगाड नदीमा पर्ने आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयार हुने क्रममा छ । तर, डिटेल डिजाइन, विस्तृत परिमाण तथा लागत अनुमान, निर्माण योजना तथा तालिका निर्माण, टेन्डर डकुमेन्टजस्ता अध्ययन प्रतिवेदनहरू तयार पार्ने काम भर्खरै सुरु भएका छन् । 

आयोजनाको निर्माण कार्यका लागि आवश्यक विद्युत् उत्पादन गर्न ४.५ मेगावाटको ताक्सुखोला जलविद्युत् आयोजना निर्माण गरिने योजना भए पनि त्यसको समेत काम अघि बढ्न सकेको छैन । आयोजनाको पावर हाउस र ड्यामसाइटका लागि आवश्यक १०.८ किलोमिटर सडकमध्ये ६.५ किलोमिटर सडकको ट्र्याक खोल्ने काम भएको छ । 

आयोजनाको बिजुली ११२ किलोमिटर लामो ४०० केभी प्रसारण लाइनमार्फत कोहलपुर सबस्टेशनमा जोडिनेछ । आयोजनाअन्तर्गत १०४.२५ मेगावाट क्षमताका ४ वटा युनिटमार्फत भूमिगत पावरहाउसबाट विद्युत् उत्पादन गरिने योजना रहेको छ । 

आयोजनाको चालू आर्थिक वर्षको चौमासिक प्रगति भने वित्तीयतर्फ शतप्रतिशत र भौतिक प्रगति ८० प्रतिशत देखिएको छ । आयोजना निर्माणका लागि झन्डै १ खर्ब रुपैयाँ लागत अनुमान गरिएको सिइओ डा. थापाले बताए । विगतमा विकास समितिमार्फत निर्माण गर्ने सरकारको योजना रहेको आयोजनालाई कम्पनी मोडलमै निर्माण गर्ने गरी सरकारले नलगाड हाइड्रोपावर लिमिटेडमार्फत आयोजना अघि बढाउन लागेको हो ।