मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हाङयुग अज्ञात, कवि
२०७६ भदौ ८ आइतबार १७:५३:००
Read Time : > 5 मिनेट
साहित्य

कवितामा अधिक प्रयोग गरेँ : हाङयुग अज्ञात

Read Time : > 5 मिनेट
२०७६ भदौ ८ आइतबार १७:५३:००

साहित्यकार हाङयुग अज्ञात साहित्यिक आन्दोलन सृजनशील अराजकताका एक अभियानकर्ता हुन् । करिब दुई दशक अगाडि राजन मुकारुङ, हाङयुग अज्ञात र उपेन्द्र सुब्बाले सृजनशील अराजकता नामबाट साहित्यिक आन्दोलन अगाडि बढाएका थिए । ‘रंगिन आविष्कार’, ‘ढुंगामुढाको मन’ र ‘करङको हिरासत’ कविता संग्रह बजारमा ल्याइसकेका हाङयुग लामो समय हङकङ बसेर फिरेका छन् । उनै हाङयुगसँग सृजनशील अराजकता, साहित्यिक लेखन लगायत विषयमा नवीन प्यासीले गरेकाे कुराकानी ः

सृजनशील अराजकतालाई आन्दोलन दुई दशकसम्म आइपुग्दा तपाईं भने १४ वर्षसम्म हङकङ रहनुभयो  । राजन मुकारुङ, उपेन्द्र सुब्बाले पहिचानको विषयमा सडकमा उभिएर आन्दोलन गरिरहँदा, सीमान्तकृत, उत्पिडीतको समान हैसियत र अधिकारको कुरा गरिरहँदा तपाईं भने अवसर खोज्दै बाहिर गएको हो र ? अनि हाङयुग अज्ञातलाई हङकङ नै जानुपर्ने आवश्यकता चाहिँ किन सृजना भयो ? 

म हङकङमा रहे पनि विचारको हिसाबले यहीँ थिएँ । यहाँ रहँदा जे काम गर्थें त्यहाँ रहँदा पनि त्यसरी नै आन्दोलनमाथि नै काम गरेँ । जहाँ रहे पनि आन्दोलनलाई अगाडि बढाउने हो । साथै म हङकङ नगएको भए यो आन्दोलन यहाँसम्म आइपुग्दैन थियो । हङकङ रहेकैले यो आन्दोलन यहाँसम्म आइपुगेको हो । त्यहाँ रहँदा धेरै लेखहरु लेखेँ, जसले आन्दोलनलाई नै अगाडि बढाउन सहयोग ग¥यो । लाग्छ, यहीँ बसेको भए आन्दोलन यति विकसित पनि हुँदैन थियो होला । सुरुवाती चरणमा यो आन्दोलनलाई हामीले जानेर बुझेर नै आन्दोलन पनि भनेनौं । हामीले आग्रह मात्र भन्यौं । अबको नेपाली साह्रित्य यसरी लेखिनुपर्छ भनेर भनेका थियौं । समयक्रममा एउटा साहित्यिक आन्दोल बनेर स्थापित भयो । यसमा मैले हङकङमै बसेर आफ्नो ठाउँबाट दिनुपर्ने योगदान दिएको छु । 

‘करङको हिरासत’ कविता संग्रह ल्याएर म हङकङ गएको हो । त्यसपछि नै हाम्रो आन्दोलनलाई गम्भीर रुपमा लिन थालियो जस्तो लाग्छ । म हङकङ जानु हाम्रो आन्दोलनका लागि आवश्यक थियो । मान्छे विदेश गएपछि पैसामुखि हुन्छन् भन्छन् । तर म त्यहाँ गएपछि त्यहाँका विश्वविद्यालय, पुस्तकालय धाएँ । अध्ययन गरेँ । अहिले म यहाँ फर्कनुको कारण चाहिँ १४ वर्षमा लिएको ज्ञान अब नेपाली साहित्यमा खर्चन्छु भनेर आएको हुँ । 

आन्दोलनको फिलोसोफी बलियो भएन आन्दोलन अगाडि जाँदैन । साथै राम्रो कृति लेखिएन भने पनि अगाडि जाँदैन । म फिलोसोफी बलियो बनाउनतिर लागेँ, राजन जी र उपेन जी बलियो कृति लेख्नतिर लाग्नुभयो । हामी सबैले आफ्नो–आफ्नो जिम्मेवारी निभायौं ।

अर्को कुरा हामी तिनैजना सँगै रहेको भए बीचमा फाटो आउँथ्यो होला । २०÷२२ वर्षको युवा थियौं, विमतिहरु हुन्थे होलान् । बरु टाढा बसेर एकअर्कालाई मजाले बुझ्न सकियो जस्तो लाग्छ । यदि सँगै थियौं भने राजन मुकारुङले ‘दमिनी भीर’ पनि लेख्दैन थियो होला, उपेन्द्र सुब्बाले ‘लाटो पहाड’ पनि लेख्दैन थियो होला । आन्दोलनको आफ्नो–आफ्नो स्टेज हुँदोरहेछ । अहिलेको हाम्रो स्टेज अर्को छ । र अहिलेको यही अवस्थामा आइपुग्नका लागि नै म हङकङ जान आवश्यक थियो ।

सृजनशील अराजकताका दुई सदस्य राजन मुकारुङ र उपेन्द्र सुब्बाबीचमा व्यक्तिगत हिसाबमा यो आन्दोलनको एक सदस्यको रुपमा तपाईंको उपस्थिति कस्तो हो ? 

यस आन्दोलनमा मेरो उपस्थिति अलि बीचमै छ । धेरै उग्र पनि हुनु हुँदैन, समन्वयत्मक भएर जानुपर्छ भन्ने हिसाबमा बीचमै रहेर काम गरेँ । यसबीचमा मैले कविताहरुमा अनेक प्रयोग गर्ने प्रयास पनि गरेँ, सफल नै छु जस्तो पनि लाग्छ । र नेपाली कवितामा सबैभन्दा बढी प्रयोग गर्ने कवि म हुँ । मैले कवितामा अधिक प्रयोग गरेँ । मेरा हरेक कविता फmरक संरचनामा निर्माण भएका छन् । मैले हरेक कवितामा नयाँ केही गर्ने कोसिस गरेको छु । कुनै कवितामा विनिर्माण गरेको छु, कुनै कवितामा चलिआएको परम्परालाई भत्काएको छु । 
हाम्रो भनाइ के थियो भने कविता लेखेपछि किन आफ्नो विचार लुकाउने ? यसबीचमा हाम्रो आन्दोलनको विचार लेखहरुमार्फत सम्प्रेषण गर्ने प्रयास पनि गरिहेँ । त्यसमा म सफल पनि छु । र मेरो उपस्थिति त्यहीँ छ ।

राजन मुकारुङले ‘दमिनी भीर’ बाट मदन पुरस्कार पाए । उपेन्द्र सुब्बाले ‘लाटो पहाड’ बाट पद्मश्री पाए । यसबीचमा पनि तपाईं हङकङमै हुनुहुन्थ्यो । यसरी हेर्दा दुई अभियानकर्ताको बीचमा आफू अलि छायामा परेजस्तो लाग्ला नि ? 

मेरो रुचि भनेका सिद्धान्त र दर्शनमा हो । हामी तीनमा मैले पाएको जिम्मा पनि त्यही हो । आन्दोलनको फिलोसोफी बलियो भएन आन्दोलन अगाडि जाँदैन । साथै राम्रो कृति लेखिएन भने पनि अगाडि जाँदैन । म फिलोसोफी बलियो बनाउनतिर लागेँ, राजन जी र उपेन जी बलियो कृति लेख्नतिर लाग्नुभयो । हामी सबैले आफ्नो–आफ्नो जिम्मेवारी निभायौं । हाम्रो आन्दोलनलाई नै कमजोर बनाउनका लागि धेरै मान्छे लागे, तर त्यो हामीले कहिल्यै सफल हुन दिएनौं । र हामीले आ–आफ्नो जिम्मेवारी निभाएका कारण कोही पनि छायामा पर्ने कुरा आउँदैन । सबैको समान हैसियत र उपस्थिति छ ।

आन्दोलनको कुरा गर्दा केही समयअघि कवि÷लेखक सरस्वती प्रतीक्षालाई चौथो सदस्य बनाएर तपाईंहरुले आन्दोलनमा ल्याउनु भयो । त्यत्रो लामो समयसम्म तीनजनाले हाँकेर आएको आन्दोलनमा सरस्वती प्रतीक्षालाई चौथो सदस्यको रुपमा भित्राउन आवश्यक थियो ?

सरस्वती प्रतीक्षा राम्रो लेखक हुन् । पछिल्लो समयमा हाम्रो आन्दोलनलाई महिला लेखकको आवश्यकता थियो । त्यही सिलसिलामा उहाँलाई आन्दोलनमा सामेल गराउन खोजेका हौं । त्यो वेला ‘नथिया’ उपन्यास लेख्दै हुनुहुन्थ्यो, वादी समुदायमाथि । त्यही भएर उहाँलाई इनकरेज गर्नका लागि पनि हामीले चौथो सदस्य भनेर घोषणा गरेका हौं । 

मैले कविताहरुमा अनेक प्रयोग गर्ने प्रयास पनि गरेँ, सफल नै छु जस्तो पनि लाग्छ । र नेपाली कवितामा सबैभन्दा बढी प्रयोग गर्ने कवि म हुँ । मैले कवितामा अधिक प्रयोग गरेँ । मेरा हरेक कविता फरक संरचनामा निर्माण भएका छन् । मैले हरेक कवितामा नयाँ केही गर्ने कोसिस गरेको छु । कुनै कवितामा विनिर्माण गरेको छु, कुनै कवितामा चलिआएको परम्परालाई भत्काएको छु 

तर पछिल्लो समय सरस्वती प्रतीक्षाको खासै सक्रियता देखिन्न नि ? 

कस्तो हुन्छ भने अब हामी चारैजना परिपक्व छौं । आन्दोलन पनि पहिला जस्तो ढंगा हान्दै, उफ्रदै, कराउँदै हिँड्ने अवस्था पार गरेर आइसकेको छ । तर हामी सोचिरहन्छौ, यो आन्दोलनलाई कसरी निचोडमा पु¥याउने ? सरस्वती प्रतीक्षासँग लेखनको विषयमा कुरा भइरहन्छ । हामी सबैले आफ्नो आफ्नो ठाउँमा उभिएर काम गरिरहेका छौं । उहाँ पनि त्यस्तो निष्क्रिय नै त होइन । 

आन्दोलनको सुरुवाती चरणमा थुप्रै सदस्य थिए । पछि बिस्तारै तपाईं लेखक राजन मुकारुङ फरक मत राखेर अगाडि बढ्नुभयो । उपेन्द्र सुब्बा अलि पछि जोडिनु भयो । तर तपाईं राजन मुकारुङलाई नेता भनिहिँड्नुहुन्छ । के कारणले हो ? 

मैल राजन मुकारुङलाई नेता भन्नुको पछाडि सृजनशील अराजकताको सुरुवाती चरणमा नै जानुपर्ने हुन्छ । ‘सृजनशील अराजकता’ भन्ने शब्द राजन मुकारुङको ‘सेतो आरोहण’ कविता संग्रहमा कवि पदम गौतमले प्रयोग गरेका थिए । पछि राजन मुकारुङसँग भेट भएपछि किन लेख्ने त भन्ने विषयमा छलफल भयो । प्रचलित नेपाली साहित्यमा सीमानतकृत सौन्दर्यको कुरा किन लेखिएन भन्ने विन्दुमा आएर अभियान चलाउने कुरा भयो । 

०४६ सालको राजनीतिक परिवर्तपछि राजनीति व्यवस्था परिवर्तन त भयो, तर साहित्यमा कुनै परिवर्तन आएन । त्यसपछि सृजनशील अराजकता र शालीन लेखन भनेर अभियान चलाउँ भन्ने निर्णयमा पुगियो । अन्य साथीहरु पनि आएका थिए । बीचमा कुन मिलेन । राजन जी र मैले मात्र अभियान चलाउने भयौं– सृजनशील अराजकता । पछि उपेन्द्र सुब्बा जी जोडिनुभयो । अब राजन मुकारुङलाई किन नेता भनेको भने राजन मुकारुङमा संगठन गर्ने क्षमता छ । कुनै पनि आन्दोलनमा नेता चाहिन्छ नै । र त्यही कारण मैले नेता भनेको हुँ । 

म हङकङ नगएको भए यो आन्दोलन यहाँसम्म आइपुग्दैन थियो । त्यहाँ रहँदा धेरै लेखहरु लेखेँ, जसले आन्दोलनलाई नै अगाडि बढाउन सहयोग ग¥यो । लाग्छ, यहीँ बसेको भए आन्दोलन यति विकसित पनि हुँदैन थियो होला । 

हाङयुग अज्ञात हङकङ बसेर नेपालको सीमान्तकृत, उत्पिडीतको कुरा गर्छ, पहिचानको कुरा गर्छ भनेर भन्ने गर्छन् नि ?

परिस्थितिले मलाई देशदेखि बाहिर लग्यो । त्यस्तो अवस्थामा यहाँ हात बाँधेर त बस्नु भएन नि ? जहाँ बसे पनि सबैभन्दा ठूलो कुरा लेख्नु नै हो । म मंगल ग्रह पुगेँ भने पनि त्यहाँबाट सोच्ने भनेको नेपाली साहित्य नै हो । 
साथै मलाई नेपालमा हुने साथीहरुले बाहिर छु जस्तो फिल नै गराउनु भएन । एकपटक कवि श्रवण मुकारुङ दाइले भन्नु्भएको थियो, ‘हाङयुग अज्ञात बाहिर बसे पनि नेपालमै छ जस्तो लाग्छ । तर धर्मेन्द्र विक्रम नेम्बाङ चाहिँ नेपालमै रहेर पनि विदेशमा छ जस्तो लाग्छ ।’ एउटा लेखकले जहाँ बसेर लेख्दा पनि हुन्छ । तर उसले लेख्नुपर्ने कुरा चाहिँ लेख्नुपर्‍ यो । 

अन्त्यमा, नयाँ पुस्तालाई तपाईंहरु कार्यकर्ताजस्तो मात्र बनाउनुहुन्छ, आफू वरिपरि मात्र रहोस् भन्ने चाहनुहुन्छ भन्ने आरोप छ नि ? अनि अब आन्दोलन कसरी अगाडि बढ्छ ? हाङयुग अज्ञातका भूमिका के हुन्छ ?

हामीभन्दा पछि आउने पुस्ता हामीभन्दा शसक्त भएर आउनुपर्छ भनेर उत्प्रेरित गर्छौं । रोक्ने, छेक्ने काम हामीबाट हुँदैन । बोकेको कुकुरले सिकार गर्दैन भन्ने सबैलाई थाहा छ । उनीहरुलाई धारिलो बनाउन सीधै अगाडि आलोचना गर्छौं । वैरागी काइँलाले ‘कसरी लेख्ने तिमीहरुले’ भनेर दुई वर्षसम्म प्रशिक्षण दिनुभएको थियो । त्यो ज्ञानले यहाँ आइपुगेका हौं । अहिले नयाँ पुस्ता आइरहेको छ । यो पुस्ताले आफूलाई प्रमाणित गर्दै जानुपर्छ । 

अब आन्दोलन म बाहिर रहँदा पनि राम्रोसँग नै अगाडि बढेको थियो । यो आन्दोलन जसरी पनि अगाडि बढ्नेछ । साथै मेरो पुरानो पुस्तासँग आफ्नो सम्बन्ध छँदैछ । साथै नयाँ पुस्ताले के सोच्छ, कसरी लेख्छ भन्ने कुरा सिक्नका लागि पनि आएको हुँ । व्यवस्था परितर्वन भएको छ । सामाजिक, आर्थिक, अवस्था फेरिएको छ । सांस्कृतिक रुपान्तरणहरु भएका छन् । त्यो नबुझी हुन्न । यी कुरा बुझ्नका लागि पनि आएको हुँ । साथै आफ्नै किताबको तयारी गरिरहेको छु । हङकङमा बसेर लेखेका लेखहरुको संकलन र कविता संग्रहको पनि अन्तिम तयारीमा छु ।