१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ६ शुक्रबार २०:१२:००
Read Time : < 1 मिनेट
साहित्य

मोक्षदामा गुन्जियो गजल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ६ शुक्रबार २०:१२:००

कुमारीगालस्थित मोक्षदा स्कुलले साहित्यका युवाकवि मोतीराम भट्टको १५४ औँ जन्म जयन्ती अवसरमा उपत्यकाव्यापी चौथो अन्तरस्कुल मोतीराम स्मृति रनिङ सिल्ड गजल वाचन प्रतियोगिता आयोजना गर्याे । प्रतियोगितामा काठमाडौं र ललितपुरका २२ स्कुलको सहभागिता रहेको थियो । 

गजल वाचन प्रतियोगितामा नेपाल वेद विद्याश्रम संस्कृत माविका महेन्द्र उपाध्याय, ज्ञानदीप शिक्षा सदनकी स्नेहा मगर, एम्बिसन एकेडेमीकी झरना खनाल र नेक्सस इन्टरनेसनल एकेडेमीकी इरादा सुवेदी क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान हासिल गर्न सफल भएका थिए । गजलकार डा. घनश्याम परिश्रमीको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगितामा नेपाली सांगीतिक फाँटकी वरिष्ठ गायिका कुन्ती मोक्तानलाई विशेष सम्मान गरिएको थियो । 

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि डा. परिश्रमीले बालबालिकालाई सानैदेखि यसरी गजल, कविता आदि विधाका सिर्जना वाचन गर्न सिकाउँदा उनीहरूमा बिस्तारै सिर्जनात्मकताको समेत विकास हुने बताए । ‘यसरी अर्काको रचना वाचन सिकाउँदै गर्दा बालबालिकालाई लेखनतर्फ पनि आकृष्ट गर्न सक्नुपर्छ,’ उनले भने, ‘यसबाट उनीहरूमा सिर्जनात्मकताको विकास हुन सक्छ ।’ 

सम्मानित गायिका मोक्तानले बालबालिकालाई अहिल्यैदेखि शब्दको शुद्ध उच्चारण सिकाउनुपर्नेमा जोड दिइन् । ‘कलिला बालबालिकालाई सानैदेखि शब्दको शुद्ध उच्चारण सिकाउन सक्नुपर्छ,’ उनले भनिन्, ‘यसबाट उनीहरूमा आफ्नो भाषाप्रतिको आकर्षण बढ्छ ।’ 

कार्यक्रममा वरिष्ठ गायिका कुन्ती मोक्तान, अनाम मण्डलीका अध्यक्ष रूपक अलंकार, जय गौडेल, देवु लुइँटेल, ज्ञानु विद्रोहीलगायत गजलकारले गजल वाचन गरेका थिए भने विद्यालयका प्राचार्य ठाकुर तिमल्सेनाले प्रतियोगिताबारे जानकारी गराएका थिए । कार्यक्रम कक्षा ७ की छात्रा समृद्धि दाहाल, कक्षा ८ की छात्रा तारा लामा र कक्षा की छात्रा यूथिका खनालले सञ्चालन गरेका थिए ।