मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस
२०७५ पौष २२ आइतबार १२:५४:००
Read Time : > 1 मिनेट
समाचार

जनयुद्धका घाइतेको खुट्टामा गोलीका छर्रा

Read Time : > 1 मिनेट
रासस
२०७५ पौष २२ आइतबार १२:५४:००

जनयुद्धका घाइते मनबहादुर घर्तीको खुट्टामा अहिले पनि गोलीका छर्रा छन् । गोली लागेको ठाउँ देखाउँदै ३३ वर्षीय घर्तीले उपचार खर्च नपाएको गुनासो गरे ।


ताराखोला गाउँपालिका- ५ का घर्ती विसं २०६० मा दाङमा भएको सशस्त्र भीडन्तमा घाइते भएका हुन् । उपचारपछि हिँडडुल गर्न सक्ने भए पनि दुख्न छाेडेकाे छैन् । 'सामान्य अवस्थामा जस्तो हिँड्न सहज छैन', उनले भने, 'चिकित्सकले हड्डीमा गाेलीकाे छर्रा रहेकाे र निकाल्दा झन् समस्या हुन्छ भनेपछि निकालिएको छैन ।' घाइते भएपछि तत्कालै माओवादी सेनाको स्वास्थ्य टोलीले उनकाे प्राथमिक उपचार गरेको थियो । 



पछि भारत पुगेर थप उपचार गरेको घर्तीले बताए । शरीरमा गोलीका छर्रा बोकेर हिँडेको १५ वर्ष भयाे । जनयुद्धको नेतृत्व गर्ने तत्कालीन नेकपा (माओवादी) अहिले नेकपाको रुपमा सरकारमा हुँदा पनि आफूले उचित उपचार नपाएकाे उनकाे गुनासो छ ।

पछिल्लो समय पार्टीका जिम्मेवार केही नेताले फोन गरेर उपचार खर्च दिलाउँछौँ भनेर आश्वासन दिएको घर्तीले बताए । घाइते भएपछि निष्क्रिय बनेका घर्ती शान्ति प्रक्रियासँगै पार्टी राजनीतिमा सक्रिय भए । अहिले उनी गाउँकै एक जलविद्युत् आयोजनामा व्यवस्थापकको रुपमा कार्यरत छन् ।

नेपालको अवस्था फेरिन्छ र जनजीविकामा आमूलपरिवर्तन हुन्छ, भन्ने विश्वासमा जनयुद्धमा होमिएको घर्तीको भनाइ छ । द्वन्द्वपीडितको नाम भजाएर कतिपयले राज्यबाट सेवा सुविधा लिएको उनले आरोप लगाए । आर्थिक सहयोग पाए गोलीका छर्रा निकाल्ने सोचमा उनी छन् ।  

जनयुद्धले घर्तीको परिवारमा अर्को पनि पीडा दिएको छ । उनका माइला दाजु बाजेन्द्र विसं २०५८ देखि बेपत्ता छन् । आमा, जेठा दाइ र भाइसहित परिवारमा बस्दै आएका घर्तीले १२ कक्षासम्मको अध्ययन गरेका छन् । कक्षा ८ मै पढाइ छाडेर जनयुद्धमा होमिनुभएका उनले शान्ति प्रक्रियापछि पढाइ अघि बढाएका थिए । 

गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले उपचार खर्चको लागि गाउँपालिकाबाट प्रक्रिया अघि बढाइएको बताए  'गृह मन्त्रालयमा सिफारिस पठाएका छौँ', उनले भने,  'सबैले पाउँदा उहाँको कसरी छुट्यो हामी पनि अनविज्ञ छौँ ।'