मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ भदौ ६ शुक्रबार ०८:४३:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

संविधान दिवसमा मोदी प्रमुख अतिथि !

Read Time : > 3 मिनेट
२०७६ भदौ ६ शुक्रबार ०८:४३:००
  • ३ असोजको कार्यक्रममा आतिथ्यता ग्रहण गरिदिन प्रधानमन्त्री ओलीको आमन्त्रण
  • चार वर्षअघि संविधान जारी हुने वेला रोक्न आएका थिए एस जयशंकर, संयोगले संविधान दिवसको प्रमुख अतिथि बन्न मोदीलाई नेपालको निम्तो उनैले लगेका छन्

३ असोजमा आयोजना हुने राष्ट्रिय दिवसमा प्रमुख अतिथिका रूपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्त्याइएको छ । संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसका रूपमा भव्य बनाउने सरकारको तयारी छ । 

भारतीय विदेशमन्त्री एस जयशंकरसँग बुधबार बालुवाटारमा भएको करिब एक घन्टा लामो एकान्त वार्तामा प्रधानमन्त्री ओलीले मोदीलाई राष्ट्रिय दिवसको प्रमुख अतिथि बनाउने प्रस्ताव गरेका थिए । जयशंकरले नेपाली प्रधानमन्त्रीको निम्ता भारतीय प्रधानमन्त्रीसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । यो विषयमा भारतका तर्फबाट छिटै औपचारिक जानकारी आउने अपेक्षा गरिएको परराष्ट्र स्रोतले जनाएको छ । 

ओलीले राष्ट्रिय दिवसमा मोदीको आगमन भए नेपाल र भारतबीच बाँकी रहेका तिक्तता एकैसाथ समाधान हुने र विश्वासका नयाँ आधारमा सम्बन्ध अघि बढ्ने सन्देश पठाएका छन् । ‘मोदीले लुम्बिनी भ्रमणमा आउने इच्छा व्यक्त गरिरहनुभएको छ । राष्ट्रिय दिवसमा सहभागी हुने र लुम्बिनी भ्रमण गर्ने चाँजोपाँजो मिल्न सक्छ,’ कूटनीतिक स्रोतले भन्यो ।

चार वर्षअघि संविधान जारी गर्ने कार्यक्रम स्थगित गर्न मोदीको सन्देश बोकेर जयशंकर काठमाडौं आएका थिए । संयोगले संविधान दिवसको प्रमुख अतिथि बन्न मोदीलाई नेपालको निम्तो उनैले लगेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटपछि जयशंकर परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी भएका थिए । बैठक सकिएलगत्तै बुधबार राति परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आयोजना गरेको रात्रिभोजमा जयशंकरले अघिल्लो कार्यकालमा मोदीले चारपटक नेपाल भ्रमण गरेको दृष्टान्त दिँदै मोदीको सद्भाव मनन गर्न आग्रह गरेका थिए । 

३ असोज ०७२ मा नेपालमा संविधान जारी हुँदा भारत असन्तुष्ट थियो । तर, भारतले नेपालको संविधानलाई अहिलेसम्म खुला समर्थन नगरे पनि संवैधानिक जगमा भएका तीन तहको निर्वाचनलाई स्वागत गरेको छ । ओली प्रधानमन्त्री हुनुअघि १८ र १९ माघ ०७५ मा तत्कालीन भारतीय विदेशमन्त्री सुष्मा स्वराज प्रधानमन्त्री मोदीको विशेष दूतका रूपमा काठमाडौं आएकी थिइन् । 

त्यही भेटवार्तामा स्वराजले मोदीको सन्देश सुनाउँदै नेपालको संविधानमा भारतको कुनै असहमति नरहेको र सफल निर्वाचनपछिको सरकारसँग भारतले सहकार्य गर्ने बताएकी थिइन् । त्यसपछि प्रधानमन्त्री ओलीको भारत भ्रमण र उनका समकक्षी मोदीको नेपाल भ्रमणमा उच्च राजनीतिक समझदारी कायम भएको दुवै पक्षले बताउँदै आएका छन् ।

तर, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले मोदीलाई आमन्त्रण गरिएको विषय आफूलाई जानकारी नभएको बताए । ‘प्रधानमन्त्री र विदेशमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय भेटमा यस्तो कुनै चर्चा भएन, अलग्गै भेट्दा कुराकानी भएको हुन सक्छ । तर, त्यसमा भएको प्रगतिबारे म जानकार छैन,’ भट्टराईले नयाँ पत्रिकासँग भने । आयोग बैठकका लागि काठमाडौं आएका भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भने निर्णय भइनसकेका विषयमा आफूसँग जवाफ नरहेको प्रतिक्रिया दिए । ‘निर्णय नभइसकेको हुनाले यस सम्बन्धमा जानकारी दिन सक्दिनँ,’ आचार्यले भने ।

गणतन्त्र दिवसका अवसरमा १२ माघ ०५५ मा राजा वीरेन्द्र प्रमुख अतिथिका रूपमा दिल्ली गएका थिए । त्यसवेला अटलबिहारी बाजपेयी भारतका प्रधानमन्त्री थिए । त्यसअघि र पछि भारतले गणतन्त्र दिवसमा नेपाली सरकारप्रमुख/राष्ट्रप्रमुखलाई बोलाएको छैन ।

यसपालि संविधान दिवस नै राष्ट्रिय दिवस, कार्यक्रम भव्य हुन्छ : प्रधानमन्त्री ओली 


प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गृह मन्त्रालयमा आयोजित संविधान दिवस तथा राष्ट्रिय मूल दिवस समारोह समिति बैठकमा भने, ‘यसपटक राष्ट्रिय दिवस भव्य हुन्छ ।’ २ देखि ४ असोजसम्म तीन दिन भव्य रूपमा दिवस मनाइने र २७ भदौबाट तयारी थालिने प्रधानमन्त्रीको भनाइ थियो । बिहीबार उनी स्वास्थ्योपचारका लागि सिंगापुर गएका छन् । 

बैठकमा प्रधानमन्त्रीले भने, ‘सबै ठाउँमा, गाडीमा, घरमा राष्ट्रिय झन्डा होस् । हरेक घरले दीपावली मनाऊन् । बिजुली नभएका ठाउँमा पनि टुकी बालेर भए पनि दीपावली होस् ।’ प्रधानमन्त्रीले अठोट, प्रतिबद्धता र संकल्पको चाड बनाउनुपर्नेमा जोड दिएका छन् । आफू सिंगापुरबाट फर्केर आउन्जेल कार्यक्रमको तयारी गर्न प्रधानमन्त्रीले गृह मन्त्रालयलाई निर्देशन दिएका छन् । 

प्रधानमन्त्री नेतृत्वको समितिले सीमित वर्ग र क्षेत्रमा नभएर सबैको सहभागितामा र सबै क्षेत्रमा दिवस मनाउने निर्णय गरेको छ । संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कर्मचारीलाई अनिवार्य सहभागी गराइने भएको छ । उपत्यकामा टुँडिखेलमा र बाहिर प्रदेश राजधानी, जिल्ला सदरमुकाम तथा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको केन्द्रमा कार्यक्रम गर्ने तय भएको छ । सबै सरकारी कर्मचारीलाई ३ असोजमा राष्ट्रिय झन्डासहित तोकिएको स्थानमा उपस्थित हुन निर्देशन जारी गरिएको छ । काठमाडौं उपत्यकामा कर्मचारीको संयोजन सम्बन्धित मन्त्रालयले गर्नेछन् ।

फर्किए भारतीय विदेशमन्त्री एस जयशंकर : राष्ट्रपति, देउवा, भट्टराई, यादव र ठाकुरसँग भेटवार्ता

नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौँ बैठकमा सहभागी हुन आएका भारतीय विदेशमन्त्री जयशंकर बिहीबार दिल्ली फर्केका छन् । फर्किनुअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस सभापति शेरबहादुर देउवा, समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् । उनले बुधबार राति अबेर राष्ट्रिय जनता पार्टीका शीर्ष नेता महन्थ ठाकुरसहितका नेतासँग भेटेका थिए । 

कांग्रेस सभापति देउवाले विगतमा भएका सहमति कार्यान्वयन गर्न, पञ्चेश्वर परियोजनाको डिपिआरमा सहमति जुटाउन, कनेक्टिभिटीमा थप सहयोग गर्न भारतलाई आग्रह गरेका थिए । जयशंकरको जवाफ थियो, ‘नेपाल सरकारले पनि यो विषय हामीलाई भनेको छ । हामी छलफल गरेर कार्यान्वयन गर्छौँ ।’ होटेल द्वारिकामा भएको भेटवार्तामा सभापति देउवा, महामन्त्री डा शशांक कोइराला, नेता डा. नारायण खड्का र देउवा प्रधानमन्त्री हुँदाका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई सहभागी थिए ।

विदेशमन्त्री जयशंकरले बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । संयुक्त आयोगको बैठकपछि उनी समकक्षी ज्ञवालीले आयोजना गरेको रात्रिभोजमा सहभागी थिए । जयशंकरले बिहान पशुपतिनाथ मन्दिर दर्शन गरेका थिए । उनलाई परराष्ट्रसचिव शंकरदास बैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।