१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
प्रतिष्ठान हाताभित्र बिग्रिएको अवस्थामा रहेको अक्सिजन प्लान्ट । तस्बिर : नयाँ पत्रिका
२०७६ भदौ ५ बिहीबार १०:१८:००
Read Time : > 1 मिनेट
प्रदेश

बिपी प्रतिष्ठानमा अक्सिजन अभाव हुँदा उपचारमा समस्या

Read Time : > 1 मिनेट
२०७६ भदौ ५ बिहीबार १०:१८:००

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजनको चरम अभाव भएको छ । अक्सिजन निर्यात गर्दै आएको कम्पनीले आवश्यकताअनुसार निर्यात गर्न छाडेपछि प्रतिष्ठानमा अक्सिन अभाव भएको प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. गुरुप्रसाद खनालले जानकारी दिए । अक्सिजन नहुँदा इमर्जेन्सी र वार्डबाट बिरामी रेफर गर्नुपर्ने अवस्था आएको चिकित्सकहरूले बताएका छन् ।

अक्सिजन प्लान्ट बिग्रिँदा समस्या
प्रतिष्ठानले ६ महिनाअघि मात्र निकै तामझामका साथ आफैँ अक्सिजन उत्पादन गर्ने प्लान्ट जडान गरेको थियो । तर, हाल उक्त प्लान्ट बिग्रिएर अक्सिजन उत्पादन गर्न सकेको छैन । प्रतिष्ठान हाताभित्र जोडिएको अक्सिजन प्लान्टबाट प्रतिमिनेट १६ सय लिटर अक्सिजन उत्पादन हुने जनाइएको थियो । तर, पटक–पटक बिग्रिएर काम नदिएपछि प्रतिष्ठानले दुर्गा प्लान्ट दुहबीलगायतका कम्पनीबाट अक्सिजन आपूर्ति गर्दै आएको थियो । तर, विगत एक महिनादेखि उक्त प्लान्टले पनि पर्याप्त आपूर्ति गर्न नसकेपछि अस्पतालमा अक्सिजनको अभाव भएको हो ।

दैनिक ८० हजार व्ययभार
अर्काको प्लान्टबाट अक्सिजन किनेर चलाउँदा प्रतिष्ठानलाई दैनिक ६० देखि ८० हजार रुपैयाँ व्ययभार हुने गरेको प्रतिष्ठानका एक कर्मचारीले बताए । प्रतिष्ठानमा युनिसी इन्डिया र डाइग्नोकेनले अक्सिजन प्लान्ट जडान गरिदिएका थिए । गत माघमा तत्कालीन उपकुलपति प्रा.डा. राजकुमार रौनियारको नेतृत्वमा प्रतिष्ठानकै थप खर्चमा प्लान्ट जडान गरिएको थियो । 

अक्सिजन अभाव हुँदा आकस्मिक रूपमा आउने बिरामी बढी समस्यामा पर्ने गरेको उपचारमा संलग्न चिकित्सले बताएका छन् । ‘लामो समयदेखि अक्सिजन छैन, बिमारीलाई अन्यत्र रेफर गर्नुपर्ने अवस्था छ । धेरै बिमारी अक्सिजन अभावमा रेफर भएका छन्,’ एक चिकित्सकले भने । आकस्मिक कक्षको बोर्डमा शुक्रबार अक्सिजन अभाव भएको सूचना राखिएको थियो ।
 
अभावमै बिरामीको उपचार गर्दै छौँ : उपकुलपति
प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. गुरुप्रसाद खनालले अक्सिजन अभावका बीच नै बिमारीको उपचार गरिरहेको बताए । ‘दुई हप्ताभित्र प्रतिष्ठानले आफ्नो प्लान्ट मर्मत गरेर अक्सिजन उत्पादन गर्नेछ,’ उनले भने, ‘प्रतिष्ठानले घाटा व्यहोरेर भए पनि अक्सिजन सिलिन्डर खरिद गरेर अहिले काम चलाइरहेको छ ।’ प्रतिष्ठानलाई प्रतिमिनेट आठ सय लिटर अक्सिजन आवश्यक पर्छ ।