१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तीर्थराज बस्नेत  काठमाडौं
२०७६ भदौ ४ बुधबार ०६:१६:००
Read Time : > 1 मिनेट
समाचार

इन्द्रजात्रामा पहिलोपटक विदेशी पाहुनालाई आमन्त्रण

१३ नगरबाट पाँच मेयरसहित ४८ पाहुना आउने

Read Time : > 1 मिनेट
तीर्थराज बस्नेत  काठमाडौं
२०७६ भदौ ४ बुधबार ०६:१६:००

काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित भएका ६ वटा देशका १३ नगरका पाहुना इन्द्रजात्रा अवलोकन गर्न आउने भएका छन् । महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयले सोमबार मेयर विद्यासुन्दर शाक्यलाई गराएको जानकारीअनुसार १३ नगरका पाँच मेयरसहित ४८ पाहुना आउने तय भएको छ । सचिवालयले भगिनी सम्बन्ध स्थापित भएका नगरका प्रमुखलाई सात महिनादेखि निमन्त्रणा पठाउन थालेको थियो । 

अहिलेसम्म चीनको ल्हासाका मेयर गुहेओ गुहेओ, बंगलादेशको ढाका साउथ सिटी कर्पोरेसनका मेयर मोहम्मद सहिद खोकन, भुटानको थिम्पु नगरका मेयर किन्ले दोर्जे, भारत इस्ट दिल्ली म्युनिसिपल कर्पोरेसनका मेयर अञ्जु कमलकान्त र नर्थ दिल्ली म्युनिसिपलबाट मेयर सरदार अभतार सिंहको नेतृत्वमा जात्रा अवलोकन टोली आउने पत्र प्राप्त भएको महानगरले जनाएको छ  । 

त्यस्तै, चीनबाट सियान, छेन्दु, सेन्जेन, नान्जिन र लान्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकबर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा जात्रा अवलोकन टोली आउने भएको छ ।

‘हामीले भगिनी सम्बन्ध स्थापना गरेका नगरसँग हाम्रा नागरिकसँग सम्बन्ध बढाउन, आपसी सांस्कृतिक पक्षको आदान–प्रदान गर्न र नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्न यो महत्वपूर्ण अवसर हुनेछ,’ सचिवालयको ब्रिफिङ सुनेपछि शाक्यले भने, ‘यसपटक, कुनै सहरसँग औपचारिक सम्झौता हुने कुनै एजेन्डा छैन । काठमाडौं आउने पाहुना पर्यटकजस्तै हुन्, उनीहरूले काठमाडौंको सांस्कृतिक र ऐतिहासिक गरिमा सन्देशका रूपमा आफ्नो ठाउँमा लिएर जानेछन् ।’ 

अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेका अनुसार जात्रा अवलोकन गर्न आउने पाहुनालाई मुख्यतया, इन्द्रजात्राका मूर्त  र अमूर्त पक्षको अवलोकन तथा जानकारी गराइनेछ । त्यससँगै वसन्तपुरलगायत काठमाडौंका भित्री सहरी क्षेत्र, स्वयम्भू र बौद्ध, ललितपुरको पाटन, भक्तपुरको दरबार स्क्वायर, काठमाडौंको चन्द्रागिरिलगायत स्थानको अवलोकन गराइनेछ । अवलोकन टोली २६ भदौमा काठमाडौं आइपुग्नेछन् भने ३० भदौमा स्वदेश फर्किनेछन् । 

इन्द्रजात्रा २७ भदौमा
यस वर्षको इन्द्रजात्रा (कुमारी रथयात्रा) २७ भदौमा परेको छ । ३१ भदौमा नानिचा जात्रासँगै इन्द्रजात्रा समापन हुनेछ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यका अनुसार २४ भदौमा वसन्तपुरमा इन्द्रध्वज उत्थान गरेपछि इन्द्रजात्राका औपचारिक कार्यक्रम सुरु हुनेछन् । यहाँ गाडिने लिंगो (इन्द्रध्वज) लिन १५ भदौमा वनयात्रा सुरु हुनेछ ।

भक्तपुरको चित्तपोल गएर गुठियारहरूले १६ भदौदेखि लिंगो तानेर ल्याउने काम गर्नेछन् । यसलाई असन ल्याएर नगर प्रवेश गराउने तथा वसन्तपुर कालभैरवअगाडि लगेर राखिनेछ । त्यसपछि २४ भदौमा शुभ साइतमा लिंगो उठाइनेछ । व्यवस्थापन समितिका अध्यक्ष शाक्यका अनुसार मिति तय भइसकेको छ, तर पञ्चांग निर्णायक समितिबाट साइत आइसकेको छैन ।

२७ भदौमा कुमारी रथ यात्रा सुरु गरेर वसन्तपुरबाट तल्लो टोलमा रथ यात्रा गरिनेछ भने  २८ भदौमा माथिल्लो टोलमा रथ यात्रा हुनेछ । यस अवधिमा लाखे, आकाश भैरव, पुलुकिसी, देवीलगायत तान्त्रिक विद्यामा आधारित नाचहरू हुनेछन् भने दशअवतारलगायत पौराणिक कथामा आधारित प्रदर्शन हुनेछन् ।